2026 July 30/ 04:38: 39pm

    धुलिखेल/धुलिखेल सामुदायिक अस्पताल ३० औ वर्षमा प्रवेश गरेको छ । अस्पताल स्थापना दिवसको अवसरमा अस्पतालले विभागिय समिक्षा सहित अस्पताल स्थापना देखि हालसम्मका महत्वपूर्ण स्मरण, योजना तथा आगामी लक्ष्यका बारेमा समिक्षा गरेको छ । 
    अस्पतालका संस्थापक प्रा.डा.रामकण्ठ माकजुले अस्पताल स्थापनाको सोच, सपना र लक्ष्यका बारेमा स्मरण गराउँदै अस्पतालले प्राप्त गरेको सफलतामा सिङ्गो अस्पताल परिवार हकदार रहेको बताए । ‘फलामको मान्छे सुनको टुक्रा बनेको छ । सुनको टुक्रा हिरा बनेको छ । जो अँध्यारोमा पनि चम्किरहन्छ’–डा.रामकण्ठ माकजुले भने–‘सन् २०२६ धुलिखेल अस्पतालका लागि नयाँ योजना सहितको फड्को मार्ने वर्षका रुपमा रहनेछ ।’ राम्रो कार्यका लागि रिक्स अनिवार्य रहेको बताउँदै प्रा.डा.रामकण्ठ माकजुले आफु मात्रै राम्रो भएर नबस्ने बताउनु भयो । ‘हामीलाई हेर्न, हामीबाट सिक्न देश र विदेशबाट थुप्रै संस्थाहरु आउनु भएको छ’–उनले भने–‘हामी सबैलाई राम्रो बनाउने अभियानमा सहकार्य गर्न तयार छौं । गुणस्तरीय स्वास्थ्य सेवाका लागि अनवरत र निरन्तर सक्रिय हुने बताउँदै डा.माकजुले यो सधै रहिरहने र भईरहने विषयमा पर्ने बताए । 
    सीप र ज्ञान हरेक पुस्तालाई हस्तान्तरण गर्दै जाने बताउँदै उनले संस्थाले के गर्न सक्छ वा संस्थाले मलाई के दिन्छ भन्ने सोचबाट नभई संस्थालाई के दिन सक्छु भन्ने भावबाट अघि बढन अनुरोध गर्दै प्रा.डा.रामकण्ठ माकजुले धुलिखेल भनेको अस्पताल र अस्पताल भनेकै धुलिखेल हो भन्ने सन्देश दिन सफल भएको बताए । धुलिखेल नगरपालिकालाई स्वस्थ शहर घोषणा गर्ने अभियानमा काठमाडौ विश्वविद्यालयसँगको सहकार्यको शिक्षण कृयाकलाप थप महत्वपूर्ण रहेको उनले बताए । स्वास्थ्य सेवालाई शिक्षासँग समन्वय गर्दै दुई संस्थाको सहकार्यले थप सहजता महसुस गराएको प्रा.डा.माकजुले बताए । 
    कार्यक्रममा अस्पतालका प्रशासकीय निर्देशक डा.विराज कर्माचार्यले संस्थाले हरेक समय गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने योजना सहित गतिविधिहरु सक्रिय बनाएको बताए । हुने खानेहरुका लागि मात्रै नभई हुँदा खानेहरुको अस्पतालका रुपमा सेवालाई प्रभावकारी बनाउन सक्रिय रहेको बताए । अस्पतालका हाड जोर्नी विशेषज्ञ डा.दिपक श्रेष्ठल डा.रामकण्ठले अस्पताल शुरुवाती गर्ने समय देखि हालसम्म भएका गतिविधिहरुको स्मरण गराए । साथै गुणस्तरीय सेवाका लागि निरन्तर सक्रियताको निश्वार्थ भावनाको जानकारी गराए । डा.सुनिला शाक्यले धुलिखेल अस्पतालबाट के पाउने भन्दा पनि के दिन सकिन्छ भनेर शुरु गरेको सेवामा सन्तुष्ट रहेको बताईन् । अस्पतालका शुरुवाती दिन देखि हालसम्म भोगेका भोगाईहरु र त्यसबाट प्राप्त उपलब्धीका बारेमा जानकारी गराउँदै उनले आगामी दिनमा पनि गुणस्तरीय सेवाका लागि सक्रिय रहने बताईन् । चिकित्सकहरुले विरामीलाई गर्ने ब्यवहार र विरामीहरुको विश्वासलाई स्मरण गर्दै अवस्था बदलिएको प्रति चिन्ता ब्यक्त गरिन् । 
    डा.राम गुरुङले डा.रामकण्ठ माकजुले देखेको सपना धुलिखेलबासीको भाग्य समाज, देश र राष्ट्रका लागि अनुकरणीय भएको बताए । विरामीहरुले सहज र सरल रुपमा गुणस्तरीय सेवा पाउने धुलिखेल अस्पतालको निश्वार्थ योजनामा निरन्तर सहकार्यमा रहने सहकर्मीहरु र अस्पतालका संस्थापक डा.रामकण्ठ माकजु प्रति डा.गुरुङले आभार ब्यक्त गरे । डा. रामकण्ठको अगुवाईमा डा. राजेन्द्र कोँजु, डा. रमेश माकजु, डा.बलराम बल्ल लगायतका विभिन्न जिम्मेवारीमा रहेका सहकर्मीहरुको निरन्तरको सक्रियताले अस्पतालले सफलता प्राप्त गरेको उनले बताए । डा.आभा श्रेष्ठले अस्पताल स्थापना देखि हालसम्मको अवस्थाका बारेमा जानकारी गराउँदै ३० औ वर्ष प्रवेशका क्रममा लाखौ विरामीहरुले सेवा पाउन सकेको जानकारी गराईन् । सोहि अवसरमा विभागीय प्रमुखहरुले अस्पतालको पछिल्लो अवस्थाका बारेमा धारणा राखेका थिए ।अस्पतालले बार्षिकोत्वसका अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।