जिल्लाभर ५० प्रतिशत नागरिकहरु मात्रै बीमा आबद्ध हुँदा धुलिखेल नगरपालिकाले भने ९९ प्रतिशत नागरिकलाई स्वास्थ्य बीमामा समेटेको छ । धुलिखेल दक्षिण एशियामा पहिलो स्वस्थ शहर हो ।
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका ५० प्रतिशत नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भईसकेका छन् । सरकारले नागरिकहरुलाई स्वास्थ्य बीमामा आबद्ध गराउन नागरिकहरुलाई सहज हुने गरी प्रथम सेवा विन्दु तोकेको भने पनि काभ्रेपलाञ्चोक जिल्लामा बीमा गराउने नागरिकहरुले दैनिक सास्ति ब्यहोर्न बाध्य भएका छन् ।
जिल्लामा सबैभन्दा धेरै नागरिकहरुलाई स्वास्थ्य बीमामा आबद्ध गराउने पालिका धुलिखेल हो । ३३ हजार ७ सय २६ जनसंख्या भएको धुलिखेल नगरपालिकाले ३३ हजार ८५ जनाको बीमा गराएको छ । प्रतिशतका हिसाबले ९८.०९९ प्रतिशत हो । स्वस्थ शहर घोषणा भएको धुलिखेलले नागरिकहरुलाई सहज र पहुँचयुक्त सेवा दिने गरी तत्कालका लागि धुलिखेल अस्पतालसँगको सहकार्यमा अस्पताल परिसरबाट नै स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु रहेर सेवा उपलब्ध गराएको छ । सँग–सँगै नगरपालिकाले उपप्रमुख निराजन जंगमको संयोजकत्वमा नागरिकहरुको स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारीता तथा नयाँ योजनाका बारेमा खाका पेश गर्न समिति गठन गरी तयारी शुरु गरेको छ । ‘साउन २६ गते देखि अस्पताल परिसरबाट शुरु भएको रिफरल सेवाबाट दैनिक २ सय भन्दा धेरै नागरिकहरु लाभान्वित भएका छन्’–स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले भने–‘नागरिकहरुका गुनासा सम्बोधन गर्ने गरी अधिकतम् सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने प्रयत्न गरिएको छ ।’
जिल्लामा सबैभन्दा कम बीमा गर्ने नागरिकहरुको संख्या खानीखोलामा छ । कुल जनसंख्याको ९ प्रतिशत नागरिकले मात्रै स्वास्थ्य बीमा गरेका छन् । विकटताका कारण सबै नागरिकहरुले प्रथम सेवा विन्दु साविकको धुलिखेल, पनौतीको खोपासी र सुन्थानबाट सेवा लिन अपायक हुन्थ्यो । पछिल्लो संशोधित नियमावलीबाट स्वास्थ्य बीमा गरेका नागरिकहरुले तोकिएका र सुचीकृत भएका जुनसुकै स्वास्थ्य संस्थाबाट समेत सेवा लिन सहज हुने बाटो खोलेको छ । यो नियमले महाभारत र खानीखोला गाउँपालिकाका नागरिकहरुले भने सहज पनि हुनेछ । तर तत्कालका लागि जिल्लामा एउटा पनि जिल्ला अस्पताल नभएको र भएको धुलिखेल सामुदायिक अस्पताललाई समेत पहिलो सेवा विन्दुको सूचीबाट हटाए पछि नागरिकहरुले दुःख पाएका छन् । हाल तोकिएका स्वास्थ्य संस्थाहरुमा न पुर्वाधार, न जनशक्ति । न औषधी न त नागरिकहरुको विश्वास नै । कतिसम्म भने आँखाको सेवा दिन नसक्ने स्वास्थ्य संस्थाहरुलाई समेत अनिवार्य रिफर गरिदिनु पर्ने झन्झटिलो र बाध्यात्मक अवस्था सिर्जना गरिदिएको छ ।
स्वास्थ्य मन्त्री प्रदिप पौडेलले काभ्रेपलाञ्चोक जिल्लाका ५० प्रतिशत बीमा गरेका नागरिकहरुको सहजतालाई दुर गराएको गुनासो गरेका छन् । ‘स्वास्थ्य मन्त्री प्रदिप पौडेलले दीर्घ रोगी, नियमित औषधी सेवन गर्ने ब्यक्ति तथा नियमित परिक्षण गर्न जानु पर्ने ब्यक्तिहरुका लागि सहज भन्दा पनि असहज बनाए’–स्थानीय क्षेत्र लामाले भने–‘स्वास्थ्य बीमा कार्यक्रमलाई अझै सहज र सरल बनाउनु पर्नेमा सरकारले दुःख र हैरानी दिएको छ ।’ पनौती नगरपालिकाले पनौतीको खोपासीबाट सेवा दिईरहेको छ । पर्याप्त सेवा दिन नसकेको, सेवा नपाएर नागरिकहरु फर्किएको, रिफरलले काम नगरेको, जनशक्ति नभएको गुनासा त छन् नै त्यो भन्दा धेरै नागरिकहरुले दुःख पाउनु परेको बताईएको छ । सुन्थानमा शुरु भएको सेवा अनिश्चित भएको छ । पाँचखाल नगरपालिकाले अझै शुरु गरेको छैन ।
यहि क्रममा बनेपा र मण्डनदेउपुर नगरपालिकाले यो सेवा शुरु गर्ने सम्झौता गरेका छन् । सम्भवतः भदौ महिनाभर उक्त पालिकाहरुले सेवा शुरु गर्ने छन् । सरकारले घोषणा गरेको ९८ प्रकारको निःशुल्क औषधी यहिबाट उपलब्ध हुनेछन् । त्यहाँ नभएका र सेवा दिन नसकिएको हकमा मात्रै रिफर गरिनु पर्ने सम्झौतामा उल्लेख छ । जिल्लामा धुलिखेल पछि पाँचखाल नगरपालिकाले धेरै नागरिकहरुको बीमा गराएको छ । ३५ हजार ५ सय २१ नागरिकहरु मध्ये १८ हजार ४ सय ७७ अर्थात ७१.३४ प्रतिशत नागरिक बीमा कार्यक्रममा समेटिएका छन् । पनौती तेश्रो पालिका हो । जहाँ ६५.५८ प्रतिशत नागरिकहरुले बीमा गराएका छन् । बनेपामा ६१.६९, मण्डनदेउपुरमा ६०.६१ प्रतिशत नागरिकहरुले बीमा गराएका छन् । नगरपालिकाहरु मध्ये सबैभन्दा कम नमोबुद्धमा ५० प्रतिशत नागरिकहरु मात्रै बीमा कार्यक्रममा समेटिएका छन् ।
त्यस्तै रोशी गाउँपालिकामा ४७.६६, भुम्लुमा ४५.५६, तेमालमा २१.९०, बेथान्चोकमा २३.३३, चौरीमा २०.९५, महाभारतमा १६.५६ प्रतिशत नागरिकहरु बीमा कार्यक्रममा आबद्ध भएका छन् । त्यसको अलावा जेष्ठ नागरिकहरु १३ हजार ५ सय ४०, महिला स्वास्थ्य स्वंसेविका ७ सय १६, टिवीमा २, एचआईभी एड्समा ९४ र अपाङ परिवार ८ सय ५८ जनाको निःशुल्क बीमा गरिएको छ । पैसा तिरेर गर्न सक्ने परिवार जिल्लामा बीमा गरिएकाहरु मध्येबाट ३८ हजार ४ सय ७ रहेको तथ्यांकले देखाएको छ । २ लाख १ हजार ५ सय ७२ नागरिक बीमा कार्यक्रममा समेटिएका छन् ।









