2026 August 02/ 03:48: 55am

मोतीराम तिमल्सिना
बनेपा

    अग्नी बचत तथा ऋण सहकारी मार्फत नागरिकहरुको रकम डुबाउने मुख्य योजनाकार सहित संस्थाका संचालक, कर्मचारी र केहि अन्य ब्यक्तिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेले ठगी अभियोगमा मुद्दा दर्ता गरेको छ । केहि पक्राउ परेका छन् । केहि फरार छन् । केहिलाई मुद्दा नचल्ने निर्णय गरिएको छ ।
    बनेपा नगरपालिका ८ सिनागालमा रहेको अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २४ करोड ९७ ५ हजार ९ सय ७७ रुपैया ठगी गरेको २ सय ४ जना बचतकर्ताहरुको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ३३ जना विरुद्ध मुद्दा दायर गरेको छ । बचतकर्ताका तर्फबाट अर्जुन तिमल्सिना सहित २ सय ४ जनाको निवेदन प्रहरीको दर्ता भएको थियो । उनिहरुले पटक पटक सहकारीमा रकम माग गर्दा पनि प्राप्त हुन नसकेकाले ठगी अभियोगमा उजुरी दिनु परेको बताएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दायर गरेको अभियोगपत्र ८८ पृष्ठको छ । जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलाञ्चोकले आन्दोलनका कारण ढिलो गरी २०८२ भदौ २९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा अभियोग दर्ता गरेको थियो । पक्राउ गरी अनुसन्धान गरिरहेका उज्वल बैद्यलाई भने जिल्ला सरकारी वकिल कार्यालयले हिरासतमा रहेको लामो समय पछि मुद्दा नचल्ने निर्णय गरेको छ । उनि पनि ठगीमा संलग्न भएको पर्याप्त प्रमाण प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो । उज्वल संलग्न भएको बनेपाका सुरेन्द्र तौजलेले जाहेरी दिएका थिए । अध्यक्ष रविन्द्र श्रेष्ठको बयान र सुरेन्द्र तौजलेको जाहेरीका आधारमा पक्राउ परेका उज्वललाई मुद्दा चलाउनु नपर्ने निर्णय भएको हो । मुद्दा चल्ने र नचल्ने निर्णय गर्ने अधिकार सरकारी वकिल कार्यालयको अधिकार क्षेत्र भित्र पर्दछ । तर पीडित तौजलेले भने सरकारी वकिल कार्यालयले पीडितलाई झनै पीडा दिने गरी निर्णय भएको प्रतिक्रिया दिएका छन् । ‘मलाई पटक पटक उज्वलले रकम दिन्छु भन्दै झुलाए । तर रकम दिएनन । प्रहरीमा जाहेरी पनि दिएँ । उनि पक्राउ पनि परे । कसरी हो उनी उचित कारवाही बीना नै छुटे–तौजलेले भने । 
    प्रहरीले गरेको अनुसन्धानबाट खुलेका केहि तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ । प्रवन्धक अभियुक्त राहुल चौ प्रधानको बयान ः २०७० सालमा बजार प्रतिनिधिका रुपमा काम शुरु गरें । त्यतिबेला मेरो २५ रुपैयाँ तलब थियो । २०७० साल देखि २०७५ साल माघ महिनासम्म हरि बाशिष्ठ अध्यक्ष थिए । २०७५ साल माघ महिना देखि उक्त संस्थाको संचालक समितिमा रविन्द्र श्रेष्ठ निर्वाचित भए । पछि ब्यवस्थापक भएँ । एकैपटक मेरो तलब ४२ हजार ५ सय 
पुग्यो । मलाई २ लाखसम्मको ऋण स्विकृत गर्ने अधिकार प्रत्यायोजन गरिएको थियो । सहकारीले पाँचखालमा शाखा कार्यालय खोलेको थियो । म त्यतिबेलासम्म ब्यवस्थापक थिएँ । २०७९ सालको फागुन महिना देखि संस्थामा समस्या आउन थाल्यो । मैले घरायसी प्रयोजनका लागि उक्त संस्थाबाट २०७८ सालमा २ लाख ५० हजार लिएँ । साँवा ब्याज समेत गरी उक्त रकम अहिले ३ लाख १ हजार ६ सय ९८ पुगेको छ । त्यो बाहेक मैले संस्थाबाट अरु रकम लिएको छैन । 
    अध्यक्ष रविन्द्र श्रेष्ठले पछि सहकारीका नाममा ल्याउने गरी हालका लागि तपाईको नाममा जग्गा नामसारी गर्नु प¥यो भन्दै काभ्रेपलाञ्चोक जिल्लाको जैसीथोक गाविस वडा नम्वर ९ मा रहेको ३–३–२–०, ६–१०–०–१, २–१०–३–३, १–५–३–१,४–६–२–१, १–६–१–३, १–२–३–२ र २–१–२–२ क्षेत्रफलको जग्गा २०७७ भदौ १० पास गरिदिए । अध्यक्ष रविन्द्र श्रेष्ठको एकल निर्णय अनुसार ब्यक्तिगत जमानीमा २ करोड ५० लाख ऋण लगानी गरेका छन् । जग्गा खरिद गरी नामसारी गर्दा सबै रकम संस्थाको खर्च गरिएको छ । जाहेरवालाको बचत गरेको रकम १९ करोड ८७ लाख ५१ हजार ७ सय ७२ रुपैया रविन्द्र श्रेष्ठ एक्लैले चलाएका हुन् । विभिन्न शिर्षकमा बचतकर्ताहरुको २२ करोड रहेको छ । तिर्नुपर्ने नेफस्कुन बनेपाको ७ करोड, राष्ट्रिय सहकारी बैंकको १० करोड छ । उक्त संस्थाबाट कम ब्याजमा ऋण लिदै चर्को ब्याजमा लगानी गर्ने र मनलाग्दी जग्गा खरिद गर्ने गरिएको थियो । 
    अग्नी सहकारी मार्फत बजारमा ३ करोड ५० लाख लगानी रहेको र ३ करोड ५० लाख अध्यक्ष रविन्द्र श्रेष्ठ एक्लैले चलाएका छन् । रविन्द्र श्रेष्ठले बनेपामा रहेको उग्रतिर्थ सहकारी, जय भवानी बचत, नवजीवन कृषि तथा हिकारी लिमिटेड (सातदोवाटो र सुर्यविनायक), रविन्द्र श्रेष्ठको नाममा रहेको ग्राण्ड गुन्डुक रिसोर्ट प्राली, अग्नी आईकोनिक प्रालि र गोल्डेन प्रोपोर्शन इन्भेस्टमेन्ट कम्पन्ी प्राली र केहि रकम जग्गामा समेत लगानी गरेका छन् । २०७० सालमा बुढानिलकण्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नाम र संचालक परिवर्तन गरी हरि बाशिष्ठको अध्यक्षतामा अग्नी बचत शुरु गरिएको थियो । उक्त संस्थाको पुर्व अधिकृत डम्बरध्वज सुब्बाका नाममा एक करोड, पूर्व कोषाध्यक्ष मनकुमार राईका नाममा ४० लाख, पूर्व ब्यवस्थापक शान्तमणी रिजाल (पूर्व संचालक समिति कल्पना श्रेष्ठको श्रीमान्) ३ करोड, पूर्व उपाध्यक्ष कल्पना श्रेष्ठको नाममा ९० लाख, हालको संचालक समितिको सदस्य सुजन लामाको नाममा ३५ लाख, संचालक समिति सदस्य दिनेश बैद्यको नाममा २२ लाख, प्रमुख कार्यकारी अधिकृत लक्ष्मी बस्नेतका नाममा २५ लाख, लेखापाल चण्डिका चौलागाईको नाममा २५ लाख ऋण छ । 
    त्यस्तै सहकारीबाट रोशन चौलागाईको नाममा ८० लाख, ईश्वर किराँत राईका नाममा ५० लाख, विज्ञान राईको नाममा २० लाख, पेस्तोल राईका नाममा ३० लाख, लाख, पेस्तोल राईका नाममा ३० लाख, नुनम सुब्बाका नाममा २० लाख, ज्ञानबहादुर राईका नाममा १५ लाख र नविन पाण्डेले झण्डै २ करोड ऋण लिएका छन् । यो सबै कार्यमा अध्यक्ष रविन्द्र श्रेष्ठले नक्कली बचत, धितो र ब्याज देखाएका थिए । संस्थामा कार्यरत रहेका र माथी उल्लेखित ब्यक्तिका नाममा थप समेत रकम उल्लेख गरी नक्कली ऋणी समेत अध्यक्ष रविन्द्र श्रेष्ठले खडा गरेका थिए । सहकारीमा रामु पाण्डे, भोलनाथ पाण्डे, श्रीराम अधिकारी, गंगालक्ष्मी महाजु र उज्ज्वल बैद्य समेतको जग्गा अग्नी सहकारी मार्फत नेफ्स्कुन बनेपामा शाखामा धितो राखी २५ करोड ऋण निकालिएको थियो । उक्त ऋण निकाल्न रविन्द्र श्रेष्ठले सबै फर्जि कागजात बनाएका थिए । त्यसका लागि नेफ्स्कुनका केहि कर्मचारीहरुले सहयोग गरेका थिए । 
    २०७८ फागुन १६ गते रविन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले नेफ्स्कुनबाट थप ५ करोड ऋण लिन बनेपा १० स्थित कित्ता नम्वर ७८ को १८४.९३ वर्ग मिटर भएको गंगालक्ष्मी महाजु बैद्य र सुजेन्द्र तौजलेको नाममा रहेको जग्गा धितो राखिएको थियो । जग्गाधनी गंगालक्ष्मी महाजु बैद्यका श्रीमान् हुन संचालक समिति सदस्य दिनेश बैद्य । उनकै सहमतिमा ऋण लिएको छ । म राहुल चौ प्रधानका नाममा रहेको कापजी जैसीथोक ९ मा रहेको कित्ता नम्वर ६६१, ६४८, ३५, २१, ३१, २०, ३२, ३९ का जग्गाहरु धितो राखी आईकोनिक सहकारी मार्फत नेफ्स्कुनमा धितो राखी २ करोड ४१ लाख १० हजार ऋण निकालेकोमा लिलाम गरिएको छ । ५ करोड ८६ लाख ३ हजार रुपैयाँमा उक्त जग्गा लिलामी गरिएको छ । मेरो नाममा खरिद गरिएको जग्गा बापत् विदुरबहादुर अधिकारीलाई २०७८ भदौ ९ र १० गते मा भुक्तानी गरिएको थियो ।