४२ मध्ये एक अन्य, ३ महिला र ११ जना स्वतन्त्र छन् । २५ जना जनजाती तर्फका उम्मेदवार छन् भने दलित तर्फका उम्मेदवार छैनन् । भोलि माघ ९ गते दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता सकिए पछि अन्तिम नामावली प्रकाशन हुनेछ ।
धुलिखेल/फागुन २१ गतेको निर्वाचनमा ४२ उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन क्षेत्र नम्वर १ मा १५ दल र ३ स्वतन्त्र ३ गरी १८ जना प्रतिस्पर्धामा छन् भने निर्वाचन क्षेत्र नम्वर २ मा १६ दल, ८ स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये क्षेत्र नम्वर २ मा दुईवटा दल र एक जना स्वतन्त्र गरी ३ जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।
हिजो बुधबार आयोगमा उम्मेदवार विरुद्ध उजुरी दिने तालिका थियो । जिल्लाका कुनै उम्मेदवारका विरुद्ध उजुरी दर्ता भएन । उजुरीका बारेमा आज विहिबार माघ ८ गते उजुरीका बारेमा छानविन हुनेछ । अन्तिम नामावली प्रकाशन आज नै साँझ ५ बजे देखि ७ बजेसम्म हुनेछ । उम्मेदवारी फिर्ता लिने समय भोलि माघ ९ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि तय गरिएको छ । सोहि दिन ३ बजे भित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन सहित चुनाव चिन्ह प्रदान हुनेछ ।
क्षेत्र नम्बर १ मा अन्य समुहबाट एक जना प्रतिस्पर्धामा छन् । काभ्रेपलाञ्चोक जिल्लाबाट २ जना अन्य मतदाता सूचीमा छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीका अनुसार स्वतन्त्र उम्मेदवार ११ जना छन् । यो पटक पनि दलित उम्मेदवार प्रतिस्पर्धामा छैनन । जनजाती तर्फबाट २५ जना उम्मेदवार छन् । निर्वाचन क्षेत्र नम्वर १ मा नेकपा एमालेबाट अमित लामा, नेपाली काँग्रेसबाट गुणराज मोक्तान, नेपाली कम्युनिष्ट पार्टीबाट दिनानाथ गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मधुकुमार चौलागाईले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवराज सत्याल, उज्यालो नेपाल पार्टीबाट योगेन्द्र लामा, नेमकिपाबाट राजु तामाङ, नेशनल रिपब्लिक नेपालका तर्फबाट भरत तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै मंगोलनेशनल अर्गनाईजेशनका तर्फबाट कमलबहादुर लामा, समाबेसी समाजबादी पार्टीबाट विनोद लामा (अन्य) ले उम्मेदवारी दर्ता गराएका छन् । जसपा जनता समाजवादी पार्टी नेपालबाट मानबहादुर तामाङ, श्रम संस्कृति पार्टीबाट धिराज लामा, नेकपा माओवादी विप्लव समुहबाट कान्छा तामाङको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट ज्ञानेन्द्रकुमार श्रेष्ठ, संयुक्त नागरिक पार्टीबाट रत्न लामाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राजेश श्रेष्ठ, युवराज चौलागई, जीवन लामाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेबाट अशोक ब्याञ्जु, नेपाली काँग्रेसबाट मुध आचार्य, नेपाली कम्युनिष्ट पार्टीबाट बसुन्धरा हुमागाई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारीले उम्मेदवारी दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रञ्जिव श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट ज्योत्सना सैंजु, नेमकिपाबाट मुना तामाङ, नेपाल कम्युनिष्ट पार्टी संयुक्तबाट राजन थापा, नेशनल रिपब्लिक नेपालका तर्फबाट सुकमान तामाङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाबाट सूर्वणविक्रम थापा, मितेरी पार्टी नेपालबाट हरिबहादुर थापा, मंगोल नेशनल अर्गनाईजेशनका तर्फबाट उमेश तामाङले उम्मेदवारी दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट रकम लामा तामाङ, श्रम संस्कृति पार्टीबाट टंकबहादुर लामाको उम्मेदवारी दर्ता भएको छ । प्रगतिशिल लोकतान्तित्रक पार्टीबाट रमेशबहादुर घर्ति क्षेत्री, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट कान्छाराम घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै आशा तामाङ, उमेश थापा, केशवराज तिमल्सिना, गणेशप्रसाद अधिकारी, डिल्लीप्रसाद न्यौपाने, लेनिन विष्ट, विष्णुकुमार श्रेष्ठ, सीताराम मैनालीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा टिकाभुषण घिमिरे निर्वाचन अधिकृत छन् । सहायक निर्वाचन अधिकृत श्रीकुञ्ज श्रीवास्तावका अनुसार मनोनयन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा १ मा १७ जना उम्मेदवार थिए । प्रतिनिधि सभा क्षेत्र नम्वर २ तथा मुख्य निर्वाचन अधिकृत प्रेमप्रसाद न्यौपाने छन् । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधि सभा २ मा १६ जना उम्मेदवार थिए । कुल ३३ उम्मेदवार प्रतिस्पर्धामा थिए । यो पटक थप ९ उम्मेदवार र केहि नयाँ दल प्रतिस्पर्धामा छन् ।
काँग्रेसबाट दुई बागी
३६ वर्ष देखि निरन्तर राजनीतिमा सक्रिय पनौतीका राजेशकुमार श्रेष्ठले नेपाली काँग्रेसले वितरण गरेको टिकटमा असहमति राख्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी नेविसंघबाट राजनीतिमा प्रवेश गरेका थिए । निरन्तर पार्टी राजनीतिमा सक्रिय श्रेष्ठ खेलकूद विकास समिति तथा विभिन्न सामाजिक संघ संस्थामा समेत कृयाशिल थिए । क्षेत्र नम्वर १ मा माओवादी सशस्त्र द्वन्द्वमा गोली लागि घाईते भएका जिउँदा शहिद तीर्थ पसखलःको प्रस्ताव र पनौतीका समाजसेवी पूर्व नेकपा माओवादीका नेता समेत रहेका सुदर्शन सुवेदीको समर्थनमा श्रेष्ठ उम्मेदवार बनेका हुन् । नेपाली काँग्रेसले गुणराज मोक्तानलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ ६० वर्षका भए ।
त्यस्तै पाँचखाल वडा नम्वर १० का गणेश अधिकारीले राजनीतिक दलहरुप्रति बढेको वितृष्णा र नेपाली काँग्रेसले गरेको निर्णयका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी नेपाली काँग्रेसमा सक्रिय थिए । उनी ३६ वर्षका भए । क्षेत्र नम्वर २ मा नेपाली काँग्रेसले मधु आचार्यलाई उम्मेदवार बनाएको छ ।









