2026 July 30/ 07:11: 36pm

    तीन तहका सरकार संचालनमा आएको पनि ८ वर्ष पुरा भएको छ । मिसन ०८४ मा दलहरु कुदिरहेका छन् । सरकारको अस्थीरताका कारण भदौ २३ र २४ गते मुलुकले विध्वंसकारी घटना ब्यहोर्न पुग्यो । स्थायी मानिएका स्थानीय सरकारको ध्यान चाँहि कहाँ छ ? सरकारले तोकेको न्यूनतम मापदण्डको स्वास्थ्य सेवा, स्वास्थ्य सेवा प्रदान गर्ने भवनहरु, गुणस्तरीय औषधी अर्थात् औषधीको अभाव हुन नदिने ब्यवस्थापनमा ध्यान जान सकेको छैन । 
    यो अवधीमा धुलिखेल नगरपालिका नेपालको पहिलो स्वस्थ शहर घोषणा भएको छ । धुलिखेल नगरपालिकामा रहेका सबै स्वास्थ्य संस्था मापदण्ड भित्र रहेका छन् । प्रत्येक नागरिकहरुको स्वास्थ्य प्रोफाईल निर्माण गरिएको छ । महामारीजन्य विपद र दीर्घकालिन रोगहरुको बर्गिकरण गरी शिविरहरु संचालन भएका छन् । रोगको पहिचान, उपचार र रोकथामसँगै रोग लाग्नै नदिने तर्फ नगरपालिकाले स्वस्थ शहर निर्माण गरी कार्यान्वयनमा ल्याएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । दक्षिण एशियामा दोश्रो शहरका रुपमा धुलिखेलले आफुलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सक्षम भएको छ । यो संघीयता पछि स्थानीय सरकारले गर्व गर्न लायकको उदारण हो । धुलिखेल नगरपालिकामा १२ वटा छन् । १२ वटा वडामा १५ वटा स्वास्थ्य संस्था छन् । सबै भवनहरु स्वास्थ्यको मापदण्ड अनुसारका छन् । ति मध्ये १४ वटामा खानेपानीको नियमित उपलब्धता छ । एउटा स्वास्थ्य संस्थामा नियमित खानेपानी उपलब्धता छैन । कम्प्युटर ल्यापटप र इन्टरनेट सबै संस्थामा उपलब्ध छन् । 
    १३ वटा पालिकामा १ सय ३५ वडामा १ सय ३४ वटा स्वास्थ्य संस्था छन् । पाँचखाल नगरपालिकामा भने १३ वटा वडा मध्ये १२ वटा वडामा मात्रै स्वास्थ्य संस्था छन् । जिल्लामा १ सय ६८ वटा स्वास्थ्य संस्था छन् । वडागत रुपमा मण्डनदेउपुर, बनेपा, धुलिखेल, भुम्लु गाउँपालिकामा १५–१५ वटा स्वास्थ्य सस्था छन् । सबैभन्दा कम खानीखोला र बेथान्चोक गाउँपालिकामा छन् । तर वडागत रुपमा पालिकाले स्थापना गरेको स्वास्थ्य संस्था उक्त पालिकामा धेरै हो । बेथान्चोकमा ६ वटा वडामा ८ वटा र खानीखोलामा ७ वटा वडामा ८ वटा स्वास्थ्य संस्था रहेका छन् ।
     स्वास्थ्य संस्थामा रहेका मध्ये ९२ वटा भवन मात्रै स्वास्थ्य मापदण्ड अनुसारका छन् । मापदण्ड अनुसारका भवन भएका स्वास्थ्य संस्था चौरीदेउरालीमा ५, बेथान्चोकमा २, मण्डनदेउपुरमा ३, महाभारतमा १०, रोशीमा ४, पनौतीमा १२, पाँचखालमा ९, बनेपामा १२, धुलिखेलमा १५, खानीखोलामा शुन्य, तेमालमा ४, नमोबुद्धमा ८ र भुम्लु गाउँपालिकामा ८ वटा भवन गरी ९२ वटा भवन मात्रै मापदण्ड अनुसारका रहेका छन् । स्थानीय सरकार संचालन भएर सबैभन्दा धेरै भवन लगायतका सेवा सुविधामा विकट पालिकाका आधारमा महाभारत हो । जसले ८ वटा वडामा १२ वटा स्वास्थ्य संस्था संचालन गरी १० वटा भवन मापदण्ड अनुसार निर्माण गर्न सकेको छ । सोहि पालिकासँग जोडिएको खानीखोला गाउँपालिकामा भने ७ वटा वडामा ८ वटा स्वास्थ्य संस्था मध्ये कुनै पनि भवनको मापदण्ड पूरा हुन सकेको छैन । 
    जिल्लामा रहेका १ सय ६८ वटा स्वास्थ्य संस्था मध्ये ९२ वटा मापदण्ड अनुसारको भवन रहेका छन् भने १ सय ६५ वटामा खानेपानीको नियमित उपलब्धता रहेको छ । १ सय ६१ वटामा इमेल, इन्टरनेट र कम्प्युटर, ल्यापटप सहितको सुविधा रहेको छ । प्रविधिले छलाङ्ग मारिरहेको अवस्थामा पनि अझै पालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा इन्टरनेट सहितको प्रविधि उपलब्ध छैन । यो आर्थिक वर्ष २०८१÷०८२ को तथ्यांक हो । १३ वटा पालिकामा स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने दरबन्दी अनुसारका कर्मचारी उपलब्ध छैनन् । जसमा ३ सय ३८ जनाको पदपूर्ति भएको छ । २० जना अझै रिक्त छन् । १ सय ४९ कर्मचारी करारमा कार्यरत छन् । स्वास्थ्य संस्थामा ४ सय २२ जना कर्मचारी कार्यरत छन् । भुम्लुमा सबैभन्दा धेरै करारमा कार्यरत कर्मचारी छन् । धुलिखेलमा २२, बनेपामा ३७, पनौतीमा ७, नमोबुद्धमा ३७, पाँचखालमा ३२, मण्डनदेउपुरमा ३०, रोशीमा ३४, तेमालमा ४१, भुम्लुमा ५५, बेथान्चोकमा २५, चौरीदेउरालीमा ४५, खानीखोलामा २१, महाभारतमा ४२ गरी १ सय ४९ जना करारमा कार्यरत छन् । करारमा सबैभन्दा कम कार्यरत पनौतीमा हो । 
    आर्थिक वर्ष २०८१/०८२ मा जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने तथा स्थानीय तहहरूसँगको पैरवी, आधारभूत स्वास्थ्य सेवाको स्तरीय उपचार पद्धती सम्वन्धि स्वास्थ्यकर्मीलाइ अभिमुखीकरण, स्वास्थ्यकर्मीहरुका लागि आँखा, नाक, कान, घाटी तथा मुख स्वास्थ्य सम्वन्धि प्राथमिक उपचार बारे अभिमुखीकरण, स्वास्थ्य चौकी (आधारभूत स्वास्थ्य सेवा केन्द्र) को न्युनतम सेवा मापदण्ड सम्बन्धि समीक्षा, अनुगमन. पारस्परिक अवलोकन भ्रमण तथा सुदृढीकरण, आधारभूत औषधिको कोटेशन तथा पुर्वानुमान गरिएको जनस्वास्थ्य प्रमुख रागिश्री कक्षपतिले जानकारी दिईन् । 
    ब्यवसायीक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, समुदायमा आधारित स्वास्थ्य परीक्षण कार्यक्रम, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत लागायत सरोकारवाला निकायहरुसँग सुरक्षित, मातृत्व तथा नवशिशु स्वास्थ्य सेवाको सुनिश्चितता सम्बन्धि जिल्लास्तरीय पैरवी गोष्ठी, मानसिक स्वास्थ्य प्रवर्धन कार्यक्रम, योग÷व्यायाम सम्बन्धि कक्षा सञ्चालन, प्रसूति केन्द्रको लागि अक्सिटिसन राख्नको लागि आईएलआर फ्रिज खरिद तथा व्यवस्थापन गरिएको कक्षपतिले बताईन् ।