2026 April 12/ 04:52: 20am

    धुलिखेल/खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बनेपा, धुलिखेल र पनौती नगरपालिका भित्र रहेका होटल तथा रेष्टुरेन्टहरूको अनुगमन तथा मूल्याङ्कन गरी स्तरीकरण गर्नुका साथै लोगो वितरण गरेको छ ।
    डिभिजन प्रमुख मनिष चापागाईको नेतृत्वमा गठित संयुक्त अनुगमन टोलीले स्थलगत निरीक्षण गरेको थियो । टोलीमा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, होटल एसोसिएसन अफ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेल, काभ्रे उद्योग वाणिज्य संघका महासचिव रजित पलाञ्चोके, उपभोक्ता मञ्च काभ्रेका अध्यक्ष माधव श्रेष्ठ तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
अनुगमन टोलीले ‘खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४’ अनुसार अनुसूची – १ मा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरेको हो । डिभिजन प्रमुख चापागाईका अनुसार खाद्य स्वच्छता समूहले ५० वटा सूचकका आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्ने व्यवस्था रहेको छ ।
    प्रत्येक सूचकलाई २ अङ्कका दरले मूल्याङ्कन गरिने र प्राप्त अङ्कका आधारमा होटलहरूलाई विभिन्न श्रेणीमा वर्गीकरण गरिन्छ । ९० भन्दा माथि अङ्क प्राप्त गर्ने होटललाई अति उत्तम (३ तारे हरियो लोगो), ८०–८९ अङ्क प्राप्त गर्ने होटललाई उत्तम (२ तारे हरियो लोगो), ६५–७९ अङ्क प्राप्त गर्ने होटललाई सन्तोषजनक (१ तारे हरियो लोगो), ५०–६४ अङ्क प्राप्त गर्ने होटललाई सामान्य (पहेंलो लोगो) प्रदान गरिने व्यवस्था रहेको चापागाईले बताईन् । 
मूल्याङ्कनका क्रममा धुलिखेलका दुसित थानी, होटल सारथी, हिमालय होराइजन होटल, बनेपाको आगन्तुक रिसोर्ट, हिमालय दृश्य, तथा पनौती नगरपालिका–बल्थलीस्थित थुम्की रिसोर्टले अति उत्तम (३ तारे) हरियो लोगो प्राप्त गरेका छन् । त्यस्तै, पनौती स्थित बल्थलीका बल्थली माउन्टेन रिसोर्ट र बल्थली भिलेजले उत्तम (२ तारे) हरियो लोगो प्राप्त गरेका छन् ।
    यस अघि डिभिजन कार्यालयले फागुन १७ गते होटल तथा रेष्टुरेन्टका सञ्चालक तथा व्यवस्थापकलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा प्रमाणपत्र नवीकरण, सरसफाइ तथा ५० वटा सूचकसम्बन्धी मापदण्डबारे जानकारी गराइएको थियो । 
डिभिजन प्रमुख चापागाईका अनुसार जिल्लाभर रहेका होटल तथा रेष्टुरेन्टहरूको क्रमशः अनुगमन गरिनेछ । स्तरीकरण गरिएका होटल व्यवसायीलाई खाद्य स्वच्छतासम्बन्धी प्रतिबद्धता गराई प्रमाणपत्र प्रदान गरिएको छ ।
    साथै, ६ महिनाभित्र पुनः निरीक्षण गर्दा सुधार नभएको पाइए सम्बन्धित होटलको स्तरीकरण एक तह घटाइने पनि उनले जानकारी दिइन् ।