अशोक ब्याञ्जु
क्षेत्र नम्वर २, काभ्रे
नेकपा एमालेले काभ्रे क्षेत्र नम्वर २ मा उम्मेदवार बनाएका धुलिखेलका पूर्व नगर प्रमुख अशोक ब्याञ्जु एमाले काभ्रेका पूर्व अध्यक्ष थिए । ११ औं केन्द्रीय महाधिबेशनबाट पार्टीको केन्द्रिय सदस्य पदमा निर्वाचित ब्याञ्जु प्रदेश कमिटीमा कार्यरत थिए ।
जिल्लाको सदरमुकाम धुलिखेल नगरपालिकामा संघीय संरचना पछि लगातार दुईपटक नगर प्रमुख पदमा निर्वाचित अशोक ब्याञ्जु विक्रम सम्वत् २०२८ भदौ १ गते जन्मिएका हुन् । बुबा बच्चुनाथ ब्याञ्जु र आमा तुईमाया ब्याञ्जुको कोखबाट जन्मेका ब्याञ्जुका श्रीमती सहित एक छोरा, एक छोरी छन् । ब्याञ्जु सानै देखि राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय थिए । ब्याञ्जु २ वर्षको हुँदा बुबा बच्चुनाथ ब्याञ्जुको निधन भएको थियो । हजुरबुबा सहित आमाको रेखदेखमा हुर्केका ब्याञ्जु त्यहि बेला देखि टुहुरो भएका थिए । १३ वर्षको उमेरमा उनका हजुरबुबाको पनि निधन भयो । २५ वर्षको नहुँदै आमाको पनि निधन भयो । ब्याञ्जु २०८० जेठ २८ गतेसम्म एमाले काभ्रेको जिल्ला अध्यक्ष थिए । जिल्ला कमिटीका सबै पदमा उनले जिम्मेवारी प्राप्त गरिसकेका छन् । जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, उप–सचिव, सचिव, उपाध्यक्ष हुँदै अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र, अर्थशास्त्र र साहित्यमा स्नातक गरेका ब्याञ्जुको राजनीतिक जीवनको शुरुवात वि.स.२०४३ सालमा भएको थियो । २०५४ सालमा धुलिखेल नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएका ब्याञ्जु उपप्रमुखहरु मध्ये देशभरका कान्छा जनप्रतिनिधि थिए । २०५४ सालमा उपप्रमुख भए पछि नेपाल नगरपालिका संघमा उनी निरन्तर २०७४ सम्म २० वर्ष उपाध्यक्षका रुपमा कार्यरत रहे । नेपालमा जनप्रतिनिधि विहिन संस्थाहरु विघटन हुँदा पनि नेपाल नगरपालिका संघ सक्रिय थियो । सोहि संस्थाले देशभरका स्थानीय निकायका बारेमा धारणा बनाउने कार्य गर्दै आएको थियो । संघीय संरचना पनि उनी धुलिखेलमा २०७४ मा नगर प्रमुखमा विजयी भए । लगत्तै ब्याञ्जु नेपाल नगरपालिका संघको अध्यक्ष भए । उपाध्यक्ष र अध्यक्ष हुँदा उनले नेपाल नगरपालिका संघ मार्फत धुलिखेल, काभ्रे र नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयत्न गरिरहे ।
सन् २०२१ देखि ब्याञ्जुले एशिया प्यासिफिकका स्थानीय सरकारहरूको सञ्जाल युसिएलजी स्पाक (ग्ऋीन्(ब्क्एब्ऋ)को अध्यक्षको रूपमा जिम्मेवारी पूरा गरे । ब्याञ्जुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसंँगको सम्बन्धलाई फलदायी बनाउने तथा नगरपालिकाको विकास कार्यमा अन्तर्राष्ट्रिय दाताहरुलाई संलग्न गराउने कार्यमा प्रभावकारी भूमिका निर्वाह गरे । २०४६ सालको जन–आन्दोलनमा सक्रिय सहभागी भएका ब्याञ्जु नेपालका परिवर्तित राजनीतिक घटनाहरुमा सक्रिय रहे । २०६२÷०६३ को जन–आन्दोलनमा उनले जिल्लामा नेतृत्वदायी भूमिका खेलेका थिए । स्थानीय सुशासन, विकास पत्रकारिता, साहित्य तथा विभिन्न क्षेत्रमा समेत सक्रिय रहेका ब्याञ्जुको नेतृत्वमा काभ्रेपलाञ्चोक जिल्लाबाट करिब तीन दशक देखि छापा माध्यम र डेढ दशक देखि विद्युतीय संचारमाध्यम एफएम प्रसारण भएका थिए । नगर प्रमुख भए लगत्तै जिम्मेवारीबाट उहाँ विदा भए पनि उहाँले संचालन गरिरहेका दुबै संचार माध्यम जिल्लाको मात्रै नभई राष्ट्रक नमुना र उदारणीय छन् ।
काठमाडौ विश्वविद्यालय लगायत थुप्रै संघ संस्थामा सल्लाहकार रहेर सक्रिय भूमिका खेलेका ब्याञ्जुकै नेतृत्वमा धुलिखेलमा धुलिखेल क्याम्पस स्थापना भएको छ । जुन क्याम्पसले नगरपालिकाको सहयोगमा नागरिकहरुलाई निःशुल्क शिक्षा प्रदान गरिरहेको छ । नेपालकै नमुना सामुदायिक अस्पताल धुलिखेलको समेत संरक्षक रहेर कार्य गरिसकेका ब्याञ्जु टुरिजम प्रमोसन अर्गनाईजेसन एसिया प्यासिफिक (कोरिया) को सचिवालय सदस्य हुन् । स्थानीय सरकार तथा सह्स्राब्दी विकास लक्ष्य कार्यान्वनका लागि गठित समितिका सदस्य पनि छन् ।
राजनीतिको अलावा ब्याञ्जुको साहित्यिक क्षेत्रमा समेत रुची छ । इन्डोनेसिया, चीन, जापान, दक्षिण अफ्रिका, दक्षिण कोरिया, फ्रान्स, बंगलादेश, बेल्जियम, भारत र संयुक्त राज्य अमेरिका, कोरिया लगायतका विभिन्न देशहरूमा विभिन्न कार्यक्रम तथा तालिमहरूको प्रतिनिधित्व समेत गरिसकेका ब्याञ्जुले मूलतः जलवायु परिवर्तन, पर्यटन प्रबद्र्धन, बजेट तर्जुमा, प्रभावकारी नीति तथा कार्यक्रम तर्जुमा, फोहोरमैला व्यवस्थापन, शहरी योजना, खानेपानी, दिगो विकासका लागि घोषित लक्ष्यका कार्यक्रमहरु, स्थानीय सरकारका अधिकार तथा तीन तहका सरकार संचालनका लागि गठित समन्वय समिति लगायतका क्षेत्रमा सक्रिय भएर कार्य गरिसकेका छन् ।
ब्याञ्जु धुलिखेल नगरपालिकाको प्रमुख भए लगत्तै थुप्रै कार्यहरु भएका छन् । अन्र्तराष्ट्रिय स्तरमा धुलिखेललाई चिनाउन प्रमुख चारवटा कार्य भएका छन् । धुलिखेल नगरलाई शुन्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहर मध्ये पाँचौं नम्बर र एसियाको पहिलो सहर बनेको घोषणा गरिएको छ । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलोपटक जिवाश्म इन्धन अप्रसार सन्धि अभियानलाई कार्यान्वयनमा ल्याएको थियो । धुलिखेल नगरपालिकाले शहस्राब्दी दिगो विकास लक्ष्यका चार लक्ष्य पूरा गरेको छ । दिगो विकासका १७ मध्ये शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी गरी चार लक्ष्य पूरा गरेको छ । दिगो विकास लक्ष्यका चार सूचक पूरा गरेको ‘स्वेच्छिक समीक्षा प्रतिवेदन’ सार्वजनिक गर्नेमा दक्षिण एसियामै धुलिखेल पहिलो नगर भएको छ । धुलिखेल स्वस्थ शहर घोषणा गरी दक्षिण एशियामा दोश्रो र नेपालमा पहिलो शहर बनेको छ ।
निर्वाचित जनप्रतिनिधि आएपछि नगरको गरिबीको अवस्था १४ बाट छ प्रतिशतमा ओर्लिएको छ । ९४ प्रतिशत स्थानीय नागरिकको घरमा खानेपानी (एक घर, एक धारा) पुगेको छ । गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने स्थानीयका लागि निःशुल्क शिक्षाको व्यवस्था गरेको छ । साथै काभ्रेपलाञ्चोक जिल्लाका अन्य स्थानीय तह तथा अन्य जिल्लाबाट आउने विद्यार्थीका लागि ५० प्रतिशत निःशुल्क गरेको छ । युनिसेफको सहयोगमा गरिबी निवारण, स्वस्थ सहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समीक्षा पश्चात प्रतिवेदन सार्वजनिक भएको थियो । प्रतिवेदन राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष विश्व पौडेलले सार्वजनिक गरेका थिए । दिगो विकासका चार लक्ष्य शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानीको लक्ष्य पूरा गरी उक्त प्रतिवेदन सार्वजनिक गरिएको हो । नेपालमा यस्तो प्रतिवेदन सार्वजनिक गर्ने धुलिखेल पहिलो शहर हो ।
शिक्षामा गुणस्तरीयता कायम गर्न नगरले सामुदायिक विद्यालयम ‘एमजीएमल’ विधि, अंग्रेजी माध्यम तथा शिक्षकलाई प्रविधियुक्त तालिम, भौतिक पूर्वाधारको निर्माणलगायतका कार्य गरेको छ । दिगो विकास लक्ष्य एउटा साहसिक र विश्वव्यापी सम्झौता हो । जसले सन २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिका लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गर्दछ । दिगो विकासका १७ लक्ष्य तथा १६९ सहायक लक्ष्य दिगो विकासका लागि एजेन्डा २०३० को एउटा भाग हो, जुन संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्र सम्मिलित सेप्टेम्बेर २०१५ को ऐतिहासिक राष्ट्रसंघीय साधारणसभाको शिखर सम्मेलनले पारित गरेर जनवरी १, २०१६ देखि लागू गरेको थियो । विश्वभरका राष्ट्रिय सरकार तथा लाखौं नागरिकलाई एउटै थलोमा ल्याई यी महत्वाकांक्षी कार्यसूचीमा व्यापक छलफल र परामर्श गरी यी दिगो विकास लक्ष्य तय गरिएका हुन । नगरक्षेत्रभित्र कोईला प्रयोग गर्न प्रतिबन्ध लगाएको विषयले पाँच महिनाअघि बेलायतको संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२६० मा समेत चर्चा कमाएको पर्यटकीय उक्त नगरले स्वस्थ सहरका लागि संघीय स्वास्थ्य सेवा विभाग, प्रदेश मन्त्रालय र स्थानीय जनप्रतिनिधिबीच प्रतिबद्धतासमेत जनाएको छ ।
स्थानीय दलका प्रतिनिधिबीच अपनत्व बढाउने, स्वस्थ वातावरण, नसर्ने रोग पोषण तथा स्वास्थ्य प्रवद्र्धनका कार्यक्रममा जोड दिने, नगरका सम्पूर्ण शिक्षकलाई विशेष स्वास्थ्य तालिम तथा जनचेतनाका कार्यक्रम अभिवृद्धि गर्ने, समुदायका सूचना एकीकृत गरी स्वास्थ्य सूचनाकेन्द्र सक्रिय बनाउने, स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग समन्वय गर्ने र स्वास्थ्यकर्मी क्षमता अभिवृद्धिका लागि विशेष तालिम प्रदान गर्ने उक्त प्रतिवद्धता पत्रमा उल्लेख छ । खनिज तत्व उत्खनन् नगर्ने, वातावरणमैत्री विकास गर्ने र स्थानीय सबैका घरमा प्रयोग फोहर पानी प्रशोधन गरी पुनःप्रयोग गर्ने योजना बनाएर काम शुरु भएको छ । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरका रुपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको छ ।
सेवाग्राही नागरिकले धुलिखेल नगरपालिकामा भूमि संरचना, ब्यवसाय, बहाल, सवारी साधन आदी आफै प्रविष्ट गर्न मिल्ने तथा आफुले तिर्न बुझाउन पर्ने कर कनेक्ट आईपिएस, क्युआर कोड, मोवाईल वालेट लगायतका अनलाईन माध्यमबाट बुझाउन मिल्ने गरी प्रविधि मैत्री सेवा शुरु गरेको छ । नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि संचालित स्थानीय संचित कोष व्यवस्थापन प्रणाली एवं राजश्व संकलन मोडल धुलिखेल नगरपालिकामा शुरु गरेको छ । नेपालका ७ सय ५३ वटा पालिकाहरु मध्ये पहिलो पटक धुलिखेलमा उक्त सेवा शुरु भएको हो । आर्थिक वर्ष २०७९÷०८० देखि धुलिखेलबाट नै शुरु भएको स्थानीय तह संचित कोष ब्यवस्थापन प्रणाली (सुत्र) अन्र्तगतको मोडल अहिले नेपालका ५ सय ३३ स्थानीय तहमा संचालित छ । करदाताले सहज रुपमा राजश्व तिर्न÷बुझाउन एवं विवरण भर्न मिल्ने गरी उक्त मोडलसँग आबद्ध भएको स्थानीय तह राजश्व पोर्टल समेत महालेखा नियन्त्रकको कार्यालयबाट विकास भई परीक्षण सम्पन्न भएको छ ।
राजश्व पोर्टलको युजर बनाई सकेपछि करदाताले आफ्नो ब्यक्तिगत तथा लगती करको विवरण जस्तै भूमि संरचना, ब्यवसाय, बहाल, सवारी साधन आदी आफै प्रविष्ट गर्न मिल्ने तथा आफुले तिर्न बुझाउन पर्ने कर कनेक्ट आईपिएस, क्यु आर कोड, मोबाईल वालेट लगायतका अनलाईन माध्यमबाट बुझाउन मिल्नेछ । धुलिखेल नगरपालिकाले चेक लेस गर्दै नागरिकहरुलाई करमा सहभागी हुन समेत कार्यालय आउनु नपर्ने गरी ब्यस्थापन गरेको छ । विकास निर्माण र अनुभवका आधारमा पायोनियर रहेका ब्याञ्जुलाई २०८२ फागुन २१ गते हुने निर्वाचनका लागि नेकपा एमालेले प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।





