2026 August 01/ 11:39: 41pm

मोतीराम तिमल्सिना
धुलिखेल

    काभ्रेपलान्चोक जिल्लामा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा पूर्वाधार विस्तार भए पनि पालिकागत असमानता गहिरिँदै गएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वास्थ्य समीक्षा अनुसार संस्थागत सुत्केरी, प्रसूति–पूर्व भेटघाट, पोस्टनाटल केयर तथा नवजात मृत्युदरका संकेतकहरू स्थानीय तहबीच उल्लेख्य रूपमा फरक देखिएका छन् ।
    जिल्लामा एक वर्षमा ५ हजार १४ जीवित जन्म बालबालिकाहरुको जन्म भएको जनस्वास्थ्य कार्यालयले बताएको छ । जिल्लामा ४७ वटा बर्थिङ सेन्टरमा सेवा पुगेका पालिकाहरुले सेवाग्राहीको अपेक्षा अनुसार सेवा स्थिर बनाउने प्रयत्न गरेका छन् । तर धेरै पालिकाहरूमा सेवाको प्रयोग बराबर छैन, जहाँ सेवाको उपलब्धता र पहुँचबीच खाडल देखिन्छ । त्यहि स्थानमा सेवा सहज छैन । जिल्लाको महाभारत र खानीखोला गाउँपालिकाले त्यस्तो सेवा संघीय सरकारको सहयोगमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत हेलिकप्टर मार्फत समेत उपलब्ध गराएका छन् । तर पनि आमा र बच्चाको निधन हुने संख्यालाई शुन्य बनाउने प्रयत्न जिल्लामा सफल हुन सकेको छैन । 
    प्रस्तुतिमा देखिएको तीन वर्षे तथ्यांकीय अध्ययनले भन्छ–काभ्रेका शहरी तथा सडक पहुँच भएका पालिकामा प्रसूति–पूर्व भेटघाट भेटघाट दर उच्च छ । तर गाउँपालिकामा प्रसूति–पूर्व भेटघाटको दर उल्लेख्य रूपमा कम छ । जनशक्ति अभाव, सेवाको नियमितता नहुनु र गर्भवतीको लामो दूरी हिँड्नुपर्ने बाध्यतासँग उक्त सेवा सहज नभएको बताईएको छ । जिल्लाको सदरमुकाम समेत रहेको धुलिखेल नगरपालिका, पनौती नगरपालिका, मण्डनदेउपुर नगरपालिकामा स्वास्थ्य संस्था पहुँच, जनचेतना र आर्थिक–सामाजिक सुगमता उच्च भएकाले प्रसूति–पूर्व भेटघाट, पोस्टनाटल केयर तथा संस्थागत प्रसूति दर राम्रो देखिएको जनस्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपतिले बताईन् । अपेक्षा अनुसार सुधार नआएका पालिकाहरुमा तेमाल गाउँपालिका, रोशी गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला गाउँपालिका छन् । उक्त पालिकाहरूमा प्रसुति–पूर्व भेटघाट, पोस्टनाटल जाँच तथा उच्च–जोखिम गर्भवतीको रिफरल ढिलो हुने समस्या देखिन्छ । स्थानीय तहका स्वास्थ्य संयोजकका अनुसार जनशक्ति पूर्ति ८२.३५% मात्र हुँदा प्रसूति तथा नवजात सेवा प्रभावकारी रूपमा विस्तार गर्न कठिनाइ भएको छ ।
    स्थानीय तह अनुसारको तथ्यांकले काभ्रेमा संस्थागत सुत्केरी दर बढ्दो छ तर सबै पालिकामा एकरूप छैन । धुलिखेल नगरपालिका, पनौती नगरपालिका, बनेपा नगरपालिकामा निजी तथा सरकारी प्रसूति सेवाको थप सेवाले गर्भवती महिलालाई विकल्प दिएको छ । कम संस्थागत सुत्केरी हुने पालिका तेमाल, महाभारत, रोशीमा सुत्केरीझैँ जोखिमपूर्ण सेवामा घरमै प्रसूति गर्ने दर अझै देखिन्छ, विशेषगरी दुर्गम टोल–बस्तीमा । स्थानीयका अनुसार एम्बुलेन्स आए पनि ‘कच्ची’ बाटो भएर अस्पताल पुग्न २–३ घण्टा लाग्छ, त्यसैले परिवारले घरमै सुत्केरी गराउने निर्णय लिन्छन् ।
    नवजात शिशुहरुमा निमोनिया–पखाला संक्रमण देखिएको छ । जिल्लाका केही पालिका ति रोगहरु उच्च जोखिममा देखिएका छन् । बाल स्वास्थ्य सम्बन्धी तथ्यांकका आधारमा जिल्लाका पाँच वर्षमुनिका बालबालिकामा निमोनिया र पखालाको दर घट्दै छ । तर केही पालिकामा अझै संक्रमण दर उच्च छ । उच्च जोखिम रहेका पालिकाहरुमा रोशी, तेमाल र महाभारत रहेका छन् । मुख्य कारणठन्डी मौसममै घरभित्र धुवाँ, कम नवजात जाँच र स्वास्थ्य शिक्षाको पहुँच न्यून रहेको निश्कर्ष निकालिएको छ । शिशु जन्मिए पछि आमा र बच्चाको हेरचाह कमजोर हुने पालिकामा नवजात मृत्युदर बढी देखिएको छ । पछिल्ला तीन वर्षको तुलनामा उक्त तथ्यांकमा सुधार हुँदै मृत्यु दर न्यून हुँदै गएको छ । शहरी क्षेत्रमा राम्रो देखिए पनि ग्रामीण क्षेत्रमा न्यून छ।सुत्केरी महिलाले प्रसूति पश्चात तुरुन्तै सेवा नपाउँदा अत्यधिक रक्तस्राव, संक्रमण, नवजातमा हाइपोथर्मिया, स्तनपान सुरुमा ढिलाइ हुँदा नवजात मृत्युदर ग्रामीण–दुर्गम पालिकामा उच्च देखिएको हो । 
    मातृ तथा नवजात मृत्युदरमा जोखिम बढाउने कारण पालिकागत रूपमा फरक फरक छन् । मातृ मृत्यु जोखिम बढी हुने पालिकाहरुमा महाभारत, खानीखोला, तेमाल र रोशीमा यातायातको समस्या, समयमै रिफरल नहुनु, प्रसूति बेला ‘डिले–थ्री डिले’ प्रमुख कारणका रूपमा देखिन्छ । नवजात मृत्यु बढी हुने पालिकामा खानीखोला, रोशी, तेमाल रहेका छन् । पालिकामा नियमित चेकअप, जन्मपछि २४–४८ घण्टामा जाँच, ताप नियमन कमजोर रहँदै आएको संकेत देखिए पछि नवजात शिशुको निधन भएको छ । तेमाल गाउँपालिकाबाट १ गर्भवती र १ सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पताल पु-याइएको तथ्यांकमा उल्लेख छ । असोज १०–१२ को विपद्मा उद्दार गरिएको प्रमुख रागिश्री कक्षपतिले बताईन् । हेलिकप्टर उद्धार नियमित सुविधा नभएकोले अधिकांश घटनामा समयमै अस्पताल नपुग्ने जोखिम रहन्छ । काभ्रेको मातृ तथा नवजात स्वास्थ्य सुधार भए पनि पालिकागत खाडल अझै गम्भीर देखिएको छ । संरचना, सेवा उपलब्धता र डाटा व्यवस्थापनमा पछिल्ला वर्षमा सशक्त प्रगति गरेको देखिन्छ। तर पालिकागत असमानता, विशेषगरी तेमाल,रोशी, महाभारत र खानीखोला जस्ता भूगोल–कठिन क्षेत्रहरूमा स्वास्थ्य सेवा विस्तार र प्रभावकारी उपयोग दुवैमा चुनौती छन् । दुर्गम पालिकामा दक्ष जनशक्ति, नियमित सेवा विस्तार, एम्बुलेन्स–रिफरल नेटवर्क सुधार, नवजात हेरचाह अभिमुखीकरण, स्थानीय तहमा मातृ–नवजात स्वास्थ्यका विशेष कार्यक्रम आवश्यक रहेको सहभागीहरुले बताए । 

त्यो दिन तेमालमा........
    धनमायाले तेमालको उकालोबाट झर्दै गर्दा आफूले जन्माउन लागेको बच्चाको मुहार कल्पना गरिरहेकी थिइन् । आकाश धमिलो थियो, वर्षातको रातभरीको चिसो हावाले शरीर झनै भारी बनाइदिएको थियो । बिहान ५ बजेतिर अचानक पेट दुख्न थाल्यो । घरमा सासु आमाले अहिले निस्किनु जोखिम होला भनिन् । तर धनमाया भन्थिन्, अस्पताल नजाने हो भने पनि बच्चा त सुरक्षित जन्माउनै पर्छ ।
    उनले यो पटक मात्र होइन, अघिल्ला दुई गर्भमा पनि प्रसुति-पूर्व जाँच (ब्ल्ऋ) पूरा गर्न पाईनन् । तेमाल लगायतका पालिकाहरूमा प्रसुति पूर्व जाँच र भेटघाट दर न्यून छ । दुर्गम बस्तीका महिलाहरू अस्पताल पुग्न अप्ठ्यारो छ । धेरैजसोले पहिलो भेटघाट त गर्छन्, तर चौथो र आठौँ भेटघाट पुग्ने आँकडा धेरै पालिकामा न्यून छ । धनमायालाई त बिहानैदेखि झनै अप्ठ्यारो, पसिना र चिसो मिसिएको शरीरले थकित बनाइरहेको थियो । अवस्था गम्भीर भए पछि स्थानीय स्वास्थ्यकर्मीले तत्काल फोन गरे हेलिकप्टर माग्नुपर्छ ! धनमायाको आवाज पनि कमजोर हुँदै गइरहेको थियो । छोरा होस् वा छोरी, उनले एकै कुरा भन्थिन्–सुरक्षित जन्म हुन सकोस् । त्यही दिन तेमालबाट एक गर्भवती र एक सुत्केरी महिलालाई हेलिकप्टरमार्फत धुलिखेल अस्पताल पु-याइएको तथ्यांक स्वास्थ्य कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले बताईन् ।