बनेपा/आर्थिक वर्ष २०८१/०८२ मा बनेपा नगरपालिकाले आन्तरिक आम्दानी सम्पत्ति कर, घर बहाल, भूमिकर (मालपोत), ब्यवसाय, सेवा शुल्क दस्तुर, बहाल विटौरी शुल्क, पार्किङ्ग शुल्क, नक्सा पास दस्तुर, सम्पत्ति बहाल तथा दण्ड जरिवना मार्फत राजश्व संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा १.३३ प्रतिशत राजश्व थप संकलन भएको नगरपालिकाले जानकारी दिएको छ ।
प्रदेश र स्थानीय तह बीच बाँडफाँड हुने विज्ञापन कर, मनोरञ्जन कर र दहत्तर बहत्तर शुल्क बनेपा नगरपालिकामा न्यून छ । आर्थिक वर्ष २०८०÷०८१ मा १२ करोड ४८ लाख ३० हजार ४ सय १३ रुपैयाँ संकलन भएकोमा आर्थिक वर्ष २०८१÷०८२ मा १२ करोड ६४ लाख ९५ हजार ९ सय २५ रुपैयाँ संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७९/०८० मा करिव २५ करोड भन्दा धेरै थियो । मालपोत कर नै बनेपा नगरपालिकाको करिव २३ करोड संकलन भएको थियो । क्रमशः जग्गा कारोवारमा भएको मन्दी लगायतका विविध कारण स्थानीय सरकारको आन्तरिक आय घटिरहेको छ ।
नगरपालिकाले वडा वडामा राजश्व संकलन र नागरिकहरुलाई राजश्व बुझाउन सक्ने ब्यवस्था गरेको छ । १४ वटा वडाहरु मध्ये आर्थिक वर्ष २०८१÷०८२ मा बनेपा ८ ले धेरै राजश्व संकलन गरेको छ । वडा नम्वर ८ ले ६१ लाख ५१ हजार ८ सय ९०, वडा नम्वर १० ले ५९ लाख ३८ हजार ३ सय ९३ रुपैयाँ, वडा नम्वर ७ मा ५७ लाख २५ हजार ७ सय ९८ रुपैया राजश्व संकलन गरेको छ । नगरपालिकामा ८ करोड १० लाख १० हजार ८ सय ४१ रुपैयाँ संकलन गरेको छ । सबैभन्दा कम वडा नम्वर २ ले ९ लाख ५९ हजार १ सय ५ रुपैयाँ संकलन गरेको छ । वार्षिक सम्पत्ति कर प्रक्षेपण १ करोड ४५ लाख २० हजार गरिएकोमा आर्थिक वर्ष २०८१/०८२ मा ८६ लाख ६० हजार ८ सय ४३ रुपैयाँ संकलन भएको छ । ५९.६५ प्रतिशत प्रगति भएको नगरपालिकाले जाजनकारी दिएको छ ।
भूमिकर÷मालपोत ६० लाख ५० हजार प्रक्षेपण गरिएकोमा १ करोड ७३ लाख २४ हजार १ सय ३ रुपैयाँ संकलन भएको छ । प्रतिशत २८६.३५ प्रगति भएको थियो । घर बहाल कर ३ करोड ६८ लाख ४६ हजार ८५ रुपैयाँ संकलन भएको छ । ब्यवसाय कर ९८ लाख ९२ हजार ५ सय ६८ रुपैयाँ संकलन भएको छ । अन्य राजश्व प्रक्षेपण ५४ लाख ७२ हजार २ सय २० रुपैयाँ संकलन भएको छ । सरकारी सम्पत्तिको बहालबाट ९४ लाख ६० हजार ८ सय ४४ रुपैयाँ, पार्किङ्ग शुल्कबाट १४ लाख ४६ हजार २ सय ६० रुपैयाँ संकलन भएको छ । अन्य सेवा शुल्क तथा विक्रीबाट १३ लाख ६७ हजार ४ सय ३४ रुपैयाँ, नक्सापास दस्तुरबाट ६९ लाख १० हजार २ सय ४४ रुपैयाँ, सिफारिस दस्तुरबाट ८१ लाख ४७ हजार ९ सय २७ रुपैयाँ, ब्यक्तिगत घटना दर्ताबाट ५ लाख ४३ हजार ३ सय ६०, नाता प्रमाणित शुल्कबाट ४ लाख ४९ हजार ९ सय २५, अन्य दस्तुर ९६ लाख ३ हजार ७६ रुपैयाँ संकलन भएको छ ।
विज्ञापन करबाट १७ लाख २३ हजार २ सय ५०, मनोरञ्जन करबाट ६ लाख २४ हजार ५७ रुपैयाँ संकलन गरिएको छ । यो नगरपालिकाले पहिलो पटक लिएको कर हो । यो प्रदेश सरकारलाई समेत भुक्तानी जानेछ । विभाज्य कोषमा जम्मा भएको मनोरञ्जन करको नगरपालिकाले कति संकलन हुन्छ प्रक्षेपण समेत गरेको थिएन । नगरपालिकाको कुल राजश्वको प्रक्षेपण १२ करोड ६३ लाख ११ हजार ८ सय ७० रुपैयाँ गरेकोमा १२ करोड ६४ लाख ९५ हजार ९ सय २५ रुपैयाँ संकलन भएको छ । नगरपालिकाले गरेको प्रक्षेपण शतप्रतिशत भएको छ । नगरपालिकामा ३ सय ९९ वटा नया ब्यवसाय दर्ता भएका छन् । हालसम्म २२ सय ४ वटा ब्यवसाय दर्ताको रेकर्ड छ । नगरपालिकाले शौचालय शुल्क बापत २५ लाख १० हजार २ सय ७४ रुपैया र विज्ञापन कर संकलन बापत १७ लाख २३ हजार २ सय ५० रुपैयाँको ठेक्का लगाएको थियो ।









