पनौती/पनौती नगरपालिकाको अठारौं नगर सभा बजेट तथा कार्यक्रम सम्बन्धी संशोधन प्रस्ताव, प्रगति विवरण अनुमोदन सहित विभिन्न विधेयक पारित गर्दै सम्पन्न भएको छ ।
नगर सभामा नगर प्रमुख रामशरण भण्डारीले नगर सभा सदस्यहरुले उठाएका विषयलाई सम्बोधन गरेका छन् । बाढीपहिरोबाट क्षति भएका संरचना पुनर्निर्माणका लागि धेरै रकम खर्चनु परेकाले सोचे अनुसार विकास निर्माणका काम गर्न नसकिएको उनले बताए । स्वास्थ्य, शिक्षा, रोजगारी, उद्यमशीलतालाई प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिएको उनले बताएका छन् । उपप्रमुख गिता बञ्जाराले चालु आर्थिक वर्षको लागि स्विकृत बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव पेश गरेकी छन् । बाढीपहिरोबाट क्षति भएका संरचना निर्माण, अति आवश्यक योजना समयमै निर्माण सम्पन्न गर्नका लागि बजेट संशोधन गर्नुपरेको उनले बताइन् ।
नगर सभामा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति विवरण अनुमोदन सम्बन्धी प्रस्ताव वडा नम्बर ३ का वडा अध्यक्ष विष्णुप्रसाद सापकोटाले पेश गरेका थिए । चालु आर्थिक वर्षको आम्दानी खर्च अनुमोदन सम्बन्धी प्रस्ताव वडा नं. ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाँई, वडा नं. ११ का वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षक दरबन्दी थप सम्बन्धी प्रस्ताव, वडा नं. १२ का वडा अध्यक्ष जयराम केसीले आर्थक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधयेक, वडा नं. ७ का वडा अध्यक्ष सविन ताम्राकारले विज्ञापन विधयेक, वडा नं. ४ का वडा अध्यक्ष दिपकप्रसाद दाहालले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन विधयेक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन् ।
सत्रौं नगरसभा पश्चात हालसम्म पनौती नगर कार्यपालिकामा भएका निर्णयहरु अनुमोदन सम्बन्धी प्रस्ताव वडा नं. २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले राखेका थिए भने धन्यवाद प्रस्ताव वडा नम्बर १० का वडा अध्यक्ष मोहन बहादुर भण्डारीले राखेका थिए । नगर सभा सदस्यहरुले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए । आर्थिक वर्ष २०८२ मा नगरभित्र ५ सय २३ वटा योजना तय भएकोमा हालसम्म ३ सय १८ वटा सम्झौता भएका छन् । जसमध्ये ठेक्काबाट २ सय ३४, उपभोक्ता समितिबाट ८४ वटा योजना निर्माण कार्य भइरहेको छ । ४८ वटा योजना भने सम्पन्न भइसकेका छन् ।
सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि आवश्यक दरबन्दी मिलान गरी नपुग भएका दरबन्दी मध्ये तत्काल अति आवश्यक भई पुरा गर्नका लागि नगरपालिकाको आन्तरिक आयबाट व्यवस्थापन गर्नेगरी बालविकास सहयोगी एक र उच्च मावि तह शिक्षक दरबन्दी द्धितिय श्रेणी सरह एक जना थप गर्ने प्रस्ताव पेश भएको छ । वैदेशिक रोजगारीका लागि जाने १९ जनाको पुनःश्रम स्वीकृति गरिएको छ । कृषि क्षेत्रको प्रवद्र्धनको लागि आकस्मिक रोग नियन्त्रण कार्यक्रम, माटो सुधार, बाली उपचार शिविर, कृषि यान्त्रीकरण प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेश अनुदानका कार्यक्रम अन्तर्गत उत्पादनमा आधारित दुधमा प्रोत्साहन स्वरुप १ करोड २५ लाख रकम किसानलाई वितरण गरिएको छ ।
चालु आर्थिक अवधिसम्म ९५ वटा भैंसी सुत्ेकरी भएकाले सम्बन्धित कृषकहरुलाई भत्ता वितरण गरिएको छ । २२ हजार २ सय १७ सेवाग्राहीलाई विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । यस्तै भृकुटी जन्मघर निर्माण प्रकृया समेत सुरु भएको छ । ढल व्यवस्थापनको लागि डिपिआरको तयारी भइरहेको जनाएको छ ।





