महाभारत/समाजसेवी एवं रोटरियन रामप्यारी बज्राचार्यले महाभारत गाउँपालिका वडा नम्वर ८ टुटेआँपमा रहेको भक्तिश्वर आधारभुत विद्यालयका लागि आवश्यक पर्ने कक्षा कोठा ब्यवस्थापनका लागि कार्पेट विछ्याएर बालबालिकाहरुको अध्ययनलाई सहज बनाएकी छन् ।
भौगोलिक विकटता र आर्थिक अभावका कारण आधारभूत आवश्यकता पूरा गर्न समेत कठिनाइ झेल्दै आएका महाभारत गाउँपालिकाका बालबालिकाहरूका लागि निजी स्तरबाट गरिएको सानो सहयोगले ठूलो राहत दिएको छ।महाभारत गाउँपालिका–८, टुटेआँपस्थित भक्तिश्वर आधारभूत विद्यालयको अवस्था दयनीय देखेपछि समाजसेवी बज्राचार्यले निजी खर्चमा कक्षा कोठामा कार्पेट ओछ्याइदिएका छन् । चिसो सिमेन्टको भुइँमा बसेर पढ्न बाध्य बालबालिकाहरूका लागि उक्त सहयोगले न्यानोपनसँगै अध्ययनमा सहजता ल्याएको विद्यालयले जनाएको छ।
विद्यालयमा पर्याप्त बेञ्च, टेबुल तथा अन्य शैक्षिक सामग्रीको अभाव छ। तर सीमित साधनबीच पनि भित्तामा टाँसिएका बालबालिकाका चित्र र सिर्जनात्मक सामग्रीले उनीहरूको सिक्ने चाहना अझै जीवित रहेको देखिन्छ।गत वर्ष महाभारत गाउँपालिका–१, आँपटारस्थित ज्ञानोदय प्राथमिक विद्यालयमा जाडो याममा न्यानो कपडा नहुँदा विद्यार्थीहरू स्कुल नै नआउने अवस्था देखिएपछि ३६ जना बालबालिकालाई पोशाक तथा न्यानो कपडा सहयोग गरिएको थियो। उक्त सहयोगपछि विद्यार्थीहरूको नियमित उपस्थितिमा सुधार आएको विद्यालय प्रशासनले बताएको छ । ज्ञानोदय प्राथमिक विद्यालयका प्रधानाध्यापक अनिलकुमार दर्लामीले भने – ‘विकट बस्तीका अभिभावकहरू आर्थिक रूपमा कमजोर हुँदा बालबालिकाको न्यानो कपडाजस्ता आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन हुन्छ। सहयोगपछि विद्यार्थीहरू खुसीका साथ विद्यालय आउन थाले ।’ रोटरियन रामप्यारी बज्राचार्यले यो ठूलो दान नभई सानो सहयोग भएको बताइन् । जब बालबालिकाको अनुहारमा मुस्कान आउँछ त्यही नै सबैभन्दा ठूलो सन्तुष्टी र उपलब्धि रहेको उनले बताईन् ।
विकट क्षेत्रका विद्यालयहरूमा अझै पनि भौतिक पूर्वाधार, न्यानो कक्षा कोठा र शैक्षिक सामग्रीको अभाव कायमै रहेको भन्दै स्थानीयवासीहरूले यस्ता सहयोगलाई निरन्तरता दिन सबैमा अपिल गरेका छन्। उनी सहयोग र सरोकार संस्था मार्फत पनि देशका विभिन्न जिल्लाहरुमा आयआर्जन सहितका कार्यक्रमहरु सहित सहयोग उपलब्ध गराउन सक्रिय छिन् ।









