विश्वविद्यालय स्थापनाको ३४ वर्ष पछि सभाको शताङ्क बैठकले आफ्नै स्वामित्वको ४५० शैयाको शिक्षण अस्पताल निर्माण गर्न डिपिआर तयार गर्ने निर्णय गरेको छ ।
धुलिखेल/काठमाडौ विश्वविद्यालय सभाको शताङ्क (१००) बैठक सम्पन्न भएको छ । ३१ औ दीक्षान्त समारोहको प्रथम चरण आयोजना हुनु अघि २०८२ मंसिर २३ गते मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारको सगरमाथा हलमा विश्वविद्यालय सभाको शताङ्क (१००) आंै बैठक आयोजना गरिएको थियो ।
विश्वविद्यालयले मंसिर २५ गते स्थापनाको ३४ आंै बार्षिकोत्सव मनाएको छ । सोहि अवसरमा ८२ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियो । ‘२०८२ मंसिर २१ गते कार्यकारी परिषद्को ७५८ औ बैठकले विश्वविद्यालयको सभामा प्रस्तुत गर्न अनुमोदन गरेका प्रस्तावहरु विश्वविद्यालय सभाको शताङ्क (१००) औ बैठकले सर्वसम्मत पास गरेको छ’– उपकूलपति प्रा.डा अच्युत वाग्लेले भने– ‘३१ औ दीक्षान्त समारोहका पहिलो चरणका कार्यक्रममा विभिन्न स्कुल अन्तर्गत विद्यावारिधी, स्नातकोत्तर तथा स्नातक तहका विभिन्न उपाधिहरु प्रदान गर्न ग्रेस–लिस्ट स्वीकृत गर्ने, केही नियमहरु संशोधन गर्ने, थप दरबन्दी स्वीकृत गर्ने, प्राज्ञिक परिषद्का रिक्त पदहरुमा मनोनयन गर्ने, कार्यकारी परिषद्मा शिक्षक प्रतिनिधि मनोनयन गर्ने र नयाँ अस्पताल भवन निर्माण सम्वन्धी जानकारी गराउने निर्णय गरेको छ ।’
विश्वविद्यालयको २०८२ मंसिर १६ गते प्राज्ञिक परिषद्को १५२ औ बैठक बसेको थियो । सभाले काठमाडौ विश्वविद्यालय आर्थिक नियम, २०४९ को परिच्छेद ५ मा उल्लेख भएको स्वीकृत बजेटबाट खर्च गर्ने तरिका मा संशोधन गरिएको छ भने शिक्षक तथा कर्मचारी सेवा–सर्त नियम २०५० मा संशोधन गरी सुत्केरी विदा सम्बन्धी ब्यवस्था थप गर्ने निर्णय भएको छ । ३ सय ९१ वटा दरवन्दी स्वीकृत गर्ने २०७९ श्रावण १५ गतेको ९३ औ बैठकको निर्णयलाई थप गरी विश्वविद्यालयको रणनीतिक योजना को दिशानिर्देश अनुसार कार्यक्रम विस्तार गर्न ३५ जनाको दरबन्दी थप गर्ने निर्णय गरेको छ । प्राध्यापक, सहायक प्राध्यापक र उप प्राध्यापकहरुको संख्या विभिन्न स्कुलहरुमा ४ सय २६ पुग्ने भएको छ ।
काठमाडौ विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल नभएको, शिक्षण अस्पतालका लागि ४५० शैयाको अस्पताल निर्माण गर्ने विषयमा सम्वन्धित पक्षहरुसँग समेत सल्लाह र सहमति भएको, अस्पतालको संरचना स्कुल अफ मेडिकल साईन्सेजको परिसर चौकोटमा बनाउनु आवश्यक देखिएको र त्यसका लागि आर्थिक श्रोत ब्यवस्थापन समेत सम्भव देखिएकाले शिक्षण अस्पतालको डिपिआर बनाएर काठमाडौ विश्वविद्यालयको आफ्नै शिक्षण अस्पतालको नयाँ भवन निर्माण गर्नका लागि प्रारम्भिक अध्ययन तथा निर्माण सहजीकरण गर्न समेत रजिस्ट्रार प्रा.डा.राजीव श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय निर्माण समिति गठन गरिएको छ । त्यसैगरी काठमाडौ विश्वविद्यालय ऐन, २०४८ को दफा ५ (ठ) बमोजिम सो अस्पताल निर्माणका लागि श्रोत ब्यवस्थापन तथा परिचालन गर्न समिति गठन भएको छ ।
३१ औँ दीक्षान्त समारोह (पहिलो चरण) मा २,२०९ विद्यार्थीले शैक्षिक डिग्री प्राप्त गरे । हालसम्म ५० हजार ४० विद्यार्थीले काठमाडौँ विश्वविद्यालयबाट दीक्षित भइसकेका छन् । यो अवधिमा ५८ देशका विद्यार्थीहरू काठमाडौँ विश्वविद्यालयबाट डिग्री प्राप्त गरिसकेका छन् । केयूले अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिँदै विदेशी प्राध्यापकको सहभागितालाई विस्तार गर्ने प्रयास गरेको छ । यसले विद्यार्थी तथा प्राध्यापक दुवैमा गुणस्तरीय प्रतिस्पर्धा र शैक्षिकस्तरमा उन्नति ल्याउने उद्देश्य राखेको छ ।
विश्वविद्यालयले हिमालयन युनिभर्सिटीज कन्सोर्टियमको सचिवालयलाई आफ्नो मातहत ल्याउने सहमति गरेको छ । जसले क्षेत्रीय अनुसन्धान र सहयोगलाई बलियो बनाउँछ । ठूलो संख्यामा विद्यार्थी दीक्षित, अन्तर्राष्ट्रिय विद्यार्थी सहभागिता, गुणस्तरीय शिक्षा र पदक–सम्मान योजना, प्राध्यापक संख्या वृद्धि र गुणस्तर उन्नति पहल, सम्बन्धन विस्तार र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको दिशा, उच्च शिक्षा सुधारका लागि नीति–उपचारहरू शुरु भएको छ । अनुसन्धानका कार्यहरु अघि बढेका छन् ।









