बनेपा/दुई दशकदेखी अमेरिकाको सहयोगमा बनेपाको शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालले महिलाहरुको आङ खस्ने समस्याको उपचार गर्दै आएको छ । उपचारलाई सहज र सरल तथा अझै परिस्कृत बनाउन धुलिखेलमा विभिन्न देशका विशेषज्ञहरु सहितको गोष्ठी आयोजना गरिएको छ ।
अस्पतालले अमेरिकाको सहयोगमा हरेक वर्षको तीन पटक निशुल्क शिविरको आयोजना गरी आङ खसेका महिलाहरुको निशुल्क परिक्षण गर्ने र समस्या भएका महिलाहरुलाई अस्पतालमा ल्याई उपचार गरी फर्काउने गरेको छ । अस्पतालले उपचारका लागि ल्याउने, लैजाने र अस्पतालमा रहँदा समेत आवश्यक सुविधा उपलब्ध गराउँदै महिलाहरुको उपचारमा सहजता ल्याउने गरेको छ । बार्षिक २ सय भन्दा धेरै महिलाहरुले उक्त सेवाबाट लाभ लिईरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । ‘यसअघि निःशुल्क शिविर र शिविर पछि उपचार मात्रै गर्दै आएका थियौं’–अस्पतालकी डा. अन्जना अधिकारीले बताईन–‘अब उपचार सँगै जनचेतना पनि फैलाउने अभियानमा छौं ।’ महिलाहरुले कम उमेरमै विवाह गर्ने, बच्चा जन्माउने तथा गहुँङ्गो भारी बोक्ने र खानपानमा ध्यान नदिँदा आङ खस्ने समस्याबाट पीडित हुने गरेका छन् ।
ग्रामिण भेगका महिलाहरुमा देखिएको यो समस्या पछिल्ला समय शहरी क्षेत्रका महिलाहरुमा पनि देखिने गरेको छ । महिलाहरुमा आङ खस्ने रोगको समस्या भए पनि रोग तीन दशक भन्दा लामो समय देखि लुकाई राख्दा समाजमा मुख देखाउनै गाह्रो भएको अनुभव सुनाउने गरेका छन् । आङ खस्दा महिलाहरुको योनीबाट सेतो गन्हाउने पानी बग्ने, ढाड दुख्ने, बस्दा गाह्रो हुने, काम गर्न असजिलो हुने जस्ता समस्या देखिन्छन् । समयमै उपचार हुन सकेन भने क्यान्सर समेत हुने गरेको छ । अस्पतालले आङ खस्नै नदिन जनचेतना फैलाउने र खसिसकेको आङको उपचारबाट ठिक गराउने दुबै अभियान शुरु गरेको बताएको छ । गोष्ठीको उद्घाटन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मीनरसिं बादेले उद्घाटन गरेका थिए । स्वास्थ्य ब्यक्तिको पहिलो धन भएकाले महिलाहरुलाई हरेक क्षेत्रबाट सक्षम र स्वस्थ बनाउन शुरु गरिएको यो अभियानलाई नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख बादेले बताए ।
धुलिखेलमा आयोजना गरिएको गोष्ठीमा नेपाल, जर्मनी, नेदरल्याण्ड, अमेरिकाका विशेषज्ञ प्रोफेसर डाक्टरहरुको सहभागिता रहेको थियो । प्रोफेसर डा. गिता गुरुङ्ग, डा. अन्जना अधिकारी, डा. अरुणा उप्रेती, डा. लाईस हर्मसेन, डा. सुमिन लि, डा. थोमस हेजिमिर, डा. सहिन्दा भुजु, डा. तारा लगायतले आङ खस्ने समस्यामा विशेषज्ञहरुको भूमिकाका बारेमा जानकारी गराएका थिए ।





