धुलिखेल/धुलिखेल नगरपालिकाले जग्गाको भूउपयोग नियमावली, २०७९ अनुसार नगर क्षेत्र भित्र रहेका सबै वडाको बर्गीकरण शुरु गरेको छ । तीन महिना अवधी दिएर निष्ट परामर्शदाता मार्फत सबै वडाको वर्गीकरण गर्ने गरी कार्य प्रारम्भ गरिएको छ ।
‘धुलिखेल नगरपालिकाका १२ वटा वडामध्ये पहिलो पटक वडा नम्वर ४ को भू–उपयोग नियमावली अनुसार वर्गीकरण गरि पठाउने निर्णय गरेका छौं’– वडा नम्वर ४ का अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले भने–‘बढ्दो शहरीकरण, शैक्षिक क्षेत्रमा बढिरहेको बस्ति क्षेत्रलाई समेत मध्यनजर गरी आवास, सार्वजनिक क्षेत्र, नदिखोला सिमसार क्षेत्र र साँस्कृतिक तथा पुरातात्विक महत्व क्षेत्रमा वडालाई विभाजन गरिएको छ ।’ वडा नम्वर ४ मा १.५५ बर्ग मिटर क्षेत्रफल रहेको छ । धुलिखेल ४ मा काठमाडौ विश्वविद्यालय केन्द्रिय कार्यालय, नापी तालिम केन्द्र, सँगै रहेको धुलिखेल अस्पताल तथा सदरमुकाम तथा विभिन्न जिल्ला र काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाका नागरिकहरु सोहि वडामा बसोबास गर्दै आएका छन् । काठमाडौ विश्वविद्यालयका सह–प्राध्यापक तथा संघीय भू–उपयोग परिषद्को विज्ञ महिला सदस्य रेश्मा श्रेष्ठले भूउपयोग नियमावली, २०७९ अनुसार धुलिखेल नगरपालिकालाई नमूना पालिका निर्माण गर्ने गरी बर्गिकरणको कार्य प्रारम्भ भएको बताईन् । ‘भूउपयोग क्षेत्र बर्गीकरणका आधार, मापदण्ड तथा क्षेत्रफलका आधारमा धुलिखेलमा बर्गीकरणको कार्य प्रारम्भ भएको छ’– विज्ञ सदस्य रेश्मा श्रेष्ठले भनिन–‘कृषि क्षेत्र, आवासीय क्षेत्र, ब्यावसायिक क्षेत्र, औधोगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगके क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, नेपाल सरकारबाट आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रमा बर्गीकरण गर्न सक्नेछ ।’ धुलिखेल ४ ले गरेको भूउपयोग बर्गिकरण निर्णय नगरपालिकामा सिफारिस हुनेछ । नगरपालिकाले नापी कार्यालयमा सिफारिस गर्नेछ । नापी कार्यालयले कित्ता विवरण तयार गरिसके पछि मात्रै अलग अलग कित्ता खुल्ला हुनेछ ।









