2026 May 10/ 06:05: 12pm

मोतिराम तिमल्सिना
बनेपा

    जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले पछिल्लो समय ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । सवारी साधन चलाउँदा बढेको लार्पवाहीका कारण दुर्घटना हुने अवस्था रोक्न ट्राफिक प्रहरीले चालकहरुको सवारी अनुमति पत्र निलम्वन देखि २४ घण्टे पुर्जी जारी गरेको छ । 
    ‘चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म काभ्रेपलाञ्चोक जिल्लामा यातायातका साधन संचालन गर्ने चार जना चालकहरुको सवारी अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालय पठाईएको छ’–प्रहरी निरीक्षक सुनिल धाँजुले भने–‘मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ सय ४१ जनालाई २४ घण्टे पुर्जी जारी गरि कक्षा संचालन गरिएको छ ।’ सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले ४ सय ४१ वटा सार्वजनिक तथा निजी चालकहरुको लापसे चेकजाँच गर्दा ६१ जनामा पोजेटिभ देखिएको छ । अधिकांशलाई मुद्दा चलाईएको छ । लागु पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरुको संख्या थपिदै गएको छ । प्रहरीले नियमित चेकजाँच गर्ने हो भने हिरासत कक्षमा अटाउन नसक्ने अवस्था सिर्जना भएको एक प्रहरीले बताए । 
    यसले समुदायमा लागु औषधको सहज पहुँच, त्यसको दुरुपयोग बढिरहेको पुष्टि हुन गएको छ । प्रहरीको आक्रामक योजनामा स्थानीय सरकार र सरोकारवाला निकायले चासो दिएनन भने यो महामारीको रुपमा फैलन सक्ने विश्लेषण गरिएको छ । ट्राफिक प्रहरीले चालक र सवारी साधनको अवस्थाबारे गरेको अनुगमन पछि भने दुवै पक्षमा लापरवाही र कमजोरी रहेको निष्कर्ष निकालेको छ । यही अवस्थालाई सुधार गर्न थप सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार ट्राफिक प्रहरीले नियमित रूपमा सवारी साधनको यान्त्रिक परीक्षण तथा चालकहरूको स्वास्थ्य परीक्षण गर्दै आएको छ । हालसम्म गरिएको परीक्षणले चालक र सवारी दुवै पक्षमा सुधार आवश्यक रहेको देखाएको उनले बताए । उनका अनुसार ११ पटक सञ्चालन गरिएको यान्त्रिक परीक्षण अभियानमा ४ सय २ वटा सवारी साधन जाँच गरिएको थियो । तीमध्ये १४ वटा सवारी साधन प्राविधिक रूपमा ठीक अवस्थामा नरहेको पाइएको छ । ब्रेक, टायर, बत्ती, इन्डिकेटर, सस्पेन्सन लगायतका आधारभूत पक्षमा कमजोरी देखिएको प्रहरीले जनाएको छ ।
    त्यस्तै, ६ पटक सञ्चालन गरिएको चालक स्वास्थ्य परीक्षण कार्यक्रममा ३ सय १६ जना चालक सहभागी भएका थिए । परीक्षणमा अधिकांश चालकमा कुनै न कुनै स्वास्थ्य समस्या भेटिएको प्रहरी निरीक्षक धाँजुले जानकारी दिए । लामो समय सवारी चलाउने चालकमा रक्तचाप, आँखाको समस्या, थकान, मधुमेह तथा अन्य शारीरिक असहजता देखिएको जनाइएको छ । जेनजी आन्दोलनमा प्रहरी कार्यालय जलाए पछि उपकरण विहिन बनेको ट्राफिकलाई स्थानीय सरकार तथा विभिन्न संघ संस्था र ब्यक्तिगत रुपमा पनि सामाग्री उपलब्ध गराएका छन् । २४ लाख रुपैयाँ बराबरका सामाग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । यातायात ब्यवसायीहरुले ट्राफिक प्रहरीको गस्तिका लागि एक थान मोटरसाईकल पनि उपलब्ध गराएका थिए । ट्राफिक प्रहरीले निर्माणाधीन सडक, सिसिटिभी अभाव र बाढी पहिरोलाई प्रमुख चुनौती मानेको छ । त्यसको अलावा नो हेल्टमेट नो फ्युलको स्टिकर सबै पम्पमा राखेको छ । ट्राफिक शिक्षक कार्यक्रम, प्रहरी उत्प्रेरणा र सवारी दुर्घटना कार्ययोजना सहित ब्लाक स्पोट म्यापिङ गरिरहेको छ । 

सडकको अवस्था
    काभ्रेपलाञ्चोक जिल्लाको सिमाना भित्र अरनिको राजमार्ग ३८ किमी पर्छ । कुल सडक ९५ किमी छ । विपी राजमार्ग ५५ किमी पर्छ । यो कुल १ सय ५८ किलोमिटरको सडक हो । पक्की सडक काभ्रेपलाञ्चोक जिल्लामा ३३ सय ९ किमी छ । कच्ची सडक ५ हजार ४४ किमी छ । ग्राभेल गरिएका सडकको अवस्था १८ सय ८५ किमी छ । अरनिको सडकको बैकल्पिक सडकका रुपमा नाला सडक खण्ड, रविओपी पाँचखाल सडक खण्ड, पनौती कुशादेवी सडक खण्ड र कुन्तावेशी चाखोला सडक खण्ड रहेका छन् । विपी राजमार्गको विकल्पमा भकुण्डेवेशी तिमाल हुँदै मंगलटार सडक रहेको छ । 
    २०८१ असोज १०–१२ मा परेको अविरल वर्षातका कारण विपी राजमार्गको ५५ मध्ये काभ्रेपलाञ्चोक जिल्लामा मात्रै २६ किमी सडकमा अवरोध पुगेको छ । ८ किमी सडक पूर्ण रुपमा क्षति भएको छ । वर्षात्का कारण रोशी ११ कालढुंङ्गा, बुल्ढुङ्गा, डालाबेशी, रोशी १२ माम्ति, चौकी डाँडा, घुमाउने, रोशी ९ बोक्सेकुना, चारसयबेशी, गिम्तीबेशी र रोशीखोलामा अवरुद्ध हुने गरेको छ । 

सचेतनामा ट्राफिक प्रहरी 
    ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मातहतका अस्थायी युनिट र नेपाल प्रहरीसँगको सहकार्यमा जिल्लाभर विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । यात्रु र चालक लक्षित ‘चालकसँग ५ मिनेट’ कार्यक्रम यस वर्ष सबैभन्दा प्रभावकारी कार्यक्रमका रूपमा देखिएको छ । यो कार्यक्रम २ हजार ९ सय १५ पटक सञ्चालन गरिएको थियो । जसबाट २ लाख २२ हजार ३ सय ९६ जना यात्रु, चालक तथा सहचालक प्रत्यक्ष लाभान्वित भएका छन् । कार्यक्रममार्फत चालकलाई सुरक्षित यात्राका नियम, गति नियन्त्रण, मादक पदार्थ सेवन नगरी सवारी चलाउने, विश्राम लिएर मात्रै लामो दूरी यात्रा गर्ने लगायत विषयमा जानकारी दिइएको थियो । ट्राफिक प्रहरीले शैक्षिक क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । ११ पटक आयोजना गरिएको ट्राफिक शिक्षक कार्यक्रममा ५ सय ५८ जना शिक्षक सहभागी भएका थिए । शिक्षकमार्फत विद्यालयस्तरमै ट्राफिक शिक्षा प्रवाह गर्ने उद्देश्य राखिएको कार्यालयले जनाएको छ ।
    त्यस्तै, जिल्लाका ४४ पटक विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । ती कार्यक्रममा ३ हजार ३ सय ८८ जना विद्यार्थीलाई ट्राफिक नियम, सडक सुरक्षा, जेब्रा क्रसिङको प्रयोग, हेल्मेट र सिटबेल्टको महत्वबारे जानकारी गराइएको थियो । राजमार्ग क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन पनि ट्राफिक प्रहरीले संरचनात्मक कामहरू गरेको छ । अरनिको राजमार्ग र विपी राजमार्गमा ५८ वटा जानकारीमूलक बोर्ड राखिएको छ । बजार क्षेत्रमा अव्यवस्थित पार्किङ रोक्न ४० वटा नो पार्किङ बोर्ड तथा अनावश्यक हर्न नियन्त्रणका लागि २६ वटा नो हर्न बोर्ड स्थापना गरिएको छ । त्यस्तै, मातहतका विभिन्न स्थानमा ४० थान ट्राफिक कोण राखेर सवारी व्यवस्थापन तथा दुर्घटना रोकथाममा प्रयोग गरिएको छ । भीडभाड हुने स्थान, दुर्घटना सम्भावित मोड र निर्माणाधीन सडक क्षेत्रमा यस्ता सामग्री प्रयोग गरिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक धाँजुले सवारी धनी र चालक दुवैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । सवारी साधनको नियमित मर्मत, कागजात अद्यावधिक, चालकको स्वास्थ्य अवस्था, नियम पालन र यात्रुप्रतिको जिम्मेवारीमा ध्यान दिनुपर्ने उनले बताए । ‘सवारी राम्रो अवस्थामा नहुँदा र चालक पनि शारीरिक रूपमा सक्षम नहुँदा यात्रुहरूको ज्यान जोखिममा पर्छ’–उनले भने–‘दुवै पक्षको लापरवाहीले दुर्घटना निम्त्याउँछ, त्यसैले समयमै सचेत हुन आवश्यक छ ।’ 
    काभ्रे जिल्ला राजधानी प्रवेशद्वारका रूपमा चिनिने भएकाले यहाँ दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन् । विशेष गरी बनेपा, धुलिखेल, पाँचखाल हुँदै सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र पूर्वी जिल्लातर्फ जाने सवारी साधनको चाप उच्च रहने गर्छ । यस्तो अवस्थामा ट्राफिक सुरक्षा अझै महत्वपूर्ण बन्दै गएको छ । ट्राफिक प्रहरीको सक्रियता बढेसँगै जिल्लामा नियम उल्लंघन गर्ने चालक, बिग्रिएको सवारी साधन र असावधानीपूर्वक यात्रा गराउने प्रवृत्तिमा नियन्त्रण आउने अपेक्षा गरिएको छ । साथै, जनचेतना कार्यक्रमले यात्रु स्वयं पनि सचेत बन्दै गएको स्थानीयले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आगामी दिनमा पनि चालक स्वास्थ्य परीक्षण, सवारी यान्त्रिक जाँच, विद्यालय शिक्षा कार्यक्रम तथा राजमार्ग सुरक्षा अभियानलाई निरन्तरता दिने जनाएको छ । 

दुर्घटना र राजश्व
    चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ट्राफिक प्रहरीले ७७ सय ७९ वटा सवारी साधनलाई कारवाही गरेको छ । जसबाट ६९ लाख २३ हजार ५ सय १ रुपैया राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा १५ हजार ५७ वटा सवारी साधन कारवाहीमा परेका थिए । जसबाट १ करोड १९ लाख ५० हजार ५ सय रुपैया राजश्व संकलन भएको थियो । २०८०/०८१ मा ३६ हजार ३ सय ६५ वटा सवारी साधन कारवाहीमा परेका थिए । जसबाट २ करोड ५१ लाख ६२ हजार रुपैया राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७९÷०८० मा ५३ हजार १ सय ५२ वटा सवारी साधन कारवाहीमा परेका थिए । ५ करोड ४० लाख ८२ हजार राजश्व संकलन भएको थियो । 
    चालु वर्षको चैत्र मसान्तसम्म १६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । जसमध्ये एक बालक, ३ महिला र १२ पुरुष रहेका छन् । ६१ जना गम्भिर घाईते भए भने १ सय ८३ जना साधारण घाईते भएका थिए । १ सय २१ वटा सवारी साधन दुर्घटनामा परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा २५ जनाको निधन भएको थियो । २०८०/०८१ मा ३२ जना र २०७९/०८० मा ४३ जनाले ज्यान गुमाए । हरेक वर्ष दुर्घटनामा गम्भीर घाईते र साधारण घाईतेको संख्या थपिएको छ ।