2026 April 21/ 09:16: 40am

    बनेपा/२०८२ भाद्र २३ र २४ गते भएको विध्वंसात्मक आन्दोलनमा भएको क्षति र त्यसका कारण पत्ता लगाउन गठित गौरीबहादुर कार्की आयोगले प्रस्तुत गरेका प्रतिवेदनका बुँदाहरु विवादित र झुटा तथा अपुरो देखिएको छ । क्षति नै नभएका ब्यक्तिहरुको घरमा क्षति भएको उल्लेख गर्दै भएका विषय सबै गौण बनाईएको छ । हुन त कार्की आयोग गठन देखि नै विवादित थियो । 
    काभ्रेपलाञ्चोक जिल्लाका हकमा प्रस्तुत गरिएको प्रतिवेदनमा तत्कालीन प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई उदृत गरिएको छ । प्रतिवेदनमा उल्लेख गरिएका केहि बुँदाहरु अस्पष्ट, अपुरो र झुटा छन् । प्रतिवेदनमा बनेपा नगरपालिकाका प्रमुख र उपप्रमुखको घर जलेको भनिएको छ । जनप्रतिनिधिको घर नभई नगरपालिका मात्रै जलेको हो । धुलिखेलका प्रमुख अशोक ब्याञ्जु, पनौतीका प्रमुख रामशरण भण्डारी र पुर्व प्रमुख भिम न्यौपाने लगायतको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । पनौतीमा उपप्रमुख गिता बञ्जारा, पूर्व सांसद शिवप्रसाद हुमागाईको घरमा तोडफोड र आगजनी गरिएको थियो । तोडफोड गरिएको, लुटपाट भएको र आगजनी गरिएका विषयमा प्रतिवेदन ब्याख्यात्मक छैन । 
    ईलाका प्रहरी कार्यालय बनेपामा आगजनी गर्नु अघि हतियार र गोली लुटपाट भएको थियो ।  केहि दिन भित्र प्रहरीले केहि ब्यक्तिलाई केहि थान हतियार र गोली सहित पक्राउ गरेको थियो । बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल सहित ३६ राउण्ड गोली समेत पक्राउ परेका थिए । २०८२ भाद्र २८ गते शनिबार पक्राउ परेका उनले इलाका प्रहरी कार्यालय बनेपाबाट हतियार लुटिएको बताएका थिए । बनेपा ९ बाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते ७३० राउण्ड गोली फेला परेको थियो । गोली २०८२ भदौं २४ गते ई.प्र.का.बनेपामा आगजानी गरी लिई गएको बयान दिएका थिए । बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्की पक्राउ परेका थिए । पछि धरौटीमा छुटेका भए पनि मुद्दा फैसला भएको छैन । आयोगले भने काभ्रेमा हतियार नै नलुटिएको भन्दै प्रतिवेदन तयार गरेको छ । 
    काभ्रे स्थायी घर भएका तर राजधानी लगायतका स्थानमा चार जनाले ज्यान गुमाएका थिए । तेमाल ७ का ४२ बर्षिय दिलनारायण तामाङ (मजदुरीबाट फर्कदै गर्दा), भुम्लु ४ का २७ बर्षिय सरोज खत्री (गंगा दाहालको घर भित्र जलेर), चौरीदेउरालीगाउँपालिका ६ घर भई हाल चितवन कालिका नगरपालिकामा अस्थायी बसोबास र काठमाडौ महानगरपालिका गौशाला ८ मा बस्ने १९ बर्षिया निकिता गौतम (घरको छतमा बसिरहेका बेला छातीमा गोली लागेर), रसिक खतिवडा, पनौती १० काभ्रे ( काठमाडौमा निधन) भएको थियो । नख्खु कारागारबाट रवि लामिछाने जेल तोडेर भागे पछि जिल्ला कारागार कार्यालय, काभ्रेमा कैदीहरुले आगजनी गरेका थिए तर भाग्न सकेनन् । बनेपा नगरपालिका पूर्ण क्षति भएको थियो । ईलाका प्रहरी कार्यालय, बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल,  प्रहरी चौकी हिगुवापाटी, कुन्ताबेशी पूर्ण क्षति भए । ति कार्यालयहरु जलाउन संलग्न पक्राउ परेको भए पनि धरौटीमा छुटेका छन् । प्रहरी चौकी, पनौती, काभ्रे आंशिक क्षति भएको छ । प्रहरी विटहरु बनेपा, धुलिखेल, पाँचखाल, पनौती, कुशादेवी लगायतका विभिन्न स्थानमा) क्षति भएका थिए भने पनौती नगरपालिका तोडफोड, आंशिक क्षति भएको थियो । नेकपा एमाले, बनेपा र नेपाली काँग्रेस, बनेपा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो ।  युलेन्स स्कुल, बनेपा ३ मा आगजनी गरिएको थियो ।