काभ्रेपलाञ्चोक जिल्लामा भएको ध्वंसात्मक आन्दोलनमा एक सय भन्दा धेरै प्रमाण संकलन भएका छन् भने असोज २९ गते सम्म जिल्ला प्रहरी कार्यालय काभ्रेमा करिब एक दर्जन जाहेरी परेका छन् ।
धुलिखेल/गृह मन्त्रालय र सरकारले गठन गरेको आयोगले फरक सूचना र निर्देशन जारी गरे पछि प्रहरी अन्योलमा परेको छ । प्रहरीले अपराधिक तथा ध्वंसात्मक घटनामा संलग्नहरुको पहिचान गरिरहेको छ । प्रमाण संकलनका लागि आब्हान गरेसँगै त्यसको प्रमाणीकरण गरिरहेको छ । ध्वंसात्मक गतिविधिमा संलग्न विरुद्ध किटानी जाहेरी दिईएको छ । तर पनि प्रहरी के गर्ने अन्योलमा छ । तर प्रमाणहरु संकलन गरी योजना पनि बनाईरहेको छ ।
सार्वजनिक सम्पत्ति तथा ब्यक्तिका घरमा आगजनी, लुटपाट तथा तोडफोड गर्ने विरुद्ध कानूनी कारवाहीका लागि आयोगको छानविन पर्खनु नपर्ने स्पष्ट पारेको छ । सरकारी सम्पत्ति क्षति पु¥याउने विध्वंसात्मक कार्यमा संलग्न विरुद्ध परेका किटानी जाहेरीका बारेमा प्रहरीले अध्ययन गरिरहेको छ । ‘सम्भवतः तिहार आसपास केहिलाई पक्राउ गर्ने गरी योजना बनिरहेको छ’–प्रहरी श्रोतले भन्यो–‘काभ्रेका विभिन्न स्थानमा ध्वंसात्मक गतिविधि मच्चाउने र त्यस कार्यमा संलग्न गराउन उक्साउने गतिविधिमा संलग्नहरुको पहिचान, प्रमाणका आधारमा पक्राउ गर्ने छौं ।’ केहि केहि स्थानमा स्थानीयले ध्वंसात्मक घटनामा संलग्न भएको अभियोगमा आक्रमण गर्न थालेका छन् ।
२०८२ भाद्र २४ गतेको आततायी ध्वंसात्मक घटनामा काभ्रेको बनेपा, पनौती र धुलिखेलमा गरिएको तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरुको पहिचान गरी कारवाही गर्न सम्बन्धित निकायमा पीडितहरुले जाहेरी दर्ता गराएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेमा असोज २९ गते दिउँसोसम्म १३ वटा जाहेरी परेको प्रहरीले जानकारी दिएको छ । ‘विशेषगरी पनौती र बनेपा तथा धुलिखेल क्षेत्रमा भएको आगजनी र लुटपाटका घटनासँग सम्बन्धित रहेर जाहेरीहरु आएका छन्’–प्रहरीले भन्यो–‘प्राप्त प्रमाण सहितको जाहेरीका बारेमा थप अनुसन्धान हुँदैछ ।’ उक्त जाहेरीमा घटनामा संलग्न तथा घटनाको लागि वातावरण सिर्जना गर्ने, उक्साउने तथा संयोजन गर्नेहरुका बारेमा पनि प्रमाणहरु पेश गरिएको प्रहरीले बताएको छ । प्रहरीले यकिन तथ्य र प्रमाणका आधारमा थप अनुसन्धान अघि बढाउने तयारी गरेको छ । यसअघि प्रहरीले प्रहरी चौकी लुटपाट गर्ने समुहका ११ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । विशेषगरी सरकारी सम्पत्ति र सार्वजनिक क्षेत्रमा आगजनी र तोडफोड गर्नेहरुको पहिचानका लागि प्रहरीले यसअघि नै उजुरी गर्न इमेल मार्फत आब्हान गरेको थियो । प्रहरीलाई ५० हजार भन्दा धेरै प्रमाण सहित इमेलमा उजुरी परेको बताईएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा पूर्व सांसद शिवप्रसाद हुमागाई, नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, पूर्व नगर प्रमुख भिम न्यौपाने र उनका दुई छोरा दिपक र विमल न्यौपाने, क्याप्टेन रामेश्वर थापा, वडा अध्यक्ष पुरुषोतम अधिकारीको कुशादेवीको घरमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । धुलिखेलमा नगर प्रमुख अशोक ब्याञ्जु र भक्तपुरमा एमाले नेता पूर्व मन्त्री गोकुल बाँस्कोटाको घरमा लुटपाट, तोडफोड र आगजनी गरेका थिए । नेकपा एमाले, नेपाली काँग्रेसका पार्टी कार्यालयमा आगजनी, लुटपाट र तोडफोड गरिएको छ । ईलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा, पाँचखाल प्रहरी चौकी, हिगुवापाटी प्रहरी चौकी, बनेपा नगरपालिकामा आगजनी सहितको लुटपाट गरिएको छ । पनौती नगरपालिका र अन्य केहि संस्थाहरुमा तोडफोड गरिएको छ । उक्त संस्थाहरुले लिखित कारवाहीका लागि निवेदन अर्थात जाहेरी दिएका छन् । जाहेरीका साथमा एक सय भन्दा धेरैको तथ्य सहितको प्रमाण पेश गरिएको छ । सर्वसाधारणले ब्यक्तिगत रुपमा रिसईवी साँधेर घटनामा संलग्नहरुलाई उन्मुक्ति दिने प्रयत्न राज्यले ग¥यो भने त्यसको वदलाव हुन पुग्दा मुलुक अर्काे युद्धमा फस्ने आशंका गरेका छन् । अपराधिक घटनामा संलग्नहरुको पहिचान भए पछि तत्काल कानूनी कारवाही शुरु गर्नु पर्नेमा राजनीतिक दल तथा सरोकारवालाहरुले बताएका छन् ।
हिरासत अनि फेरी हिरासत
जिल्ला अदालत काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट धरौटीमा रिहा भएकाहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ । धरौटी बुझाए लगत्तै प्रहरीले सोहि स्थानबाट पक्राउ गरी पुनः अभद्रमा मुद्दा दर्ता गरेको छ । विहिबार नै ११ जनालाई म्याद थप भएको प्रहरीले जानकारी दिएको छ । ‘जिल्ला अदालतबाट ८ जना र प्रशासन कार्यालयबाट ३ जनालाई धरौटीमा छाड्ने आदेश भएको थियो’–प्रहरी श्रोतले भन्यो–‘धरौटीमा छुटे लगत्तै उनिहरुलाई पुनः प्रहरीले पक्राउ गरेको छ ।’ पक्राउ परेका सबैलाई ईलाका प्रहरी कार्यालय बनेपाले अभद्र ब्यवहारमा म्याद थप गरेको छ । उनिहरु सबै प्रहरी कार्यालय लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको आशंका गरिएको छ । तिमध्ये एक राजधानीमा बंैकमा भएको नगद र सुन लुटपाटमा संलग्न थिए । उनि त्यसअघि पनि विभिन्न चोरीको घटनामा संलग्न भएको अभिलेखबाट खुलेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले सिराहा जिल्ला भगवानपुर गाउँपालिका २ का नरेशकुमार यादव, ओखलुढुंगा कटुन्जे ४ का पासाङ तामाङ । संखुवासभा मकालु गाउँपालिकाका विकास राईलाई असोज २१ गते धरौटीमा छाड्ने आदेश दिएको छ । उनिहरु सबै जना १०÷१० हजार धरौटीमा रिहा भएका थिए । रिहा भए लगत्तै उनिहरुलाई पक्राउ गरिएको थियो ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले ८ मध्ये ७ जनालाई १०÷१० हजार धरौटीमा रिहा गर्ने आदेश दिएका थिए भने एक जनालाई १५ हजार धरौटी माग गरेका थिए । सूचना अधिकारी अधिकृत अक्षयकुमार दनुवारका अनुसार उनिहरु सबैले विहिबार असोज २३ गते धरौटी बुझाएर रिहा भएका थिए । रिहा भए लगत्तै प्रहरीले पुनः उनिहरुलाई पक्राउ गरी अभद्रमा मुद्दा दर्ता गरी म्याद थप गरेको छ । सुशान्त लो, अच्युत खड्का, सिर्जन सुवाल, तिमोथी तामाङ, सन्तोष श्रेष्ठ, प्रविण कार्की र महेशकुमार मुखियालाई १० हजार र सुबास गौतमलाई १५ हजार धरौटी माग गरिएको थियो । बनेपा ९ लायकुबाट मण्डनदेउपुर ७ घर भएका सन्तोष श्रेष्ठ कटुवा पेस्तोल र ३६ राउण्ड गोली सहित २०८२ भाद्र २८ गते शनिबार पक्राउ परेका थिए । प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको भए पनि अभद्रमा मुद्दा दर्ता गरेको थियो । त्यस्तै बनेपा ९ नयाँबस्तिबाट हातहतियारको गोली राउण्ड सहित २०८२ भाद्र २८ र २९ गते प्रहरीले ७३० राउण्ड गोली फेला परेको थियो । २०८२ भदौं २४ गते इलाका प्रहरी कार्यालय बनेपाबाट लुटिएको गोली भएको पक्राउ परेकाहरुले बयान दिएका थिए । तर पनि प्रहरीले सबैलाई अभद्रमा मात्रै मुद्दा दर्ता गरेको थियो । बनेपा नगरपालिका ९ का अछुत खड्का, सिजन सुवाल, सुबास गौतम, बारा बनौली सखुवा ८ का महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका ६ का सुशान्त लो, तेमाल गाउँपालिका २ का तिमोथी तामाङ, रामेछाप उमाकुण्ड गाउँपालिका ४ का प्रविन कार्की पक्राउ परेका थिए ।









