बनेपा/मंसिर २७–२९ भक्तपुरको सल्लाघारीमा आयोजना हुने पार्टीको ११ आंै महाधिबेशनमा सहभागी हुने प्रयोजनका लागि एमाले काभ्रेबाट प्रतिनिधि बन्न उम्मेदवारी दर्ता भएको छ ।
हिजो बुधबार मंसिर १० गते उम्मेदवारी दर्ता गरिएको प्रमुख निर्वाचन अधिकृत यज्ञराज पाण्डेले जानकारी दिए । प्रतिनिधि सभा १ बाट खुल्ला पदमा २६ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै महिलामा ९ जना र युवामा ७ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधि सभा २ बाट खुल्ला पदमा २९ जनाले उम्मेदवारी दिएका छन् भने महिलामा १० र युवामा ५ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै दलित तर्फबाट जिल्लाभरीबाट २ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
उम्मेदवारी दिएका मध्ये केन्द्रीय कमिटीले जारी गरेको मापदण्डका आधारमा सामान्यतया जिल्लाबाट २५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ बाट खुल्ला ६, महिला ४ र युवा १ गरी ११ जना, प्रतिनिधि सभा क्षेत्र नम्वर २ बाट खुल्ला ७, महिला ४ र युवा १ गरी १२ जना र जिल्ला दलित क्षेत्रबाट एक जना गरी २४ जना निर्वाचित हुनेछन् । नेकपा एमालेले नविकरण गरेका १५ हजार १ सय ११ जना मतदाता रहेको बताएको छ । निर्वाचन क्षेत्र नम्वर १ मा ७ हजार ५३ र निर्वाचन क्षेत्र नम्वर २ मा ८ हजार ५८ जना रहेका छन् ।
महाधिबेशन प्रतिनिधीका लागि उम्मेदवार बन्न लगातार १० वर्ष पार्टी सदस्य भएर काम गरेको ब्यक्ति हुनु पर्नेछ । तर महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी–जनजाति र अपाङ्गता भएका ब्यक्तिले भने ७ वर्ष पार्टी सदस्य भई काम गरेको भए पुग्नेछ । पार्टी प्रवेश गरेकाहरुको हकमा विद्याधानको धारा ६३(११) मा उल्लेख भए बमोजिम गर्ने भनिएको छ । ४० वर्ष मुनिका युवा प्रतिनिधीका हकमा २०८२ मसिर १३ गतेसम्म ७ वर्ष सदस्यता भई काम गरेको र ४० वर्ष नकटेको हुनु पर्ने ब्यवस्था गरेको छ ।
मसिंर ८ गते निर्वाचन कार्यतालिका प्रकाशन गरेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज पाण्डेले जानकारी दिए । तालिका अनुसार मसिंर ९ गते विहान ११ बजे मतदाता नामावली प्रकाशन गरिएको थियो । मंसिर १० गते विहान १० बजे देखि २ बजेसम्म उम्मेदवारी दर्ता भएको थियो । ११ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन ११ गते दिउसो ३.३० बजे नै हुनेछ । निर्वाचन कार्यक्रम मसिंर १३ गते विहान ८ बजे देखि ३ बजेसम्म हुनेछ । निर्वाचन सकिए लगत्तै सम्वन्धित मतदान केन्द्रमा सम्वन्धित केन्द्रको मतगणना गरिनेछ । सबै मतदान केन्द्रबाट तोकिएको प्रकृया पुरा गरि परिणाम प्राप्त भए पछि सम्वन्धित क्षेत्रको मतपरिणाम घोषणा हुनेछ ।
१७ वटा मतदान केन्द्र
प्रतिनिधि सभा क्षेत्र तहमा हुने प्रतिनिधि छनौट निर्वाचनका लागि प्रत्येक पालिकामा मतदान केन्द्र निर्धारण गरिएको छ । एउटै पालिकामा २ वटा क्षेत्र पर्ने पालिकाहरु धुलिखेल, पनौती र बेथान्चोक गाउँपालिकामा २ वटा मतदान केन्द्र हुनेछन् । मतदान केन्द्र रहने स्थान सम्वन्धित पालिकाले तय गर्नेछ । दलित प्रतिनिधिका लागि जिल्ला पार्टी कार्यालयमा मतदान केन्द्र निर्धारण गरिएको छ । १७ वटा मतदान केन्द्र मार्फत मतदान हुनेछ । मतदाताहरुले पार्टी सदस्यता कार्डका आधारमा (डिजिटल भए पनि मान्य) मतदान गर्न सक्नेछन् । सदस्यता कार्ड नभएको तर सदस्यता भएकाहरुले मतदाता परिचयपत्र, नागरिकता वा कुनै स्पष्ट परिचय खुल्ने परिचयपत्रका आधारमा मतदान गर्न पाउने छन् । मतदाता पहिचानमा समस्या देखिए सम्वन्धित पािलका कमिटी, वडा कमिटी र निर्वाचन अधिकृतको समन्वयमा समाधान हुनेछ ।





