2026 June 15/ 10:39: 47am

    बनेपा/बनेपा नगरपालिका वडा नम्वर ६ बुडोलमा रहेको पञ्चकुमारी बहुउद्देश्यीय सहकारीले १८ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटाको प्रमुख आतिथ्यता तथा मधुसुदन पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीले वर्षभरी गरेका कार्यक्रमहरु तथा चालु वर्षका नीति तथा कार्यक्रम र योजनाका बारेमा छलफल भएको थियो । 
    सहकारी अभियानमा शशक्त उपस्थिती जनाउँदै वडा नम्वर ६ र आसपासका क्षेत्रमा सहकारीले  प्रदान गरेको सेवा सदस्यमुखी रहेको सहभागिहरुले बताए । जन्मे देखि मृत्युसम्म अर्थात अशक्त र विरामी अवस्थामा समेत सहकारीले शेयर सदस्य केन्द्रिय अभियान चलाएको छ । दुर्घटना बीमा, महिला तथा पुरुष उत्कृष्ट सदस्य सम्मान, एसईई उर्तिण सामुदायिक र नीजि तर्फका विद्यालयहरुबाट उत्कृष्ट ३ जना शेयर सदस्यका छोराछोरी तथा बाल सदस्य सम्मान, उत्कृष्ट कारोवार सम्मान गरिएको छ । शेयर सदस्यको मृत्यु भएको अवस्थामा परिवारका सदस्यहरुलाई आर्थिक सहयोग, प्रसुती भत्ता प्रति ब्यक्ति ३ हजार, औषधी उपचार सहयोग जस्ता सदस्यमुखी कार्यक्रम प्रभावकारी रहेको अध्यक्ष पन्तले बताए । कृषकहरुलाई रासायनिक मल वितरण तथा बाल सदस्यहरुलाई टिर्सट वितरण लगायतका सदस्यहरु अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको उनले बताए । 
    कार्यक्रममा उपप्रमुख विमला सापकोटाले सदस्य केन्द्रित संस्थाहरुमा समस्या नभएको बताउँदै केहि सहकारी संस्थाका संचालकहरुले गरेको बदमासीका कारण सबै संस्थाहरु उस्तै हुन् कि ? भन्ने भ्रम रहेको बताईन् । पञ्चकुमारी सहकारीले सदस्यहरुका लागि गरिरहेको कार्य र कारोवार सन्तोषजनक रहेको उनले बताईन् । कार्यक्रममा उपाध्यक्ष आनन्दा दाहालले स्वागत गर्दै संस्थाका विषयमा जानकारी गराएका थिए । सचिव यादवप्रसाद सिटौलाले बार्षिक प्रतिवेदनका साथै सहकारीका आगामी योजनाका बारेमा जानकारी गराएका थिए । कोषाध्यक्ष नवराज तिमल्सिनाले सहकारीको बार्षिक कारोवार र आर्थिक अवस्थाका बारेमा जानकारी गराएका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक हरिश्चन्द्र भण्डारीले लेखा प्रतिवेदनका विषयमा जानकारी गराएका थिए । 
    कार्यक्रममा सहकारीको कुल वासलात १० करोड ६१ लाख ९३ हजार रहेको अध्यक्ष पन्तले बताए । १ करोड ६१ लाख ६५ हजार शेयर पुँजी रहेको उक्त सहकारीमा ७ करोड ६५ लाख ६९ हजार ४ सय ८३ रुपैयाँ बचत रहेको बताए । संस्थामा १ हजार २ सय ६२ सदस्य, ४ सय २३ बाल सदस्य र ३ संस्थागत सदस्य रहेका छन् । कार्यक्रममा काभ्रेपलाञ्चोक बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष कृष्णभक्त थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, संस्थाका सल्लाहकारहरु चर्तुभुर्ज तिमल्सिना, कृष्णप्रसाद दाहाल, बाबुकृष्ण पन्त, कृष्णप्रसाद तिमल्सिना, वडा सदस्य विष्णुनारायण श्रेष्ठ, पत्रकार नवराज बजगाई लगायतको सहभागिता रहेको थियो ।