2026 April 12/ 02:57: 17am

    बनेपा/२० औं एनएनआईपीए स्पोट्र्स अवार्ड २०८२ बनेपाको चण्डेश्वरी मन्दिरमा आयोजना गरिएको छ । पहिलो पटक उपत्यका बाहिर बनेपामा यो कार्यक्रम आयोजना गरिएको हो । बनेपा नगरपालिकाको सह आयोजना तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा उक्त अवार्ड वितरण गरिएको हो । 
    नेपाल ओलम्पिक कमिटीबाट मान्यता प्राप्त २६ वटा खेलका आधारमा सम्बन्धित संघले सिफारिस गरेका खेलाडीहरूलाई ‘वर्ष उत्कृष्ट खेलाडी–२०८१’ बाट सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो । जसअन्तर्गत २६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्टमध्ये एक पुरुष र एक महिला सर्वोत्कृष्ट खेलाडी, एक पुरुष र एक महिला प्रतिभाशाली खेलाडी, एक जना पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान, एक खेल पत्रकारलाई खेल पत्रकारिता पुरस्कार तथा एक जना उत्कृष्ट पारा खेलाडीलाई सम्मान गरिएको थियो । 
    पुरस्कार अन्तर्गत प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने सर्वोत्कृष्ट खेलाडीलाई जनही १ लाख रुपैयाँ प्रदान गरिएको थियो । प्रतिभाशाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ, गजराज आदर्श खेल व्यक्तित्व र खेल पत्रकारिता पुरस्कारका लागि ३५–३५ हजार रुपैयाँ तथा पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिएको थियो । 
    फुटबल, एथलेटिक्स, ह्यान्डबल, गल्फ, उसु, भारोत्तोलन, जुडो, ब्याडमिन्टन, आर्चरी, फेन्सिङ, पौडी, ट्राथोलन, कुस्ती, बास्केटबल, कबड्डी, कराते, भलिबल, तेक्वान्दो, जिम्नास्टिक, लन टेनिस, हक्की, टेबलटेनिस, बक्सिङ, स्की, क्यानोइङ र साइकलिङ गरी २६ खेल समावेश गरिएका छन् । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, विभिन्न खेल क्षेत्रका ब्यक्तिहरु, कलाकार तथा अन्य क्षेत्रका ब्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो । 
    स्थानिय आयोजक बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले अवार्डमा सहभागीहरुलाई धन्यवाद दिदै अवार्ड आयोजना गर्न अवसर दिएकोमा खेलाडी संघलाई धन्यवाद दिए । २० औं एनएनआइपिए स्पोट्र्स अवार्डका संयोजक दीपक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव राम चरित्र मेहत्ताको प्रमुख आतिथ्यता रहेको थियो ।