2026 May 28/ 11:12: 49pm

बटुप्रसाद न्यौपाने
उपाध्यक्ष
लक्ष्मी प्रतिष्ठान

    मानव शरीर एउटा अत्यन्त जटिल यन्त्र हो । यसको सुसंचालनको लागि आरोग्यता एक अनिबार्य शर्त हो । तर त्यस्तो आरोग्यता कसरी सहि रुपमा प्राप्त गर्न सकिन्छ भन्ने कुराको सय प्रतिशत सहि जानकारी मानव सभ्यताले हाल सम्म एकीनका साथ किटान गर्न सकेको छैन । हालसम्म जे जति कुराहरु जानकारीमा आएका छन् ति पनि स्थान र परिबेश बिशेषमा फरक फरक देखा परेका छन् । एउटा कुरा के चाँहि सत्य हो भने सन्सारको कुनै पनि ठाउँमा जन्मे हुर्केका र बसोबास गरिरहेका कोहि पनि मानिस पूर्ण रुपले निरोगी हुन्छन् भन्ने ग्यारेन्टि छैन । मानिस चाहे जहाँसुकैको होस कुनै न कुनै रोग ब्याधिको चपेटामा परी बिरामी हुन्छन् नै । मानिस बिरामी हुने भएको कारणले नै मानिसले अन्य क्षेत्रको भौतिक बिकासको साथै उपचार पद्धतिको पनि बिकास गरिरहेको छ । यसको बिकास क्रम हजारौ बर्ष अघि देखि चल्दै आएको छ । यो भुमण्डलमा मानिस रहेसम्म रहिरहने छ । मानिस आफ्नो जिवनयात्राको क्रममा अनेकौ किसिमका रोग ब्याधको सिकार हुने गर्दछ । उ रोग लाग्यो भनी हार खाएर आफ्नो जीवनयात्रा बिसर्जन गर्दैन बरु त्यसको सट्टा औषधी उपचारको सहारा लिएर रोग व्याधसँग जुध्दै त्यसलाई हराउँदै अघि बढिरहन्छ । त्यसैले आजको समयमा मानिसलाई रोग लाग्नु र औषधी सेवन गर्नु जीवनचक्रको अभिन्न अंगझै भएको छ । सभ्य मानिसको समाजमा कुनै पनि रोगको औषधी सेवन गरेकै कारण उसलाई हेर्ने दृष्टिकोण, उसलाई गरिने ब्यबहार फरक गर्नु उसको बाँच्न पाउने नैसर्गिक अधिकारबाट बन्चित गरिनु हो भनेर यस्तो गरिदैन र गर्नु पनि हुँदैन ।
    मानिस कति सभ्य छ, कति दयालु छ, कति परोपकारी छ, कति सामाजिक छ र उसमा कति करुणाभाव छ भन्ने कुरा उसले आफुभन्दा फरक विचार राख्ने मानिस, आफु भन्दा गरिब दुःखी अनाथ, बालक बृद्ध र बिरामी मानिस (शारीरिक वा मानसिक)हरु प्रति हेर्ने दृष्टिकोण र गर्ने व्यबहारले निक्र्याेल गर्दछ । आजकाल हाम्रो समाजमा दिन दुःखी, बालक बृद्ध अनाथ र बिरामीहरुको सेवा गर्छु भन्ने मानिस र संघ संस्थाहरु अनगिन्ति छन् । ति सबैले बोल्ने कुरा एउटै हो । सबैले करुणाभावको साथ निस्वार्थ सेवा गर्छु भन्दछन् तर के भने अनुसार उनिहरुको सोचबिचार गर्ने तरिका र गर्ने ब्यबहारले त्यो कुरालाई सत्य प्रमाणित गर्छ त ? प्रश्न यहि हो । हालसम्म मानिसहरुलाई लाग्ने रोग ब्याधका हजारौं प्रकार पत्ता लागेर तिनका औषधि उपचारको पद्धति पनि विकास भैसकेका छन् । ती अनेकौ रोगहरु मध्येको एक हो डिप्रेशन । डिप्रेशन मानसिक रोगका अनेकौ प्रकार मध्येको एउटा रोग हो जुन आज हरेक बर्ग र समुदायका मानिसहरुका बिचमा आक्रमक ढंगले बढिरहेको छ । बिश्व स्वास्थ्य संगठनले गरेको एउटा प्रक्षेपण अनुसार सन २०३० सम्ममा बिश्व जनसंख्याको एक चौथाई मानिसहरु डिप्रेशनबाट पीडित हुनेछन् । यसरी हरेक चारजनामा एकजनालाई लाग्ने अबस्थामा पुगिसकेको यस रोग प्रति सर्ब साधारणहरुलाई शिक्षित गर्नु र यस रोग प्रतिका अस्पष्टताहरुलाई चिर्नु पर्ने दायित्व सबै स्वास्थ्यकर्मीहरु, समाजसेवीहरु सरकारी तथा गैह्रसरकारी संघ संस्था लगायत हरेक शिक्षित मानिसहरुको काँधमा आईसकेको छ ।
    डिप्रेशन एउटा मानसिक रोग हो, यसका बिभिन्न चरणहरु हुन्छन्, यो बाल बृद्ध युवा जोसुकैलाई पनि लाग्न सक्छ तर सहि किसिमले उपचार गर्न सके अरु रोगहरु जस्तै यो पनि पुर्ण रुपले निको हुन्छ । यति कुरा जान्दा जान्दै पनि हाम्रो समाज डिप्रेशनको नाम लिन डराउँछ । उ डिप्रेशन भन्ने बित्तिकै मानसिक असन्तुलन भएको अर्थमा लिएर डिप्रेशन लागेको वा त्यसको उपचारको लागि औषधि सेवन गरिरहेको कुरा बिरामी ब्यक्ति स्वयम् खुलेर बताउन सक्दैन र समाजले पनि पीडित ब्यक्ति एउटा रोग लागेको मानिस हो, उ उपचार पछि पुर्ण रुपमा निको भएर अरु ब्यक्तिहरु सरह सामान्य जिवन यापन गर्न सक्छ भन्ने यथार्थ कुरा आत्मसात नगरी उसप्रति फरक ब्यबहार देखाउँछ । यौटा रोगी मानिसलाई सहानुभूती, माया, यथोचित सहयोग र सम्मान दिनुको सट्टा उसलाई सामान्य गतिविधिमा समेत सामेल नगराउने, कुनै रचनात्मक कामको जिम्मेवारी नदिने र अझ धेरैजसो अबस्थामा डिप्रेशनको बिरामी व्यक्ति आफ्नो जिम्मेवारी निभाईरहेकै अवस्थामा समेत उक्त रोग लागेको थाहा हुने बित्तिकै बिरामीलाई अस्वस्थ, असक्षम, अल्छि, औषधि खाईरहेको आदि नाना किसिमका लेबल भिराएर जिम्मेवारीबाट अलग्याउँछन् । बिरामी मानिसलाई माया साथ समर्थन र यथोचित सम्मान दिनुपर्ने सभ्य एवं विवेकशील मानिसले निभाउनु पर्ने कर्तव्यको सट्टा उसलाई हेलाहोचो गरि अनेकौ अपशब्द समेत प्रहार गरि उसको मानसिक स्वास्थ्यमा थप आघात पु¥याउँछन् ।
    यसरी बिरामीलाई नानाथरीका लेवल लगाउने र फरक अनि नकारात्मक ब्यबहार गर्नाले के त्यो बिरामी यथासमयमा निको भएर आफ्नो जीवन सहज रुपमा जिउन सक्ला ? अझ त्यस्तो नराम्रो ब्यबहार स्वास्थ्यकर्मी र परोपकारमा शेवारत ब्यक्तिहरुबाट हुन जाँदा यसबाट एउटा सभ्य समाजको निर्माण अभियानमा कस्तो असर पर्ला वा कस्तो सन्देश प्रवाह होला ? अनि आफ्नो परिवार भित्र त्यस्तो मानसिक बिरामी ब्यक्ति छ भने त्यो बिरामीको साथै परिवारजनमा कति नराम्रो असर पर्न जाला ? के शिक्षित र सचेत ठानिएका हामीहरुले यस सम्बन्धमा एक छिन निधार खुम्च्याएर सोच्ने र समाजमा खुल्ला बहस गर्न सकेका छौ ? हाल सम्मको अबस्थालाई हेर्दा त्यसो हुन सकेको छैन । यसको परिणाम बिरामी मानिस म डिप्रेशनको बिरामी हुँ र डाक्टरको नियमित निर्देशनमा औषधि उपचार गरिरहेको छु भनेर समाजमा खुल्ला रुपले बोल्न नसकि समाजबाट अलग्याईएला भन्ने डर मनमा पालेर भित्र भित्रै कुण्ठित हुन बाध्य हुन्छन् र पुर्ण रुपमा स्वास्थ्यलाभ पनि गर्न सक्दैनन् । साथसाथै डिप्रेशनको बिरामी भएको परिवारजन पनि त्यस्तै मनोबैज्ञानिक दबाब र तनावमा रहन बाध्य हुन्छन् । 
    डिप्रेशनको बिरामीहरु दुई किसिमका हुन्छन् । एकथरी बिरामीहरु आफुलाई डिप्रेशनको रोग लागेको थाहा पाउँछन् र स्विकार पनि गर्दछन् । उनिहरु खुल्ला रुपमा आफुलाई डिप्रेशनको बिरामी हुँ भनेर भन्न नसके पनि उपचार गरी स्वस्थ हुने चाहना राखी डाक्टर र मनोपरामर्सदाताको सहयोग लिन पुग्दछन् र नियमित औषधि सेवन गरी परामर्स शेवा समेतको उपयोग गर्दछन् । अर्काथरी बिरामीहरु आफुलाई डिप्रेशनको रोग लागेको भन्ने बित्तिकै मानसिक असन्तुलनको अबस्था भएको अर्थमा बुझ्न पुग्छन र आफ्ना सबल पक्षहरुलाई हेरेर त्यसैको वकालत गर्दै डिप्रेशन भएको कुरा स्विकार गर्दैनन् । यहाँनिर के कुरा स्मरणयोग्य छ भने डिप्रेशनका बिरामीहरु आफ्ना सबै शिप र कौशलमा कमजोर हुन्छन भन्ने कुरा हैन, उनिहरुमा डिप्रेशनको बेलामा पनि कति राम्रा क्षमताहरु बिद्यमान हुन सक्छन् । जो डिप्रेशन भएको कुरा स्विकार गर्छन् उनिहरु आफु एक्लै वा परिवारको सहयोगमा उपचारको प्रकृयामा संलग्न हुन्छन् र बिस्तार बिस्तारै निको पनि हुँदै जान्छन् । जो डिप्रेशन भएको कुरा स्विकार गर्दैनन् उनिहरु उपचारको प्रकृयामा लाग्नु त के कुरा डिप्रेशन शव्द समेत सुन्न चाहँदैनन् । फलस्वरुप उनिहरु आफु पनि पिडित हुन्छन् र परिवारजन न हेरी छाड्नु न गरी पु¥याउनुको अबस्थामा पुगेर पिडित हुन बाध्य हुन्छन् । जब उपचारको प्रकृयामा संलग्न हुदैनन् भने निको हुने हैन दिन प्रतिदिन रोग बड्दै जाने, निराशाको मात्रा बड्दै जाने र कतिपय अबस्थामा आत्मघात गर्नुका साथै त्यस्ता बिरामी आत्महत्या समेत गर्न पुग्दछन् ।
    अन्त्यमा, डिप्रेशनको बिरामीमा पनि अरु मानिसहरु सरह बाँचेर सहज जिवन जिउने रहर हुन्छ । उनिहरु यो कुरा प्रष्ट शब्दमा बोलेर अभिब्यक्त गर्न सक्दैनन् । उनिहरुलाई लाग्छ कि कोहि पनि उनिहरुलाई बुझ्रदैनन् । तर पनि उनिहरु अनेक किसिमका प्रत्यक्ष र अप्रत्यक्ष कुराकानी र ब्यबहारहरुबाट आफु डिप्रेशनबाट पिडित भईरहेको र त्यसबाट मुक्त हुन सहयोगको अपेक्षा गरिरहेको कुरा जनाईरहेका हुन्छन् । यदि नजिकका परिवारजनले, समाजले र स्वास्थकर्मीहरुले समयमै उनिहरुका अपेक्षित गुहार लाई समयमै बुझिदिने, यथोचित माया दिने, उपयुक्त सल्लाह सुझाव र सहयोग दिई डिप्रेशनबाट पुर्णरुपमा मुक्ति सम्भव छ भनि प्रोत्साहन गर्ने र डिप्रेशनमा हुनु कुनै अपराध नभएकोले आफु डिप्रेशनमा भएको कुरा खुला रुपमा गर्ने ब्यक्तिलाई सम्मान सहितको ब्यबहार गरी भरोसा दिलाउन सके उसको यस सुन्दर धर्तिमा स–सम्मान बाँच्ने र अरुलाई पनि सहयोग गर्ने ईच्छा पुरा हुन सक्छ । त्यसो हुँदा ब्यक्ति आफै, परिवार, समाज र सारा मानव सभ्यता एक स्तर माथि उठेर धन्य हुन सक्छ । अस्तु ।