बनेपा/जिल्ला सहकारी संघ लिमिटेड काभ्रेको आयोजना, राष्ट्रिय सहकारी नियमन प्राधिकरण विज्ञ सदस्यको सहजिकरण र को–अपरेटिभ म्यानेर्जस क्लव काभ्रेको प्राविधिक सहयोगमा सहकारीको वर्तमान परिवेश, प्राधिकरणको निर्देशन, दर्ता तथा आगामी दिशानिर्देश सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विज्ञ सदस्य डा.रमेश चौलागाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अमन पोटेले सहकारी सम्वन्धी प्राप्त नयाँ नियम, दिशानिर्देश र दर्ताका सम्वन्धमा अनिवार्य रुपमा जानकारी लिन र त्यस पछिका परिस्थितिहरुको सामना गर्ने गरी अघि बढ्न सहकारीहरुलाई सुझाव दिए । संघकै अनुरोधमा दर्ता सम्वन्धीको अवधी फागुन ११ गतेसम्म रहेकाले तत्काल सहकारीहरुलाई त्यो अभियानमा जोडिन पनि अध्यक्ष पोटेले अनुरोध गरे ।
कार्यक्रममा राष्ट्रिय सहकारी नियमन प्राधिकरण विज्ञ सदस्य डा.रमेश चौलागाईले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूको दर्ता अभिलेखका लागि गरेको नयाँ व्यवस्था, प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ का बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष उदयराम कायश्थ, जिल्ला बहुउद्देश्यीय संघका अध्यक्ष कृष्णभक्त थापा, राष्ट्रिय सहकारी बैकका शाखा प्रमुख उपेन्द्र दाहाल, स्थिरिकरण कोषका सदस्य शान्तकुमार श्रेष्ठ,को–अपरेटिभ म्यानेजर्स क्लव काभ्रेका अध्यक्ष गोपाल दाहाल, धुलिखेल नगरपालिका सहकारी शाखाका प्रमुख सरिता सापकोटा, जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत गुरुप्रसाद ढकाल,को–अपरेटिभ म्यानेजर्स क्लव काभ्रेका पुर्व अध्यक्ष मदन बस्नेत, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, जिल्ला सहकारी संघका सचिव प्रकाश बञ्जारा लगायतले सहकारी सम्वन्धी दर्ताका सम्वन्धमा धारणा राखेका थिए ।
प्रशिक्षणमा जिल्लामा संचालित सहकारीका संचालक तथा ब्यवस्थापकहरुको सक्रिय सहभागिता रहेको थियो । काभ्रेमा १ हजार ४ सय ९५ सहकारी मध्ये जिल्ला सहकारी संघमा ५ सय ९५ दर्ता भएका थिए । त्यस मध्ये पनि नियमित सभा गर्ने र कर चुक्ता लिनेहरुको संख्या ३ सय ४९ मात्रै छ । अहिले जिल्लामा सहकारी नियमन प्राधिकरणको निर्देशन अनुसार न्यून सहकारी मात्रै दर्ता भएका छन् ।
के हो नयाँ मापदण्ड ?
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको मापदण्ड बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूका लागि हो । सहकारी संस्थाले सञ्चालन गरेको व्यावसायिक क्रियाकलापहरूमा पछिल्लो आर्थिक वर्षसम्ममा परिचालित बचतको दायित्व र पछिल्लो आर्थिक वर्षको सदस्यतर्फको खरिद वा बिक्री कारोबारमा कम्तीमा तीस प्रतिशतभन्दा बढी हिस्सा भएको कारोबारलाई मुख्य कारोबार भनिएको छ ।यो मापदण्ड प्राधिकरणले स्वीकृत गरी जारी गरेको मितिदेखि लागू समेत गरिसकेको छ ।
प्राधिकरणले जारी गरेको मापदण्ड अनुसार सहकारी संस्थाको दर्ता अभिलेखीकरण गर्नुपर्ने हुन्छ । संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाले प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।सहकारी संस्थाले प्राधिकरणको विद्युतीय प्रणालीमार्फत विवरण प्रविष्ट गर्नु पर्नेछ । अभिलेखीकरण हुने सहकारी संस्थाले दस्तुर तोकिएको बैंक खातामा जम्मा गरी सो को भौचरप्रति विद्युतीय प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ ।
दर्ता हुने सहकारी संस्थाले प्राधिकरणले दर्ता अभिलेखीकरणका लागि आह्वान गरेको मितिमा धेरै सहकारी दर्ता नभएकाले फागुन ११ गतेसम्मको समय थप गरेको छ । सहकारी संस्थाको सञ्चालन इजाजतपत्रका लागि दर्ता अभिलेखीकरण हुने सहकारी संस्थाले प्रविष्ट गरेको विवरण रुजु गरी प्रक्रिया पुरा भएका सहकारी संस्थालाई विद्युतीय प्रणाली मार्फत सञ्चालन इजाजतपत्र जारी गर्नेछ । तर, संघ, प्रदेश र स्थानीय सरकारले समस्याग्रस्त घोषणा गरी कारबाहीको प्रक्रियामा रहेका सहकारी संस्थालाई दर्ता अभिलेखीकरण प्रक्रियामा समावेश गरिने छैन ।सञ्चालन इजाजतपत्र प्राप्त नगरी बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।
नवीकरणका लागि प्राधिकरणबाट सञ्चालन इजाजतपत्र प्राप्त सहकारी संस्थाले प्रत्येक वर्षको श्रावण मसान्तभित्र प्राधिकरणले निर्धारण गरेको प्रक्रिया पूरा गरी इजाजतपत्र नवीकरण गर्नु पर्ने व्यवस्था गरिएको छ । प्राधिकरणले सहकारी संस्थाको दर्ता अभिलेखीकरण र इजाजतसँग सम्बन्धित आवश्यक थप विवरण माग गर्न समेत सक्नेछ ।सहकारी संस्थाको दर्ता अभिलेखीकरणका लागि आवशक्य पर्ने विवरण समेत मापदण्डमा राखिएको छ । जसमा आधारभूत, वित्तीय, स्वघोषणा लगायत अन्य विवरण आवश्यक पर्ने मापदण्डमा उल्लेख गरिएको छ ।
(क) आधारभूत विवरणः१.सहकारी संस्थाको नाम ( नेपाली र अंग्रेजीमा), ठेगाना, सम्पर्क नं., इमेल, कार्य प्रकृति, दर्ता मिति दर्ता भएको कार्यालय र ठेगाना, कार्यरत कर्मचारी संख्या । २. वेबसाइट र सफ्टवेयरको नाम । ३.शेयर सदस्य सङ्ख्या र कूल शेयर रकम । ४.कार्यान्वयनमा रहेको विनियम÷कार्यविधि÷नीतिको नाम तथा जारी मिति । ५. सञ्चालक समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला ÷राष्ट्रिय परिचयपत्र नं, पदावधि) शुरु मिति र अन्तिम मिति । ६.लेखा सुपरिवेक्षण समितिको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला÷राष्ट्रिय परिचयपत्र नं, पदावधि) शुरु मिति र अन्तिम मिति ।७.प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक वा व्यवस्थापक वा प्रबन्धकको विवरण (नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं, व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला÷राष्ट्रिय परिचयपत्र नं, शैक्षिक योग्यता र सम्बन्धित कामको अनुभव, पदमा कार्यरत अवधि)८.सञ्चालनमा रहेका इकाई÷सेवा केन्द्रको विवरण (ठेगाना, सम्पर्क नं.)९. कार्यक्षेत्र । १०.सहकारी संस्थाको दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर प्रमाणपत्र । ११. अद्यावधिक करचुक्ता प्रमाणपत्र । १२.रकमको आधारमा ठूला १०० शेयर सदस्यको विवरण (नाम, ठेगाना र शेयर रकम) ।१३.रकमको आधारमा ठूला १०० बचतकर्ता सदस्यको विवरण (नाम, ठेगाना र बचत रकम)१४.रकमको आधारमा ठूला १०० ऋणी सदस्यको विवरण (नाम, ठेगाना र ऋण रकम)
(ख) वित्तीय विवरणः गत दुई आर्थिक वर्षको लेखा परीक्षण भएको वित्तीय विवरण । १.शेयर पूँजी.। २. जगेडा तथा कोषहरू (जगेडा कोष, संरक्षित पूँजी फिर्ता कोष, सहकारी प्रवद्र्धन कोष, अन्य कोष) । ३. कुल जोखिम भारित सम्पत्ति तथा पूँजी कोषको विवरण (प्राथमिक पूँजी कोष÷अनुपात र कूल पूँजी कोष÷अनुपात)४.सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी । ५.कूल निक्षेप (साधारण, नियमित र आवधिक) र कूल ऋण प्रवाह (असल, कमसल, शंकास्पद, खराब) तथा कूल ऋण नोक्सानी व्यवस्था (वर्गीकरण अनुसार)६.ऋण पुनर्तालिकीकरण (रकम र सङ्ख्या) । ७.निष्क्रिय कर्जा रकम र अनुपात८. कूल सम्पत्ति र कूल दायित्व । ९. कूल सञ्चालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्च१०.खुद नाफा÷नोक्सान । ११. लेखापरीक्षकको नाम, ठेगाना, सम्पर्क नं र आइक्यान सदस्यता नं.
(ग) अन्य विवरण । १.पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति सङ्ख्या र उपस्थिति प्रतिशत । २.गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्या । ३.संघहरुसँगको आबद्धताको विवरण । ४. विवरण प्रविष्टि गर्नेको नाम, पद, सम्पर्क नं, मिति । ५.विवरण रुजु गर्नेको नाम, पद, सम्पर्क नं, मिति । ६.कार्यकारी प्रमुखको स्वघोषणाः माथि उल्लेखित विवरण ठीक साँचो हो । फरक परेमा कानुनबमोजिम सहुँला बुझाउँला ।
प्राधिकरणले सहकारी संस्था दर्ता अभिलेखीकरण÷सञ्चालन इजाजतपत्र दस्तुर तोकेको छ । प्राधिकरणमा दर्ता हुन एक हजारदेखि १५ हजारसम्मको शुल्क निर्धारण गरिएको छ ।कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्व २ करोडसम्मका सहकारीलाई एक हजार रुपैयाँ दस्तुर लाग्नेछ । यस्तै, २ देखि १० करोडसम्मका सहकारीलाई ३ हजार, १० भन्दा बढीदेखि २५ करोडसम्मका सहकारीलाई ५ हजार, २५ करोडदेखि ५० करोड सम्मका सहकारीलाई ७ हजार रुपैयाँ दर्ता दस्तुर लाग्नेछ ।गत आर्थिक वर्षको अडिटेड वित्तीय विवरण अनुसार कूल सम्पत्ति वा कूल पुँजी तथा दायित्व ५० करोडदेखि १ अर्बसम्म भएका सहकारीलाई १० हजार रुपैयाँ शुल्क लाग्नेछ । यसैगरि १ अर्बभन्दा बढीका सहकारीलाई १५ हजार शुल्क तोकिएको छ ।
प्राधिकरणले तोकेको दस्तुर राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखामा रहेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणको खातामा जम्मा गर्न सकिने प्राधिकरणले जनाएको छ ।संस्थाको नाम जेसुकै भएपनि उसको बचत तथा ऋणको हिस्सा ३० प्रतिशत भन्दा बढी दायित्व छ भने त्यो प्राधिकरणमा सूचीकृत हुनुपर्नेछ ।





