2026 April 20/ 07:15: 07am

विकास तिमल्सिना
बनेपा 

     दर्ता अनुमति नलिई सञ्चालनमा रहेका शैक्षिक परामर्श (कन्सल्टेन्सी) संस्थाहरूमाथि जिल्ला स्तरीय अनुगमन समितिले कडा कारबाही थालेको छ । शुक्रबार गरिएको अनुगमनका क्रममा दुईवटा संस्थामा तालाबन्दी (शिल) गरिएको छ भने केही संस्थाका सञ्चालक अनुगमन सुरु हुनासाथ कार्यालय बन्द गरेर फरार भएका छन् ।
    शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उपसचिव सविता दंगालका अनुसार बनेपामा १३ वटा शैक्षिक परामर्श सेवा प्रदायक संस्थाहरूको निरीक्षण गरिएको थियो । तीमध्ये ६ वटा संस्था मात्रै नियमानुसार अनुमति लिएर सञ्चालनमा रहेको पाइयो । ‘अनुमति नलिई सञ्चालन भइरहेका दुई वटा संस्थामा तालाबन्दी गरिएको छ भने पाँचवटा संस्था अनुगमनका क्रममा बन्द अवस्थामा फेला परे’–उनले बताइन् । 
    तालाबन्दी गरिएका संस्थाहरूमा एसएसडब्लु निहोन ड्रिम सेन्टर र ग्रिन माउन्टेन एजुकेशन कन्सल्टेन्सी रहेका छन् । अनुगमन समितिका सदस्य अधिकृत सुनिता थापाका अनुसार एसएसडब्लुले अनुमतिको प्रक्रिया नै थाहा नभएको जनाउँदै अब प्रक्रिया अघि बढाउने जनाएको छ । यस्तै, ग्रिन माउन्टेन एजुकेशन बानेश्वरमा दर्ता भएर बनेपामा शाखा सञ्चालन गरेको देखिए पनि आवश्यक कागजात नदेखाएपछि तालाबन्दी गर्नुपरेको उनले जानकारी दिइन् । दुबै संस्थाहरुले प्रकृया पुरा गरेर अनुमति लिए पछि मात्रै संचालन गर्ने गरी शिल गरिएको हो । 
    अनुगमन सुरु भएपछि कार्यालय बन्द गरेर सम्पर्कविहीन भएका संस्थाहरूमा आईएल्टियस घर बनेपा, सुपर लाइफ एजुकेशनल कन्सल्टेन्सी, माभन कन्सल्टेन्सी, बायजु इन्टरनेशनल र शार्प एजुकेशन रहेका छन् । अनुगमन समितिका सदस्य सिता अर्यालका अनुसार शार्प एजुकेशनले त अनुगमन सुरु हुनेबित्तिकै आफ्नो कार्यालयको साइनबोर्डसमेत हटाएर लुकाएको पाइएको छ । यसैबीच, अनुगमनका क्रममा केही संस्थाहरूले भने अनुमति लिएर भाषा कक्षा सञ्चालन गरिरहेको पाइएको छ । हाचिको ल्याङ्गवेज एन्ड ट्रेनिङ सेन्टर प्रा.लि., बनेपा एसवाई कन्सल्टेन्सी, क्रिप्टन एजुकेशनल कन्सल्टेन्सी, सोरा इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट र बि एन्ड बि कन्सल्टेन्सी नियमानुसार सञ्चालनमा रहेको अनुगमन समितिले जनाएको छ । तर केही संस्थाहरूले अनुमति लिएको विषयभन्दा बाहिरका भाषा पढाउने गरी बोर्ड राखेको पनि फेला परेको संयोजक दंगालले उल्लेख गरिन् ।
    अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत सुनिता थापा, सामाजिक विकास कार्यालयका अधिकृत सिता अर्याल, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजाबाबु यादव, शिक्षा विकास तथा समन्वय इकाई धुलिखेलका शाखा अधिकृत पासाङ बल र जगबहादुर भण्डारी लगायतको सहभागिता रहेको थियो । अनुमति बिना सञ्चालन गरिएका संस्थाहरूविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने दंगालले स्पष्ट पारिन् । ‘अनुमति लिएर पनि मापदण्ड नपालना गर्ने संस्थामाथि पनि कारबाही गरिनेछ’–उनले भनिन् । साथै भाषा प्रशिक्षक, विद्यार्थी आम्दानीको कर दायरा तथा अन्य पक्षको पनि अनुगमन सुरु गरिएको जानकारी दिइएको छ । उनले अनुमति प्रक्रियामा रहेका संस्थाहरूलाई तत्काल अनुमति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिँदै अन्यथा कानुनी कारबाहीको सामना गर्न तयार रहन चेतावनीसमेत दिएकी छन् ।
    यसअघि २०८२ भदौमा गरिएको पहिलो अनुगमनका क्रममा जिल्लामा जम्मा १२ वटा मात्रै संस्था दर्ता भएर सञ्चालनमा रहेको पाइए पनि त्यतिबेला कुल संख्या ९० भन्दा बढी थियो । हाल अनुमति लिएका संस्थाहरूको संख्या करिब दुई दर्जन पुगेको छ भने केही संस्था बन्द भइसकेका छन् । अहिले बनेपा र पाँचखाल क्षेत्रमा ८० भन्दा कम कन्सल्टेन्सीहरू सञ्चालनमा रहेको जनाइएको छ ।    

बनेपा नगरपालिकामा संचालनमा रहेका कन्सल्टेन्सीहरु । दर्ता भएका र नभएका सबैको सूची :
१. मेन्ट्रस एजुकेशन कन्सल्टेन्सी
२. मेभन एजुकेशन एन्ड भिजा सर्भिस
३. नाइस इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सी
४. कृप्टन एजुकेशन कन्सल्टेन्सी
५. सोरा जापानीज ल्याङ्वेज कन्सल्टेन्सी
६. सक्सेस बिसिइसि अब्रोड स्टडि
७. डिज्नि सि एजुकेशन कन्सल्टेन्सी
८. रिच इट लर्निङ सेन्टर
९. हाचिको जापानीज ल्याङ्वेज एन्ड कल्चर सेन्टर
१०. एडुकेयर इन्टरनेशनल एजुकेशन सेन्टर
११. बनेपा अप्टिमस ग्लोबल
१२. फर्बिड एजुकेशन बनेपा
१३. माभिन कन्सल्टिङ ग्रुप
१४. जेबिसि एजुकेशनल कन्सल्टेन्सी
१५. ड्रीम्स एजुकेशन कन्सल्टेन्सी
१६. बनेपा एस वाइ कन्सल्ट्यान्ट
१७. सेन्साइ एजुकेशन कन्सल्टेन्सी
१८. सक्सेस एजुकेशन एन्ड जब सोलुसन
१९. अनटप एजुकेशन कन्सल्ट्यान्ट
२०. नेपाल मेडिया इन्स्टिच्युट
२१. यास एजुकेशन कन्सल्टेन्सी (भिजा     डिरेक्ट)
२२. ट्रायल मेकर्स बनेपा
२३. बि एन्ड बि ल्याङ्ग्वेज एन्ड कन्सल्टेन्सी
२४. ग्रीन माउन्टेन एजुकेशन कन्सल्टेन्सी
२५. यति एजुकेशनल कन्सल्टेन्सि
२६. क्वालिटी सर्कल एजुकेशन कन्सल्टेन्सी
२७. अस स्टडिज बनेपा
२८. बज्यु इन्टरनेशनल एकेडेमि
२९. डिएबि एजुकेशन नेटवर्क
३०. बनेपा हार्डफोर्ड एजुकेशन सेन्टर
३१. नेशनल मेडिया इन्स्टिच्युट
३२.मानसरोवर इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सि
३३. रिड एन्ड फ्लाई एजुकेशन कन्सल्टेन्सी
३४. डिस्कभरि पाथवे
३५. इडुएड्भाइस एजुकेशन
३६. केटिएम कन्सल्टिङ ग्रुप
३७. स्काइ वे एजुकेशनल कन्सल्टेन्सी
३८. अचिभर एजुकेशन पार्टनर्स
३९. गुडविल एजुकेशनल कन्सल्टेन्सी
४०. ग्रेस इन्टरनेशनल
४१. उन्मेइ एजुकेशन कन्सल्टेन्सी
४२. फुलमुन एजुकेशन कन्सल्टेन्सी
४३. गोल्डेन स्टेट एजुकेशन
४४. ग्लोबल हब एजुकेशनल नेटवर्क
४५. काभ्रे एजुकेशन कन्सल्टेन्सी
४६. माइलस्टोन एजुकेशन एन्ड भिजा सर्भिस
४७. शार्प एजुकेशन कन्सल्टेन्सी
४८. ब्राइट करिअर इन्स्टिच्युट
४९. भिजा वल्र्ड एजुकेशन
५०. एस ए आर एजुकेशनल नेटवर्क
५१. बृति एजुकेशनल कन्सल्टेन्सि
५२. क्याम्बृज एजुकेशन कन्सल्टेन्सी
५३. नेक्स्ट हब ग्लोबल एजुकेशन
५४. नोभेम्बर एजुकेशन कन्सल्टेन्सी
५५. नेक्स्ट रिच एजुकेशन
५६. सिल्भर एजुकेशन फाउन्डेशन
५७. उरिनारा कोरियन ल्याङ्वेज स्कुल
५८. अल्फा कोरियन ल्याङ्वेज
५९. सुपर लाइफ एजुकेशनल कन्सल्टेन्सी
६०. ह्युमन ट्रस्ट एकाडेमि
६१. आरिराङ कोरियन भाषा स्कुल
६२. बनेपा ग्लोबल स्टडी कन्सल्टेन्सी
६३. आइएल्टियस घर (गोदामचोक)
६४. पानेसिया एजुकेशन कन्सल्टेन्सि
६५. स्काइजेन ग्लोबल एजुकेसन बनेपा
६६. ग्लोबल टोक्यो बनेपा ल्याङ्वेज एन्ड स्किल एकेडेमि
६७. ब्राइट वे इन्टरनेशनल एजुकेशन
६८. मिसन वल्र्ड एजुकेशनल कन्सल्टेन्सि
६९. मिराइ गाकुसु जापानीज ल्याङ्वेज     सेन्टर
७०. काभ्रे कम्प्युटर ट्रेनिङ एन्ड ल्याङ्वेज इन्स्टिच्युट
७१. लर्नमोर एजुकेशनल कन्सल्टेन्सि

पाँचखाल
७२. रिच इट
७३. ड्रिम्स
७४. युनिवल्र्ड
७५. एस.एस. एजुकेशन
७६. एस.एम.एस
७७. नेम

भकुण्डे र पनौतीमा रहेका कन्सल्टेन्सीहरु भने भदौमा भएको अनुगमन पछि बन्द भएका छन् । त्यतिबेला भएको अनुगमन पछि जिल्लामा १२ वटा दर्ता भएका कन्सल्टेन्सीको संख्या करिब ४० नाघेको छ ।