पनौती/पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको २६ औ वार्षिक साधारण सभा ६ वटा एकाईमा एकाई साधारण सभा गर्दै गत कार्तिक १ गते सम्पन्न भएको छ ।
दिगो र उत्कृष्ट वित्तिय सहकारीको परिकल्पना गरी समुदायमा आधारित भई संचालित ज्योति मिर्मिरे सामूहिक साकोसमा २०८२ आषाढ मसान्त सम्ममा काभ्रे जिल्लालाई कार्यक्षेत्र बनाई हाल २० हजार ७८२ शेयर सदस्य तथा २ हजार ६० बाल बचतकर्ता सदस्यहरु मार्र्फत १ अर्ब ४२ करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको कोषाध्यक्ष पूर्णराम तुलाधरले आर्थिक प्रतिवेदन मार्फत जानकारी दिए । संस्थाका सचिव बुद्धसिंह थापाले सचिवको प्रतिवेदन मार्फत संस्थाको हालसम्मको प्रगति प्रतिवेदन र आगामी कार्यक्रम, लेखा संयोजक भिमसेन केसीले लेखा सुपरिवेक्षण प्रतिवेदन र ऋण उप–समिति संयोजक केशव बञ्जाराले ऋण लगानी तथा असुली प्रतिवेदन मार्फत संस्थाको गतिविधीको जानकारी गराएका थिए । सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउनका लागि आधुनिक प्रविधिको अधिकतम् उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यवसायिक ढंगबाट संस्थाको कारोवार सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ । २०८२ असोज २५ गते कुशादेवी एकाई र बेथानचोक एकाई साधारण सभाबाट शुरु भएको संस्थाको २६ औ वार्षिक साधारण सभा असोज २६ रोशी, बल्थली र बनेपा इकाईमा र असोज २८ गते मूख्य कार्यालयमा संस्थाका अध्यक्ष उद्धव सापाकोटाले उद्घाटन गरेका थिए । साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन बमोजिम प्रमुख अतिथि तथा अतिथिहरु विना सञ्चालन गरिएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाको शेयर पूँजी १२ करोड ७४ लाख ५६ हजार ७ सय, बचत १ अर्ब ११ करोड २२ लाख ६० हजार, ऋण लगानी रु १ अर्ब ५ करोड ७४ लाख १६ हजार, ३ जगेडा कोष ८ करोड ८३ लाख ७९ हजार रुपैयाँ रहेको जानकारी दिए । संस्थाले सदस्य मृत्यु राहत, एकाघर परिवार मृत्यु राहत, उपचार राहत, गर्भवती पोषण सहयोग जेष्ठ सदस्य भत्ता, अपाङ्ग सदस्य भत्ता, ऋणी सदस्य मृत्यु राहत लगायतका सदस्य राहत वापत यसवर्ष मात्र ४० लाख ५२ हजार रुपैयाँ प्रदान गरिएको लगायतका विविध वस्तु तथा सेवाहरुको चर्चा गर्दै संस्थाले हाल सञ्चालन गरेका कार्यक्रम तथा आगामी कार्ययोजना प्रमुख कार्यकारी अधिकृत दाहालले जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थामा आबद्ध भएका उत्कृष्ट ऋणी, बचतकर्ता, बालबचतकर्ता सहित १९ जनालाई सम्मान गरिएको थियो । उक्त साधारण सभामा संस्थाका ७० प्रतिशत सदस्यको उपस्थिती रहेको जनाईएको थियो ।









