धुलिखेल/धेरै कारोवार भएका ब्यक्ति तथा संस्थाहरु किन धेरै करदातामा परेनन् ? आर्थिक वर्षको अन्त्यसम्म कारोवारको विवरण बुझाएका संस्थाहरुको प्रारम्भिक सूचीमा ति संस्था नदेखिए पछि जिल्लामा चर्चा हुन थालेको छ । विशेषगरी आन्तरिक राजश्व कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोक, दोलखा र रामेछाप समेतलाई हेर्ने गर्छ । चारवटा जिल्लाका उत्कृष्ट करदातामा यि जिल्लाहरुमा कारोवार गरिरहेका संस्थाहरु करको दायरामा आए पनि कारोवार अनुसार कर नबुझाएको देखिएको छ ।
नगरपालिका तथा गाउँपालिकाहरु तर्फ सबै भन्दा धेरै मेलम्ची नगरपालिकाले कर बुझाएको छ । मेलम्चीले ४ करोड ९७ लाख ७७ हजार ८ सय २८ रुपैया कर बुझाएको छ । पनौती नगरपालिकाले ३ करोड १८ लाख ६४ हजार ७६ रुपैयाँ कर बुझाएको छ । इन्द्रावती गाउँपालिकाले २ करोड ६ हजार २ सय ९७ रुपैयाँ कर बुझाएको छ । मण्डनदेउपुर नगरपालिकाले १ करोड ८८ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ कर बुझाएको छ । भुम्लु गाउँपालिकाले १ करोड ३७ लाख ३१ हजार १ सय ३१ रुपैयाँ कर बुझाएको छ । चौतारा–साँगाचोकगढी नगरपालिकाले १ करोड २३ लाख ८२ हजार ३७ रुपैयाँ राजश्व बुझाएको छ । बनेपा नगरपालिकाले १ करोड ११ लाख ९० हजार ६ सय ३ रुपैयाँ राजश्व बुझाएको छ । धुलिखेल नगरपालिकाले १ करोड २ लाख १० हजार ६ सय ७२ रुपैयाँ राजश्व बुझाएका छन् ।
होटलतर्फ नगरकोटमा रहेको कन्ट्रि भिल्लाले धेरै कर तिरेको छ । २ करोड २१ लाख ९४ हजार ३ सय ८९ रुपैया कर तिरेको छ । ५९ लाख ३७ हजार ६ सय ६० आय कर बुझाएको कन्ट्रि भिल्लाले बाँकी भ्याट बुझाएको हो । धुलिखेलमा रहेको हिमालय दृश्यले १ करोड ४८ लाख ११ हजार २ सय ३० रुपैयाँ कर बुझाएको छ । ३२ लाख ८९ हजार ५ सय ४८ रुपैयाँ आय कर बुझाएको हिमालय दृश्यले बाँकी भ्याट रकम तिरेको हो ।
लघुवित्त, सहकारी, निर्माण क्षेत्र, क्रसर तथा अन्य विद्यामा कारोवार गरिरहेका थुप्रै संस्थाहरु कृयाशील छन् । तर आयकर तथा भ्याट बुझाउनमा पनि किन लुकाईरहेका छन् ? आन्तरिक राजश्व कार्यालयले उनिहरुले गरिरहेको कारोवारको सुक्ष्म रुपले अनुसन्धान गरिरहेको बताएको छ । विद्यालय तर्फ साँगाको नेपाल प्रहरी स्कुलले धेरै कर बुझाएको छ भने कलेज तर्फ बनेपाको निस्ट उत्कृष्ट भएको छ । जिल्लामा पुरानो भनिएका, अनुदान लिईरहने तथा धेरै विद्यार्थी दावी गर्ने केहि कलेजहरुले आम्दानी खर्च नै लुकाउने गरेका छन् ।









