2026 April 30/ 01:05: 57pm

एक वर्षमा १३ करोड
    धुलिखेल/शिक्षा कार्यालय र शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयमा बेरुजुको पहाड चुलिएको छ । अघिल्लो वर्षमा भएको बेरुजु फछ्र्याैट हुनुभन्दा करोडौै रकम बेरुजु थपिनुमा शिक्षा कार्यालयको सफलता देखिएको छ । 
    शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङ्गले शिक्षा कार्यालयमा बसेर भन्दा होटल तथा रेस्टुँरा बसेर गरेको निर्णयले वितरण गरेको सबै रकम बेरुजुमा देखिएको छ । माध्यमिक शिक्षा तर्फको छात्रवृत्ति कक्षा ९ र १० मा अध्ययन गर्ने गैरआवासीय विद्यार्थीहरुको बार्षिक १ हजार ७ सयका दरले वितरण गरिएको २६ लाख ८२ हजार ६ सय रुपैयाँको बेरुजु देखिएको छ । उक्त रकम कुन कुन विद्यालयका कति विद्यार्थीहरुलाई वितरण गरिएको हो खुलेको छैन । लोपोन्मुख जातिका बालबालिकाहरुलाई दिवा खाजा बापत प्राप्त हुने ६५ विद्यालयका १३ सय २७ विद्यार्थीहरुको दैनिक १५ रुपैयाँको दरले ३५ लाख ८२ हजार ९ सय रकम पनि बेरुजु देखिएको छ । कुन विद्यालयका कति विद्यार्थीहरुका लागि उक्त रकम वितरण गरियो ? दिवा खाजा खान पाउने विद्यार्थीहरु को को हुन् ? शिक्षा कार्यालयमा कुनै तथ्याङ्क छैन । कुल बजेट २५ करोड ९२ लाख २३ हजार २ सय ६ रुपैयाँमा डा. गुरुङ्गको ७ करोड ७९ लाख २७ हजार ५ सय बेरुजु देखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा डा. दिपेन्द्र गुरुङ्ग शिक्षा अधिकारी थिए भने नानीबाबु केसी लेखा प्रमुख थिए । 
    शिक्षा कार्यालय र परिवर्तित शिक्षा विकास तथा समन्वय इकाई कार्यालय समेत गरी आर्थिक वर्ष २०७४÷०७५ मा ४१ करोड ६ लाख ३५ हजार ८ सय ४३ रुपैयाँ २१ पैसाको कुल बजेटमा १२ करोड ९९ लाख ८ हजार ८५ रुपैयाँ बेरुजु देखिएको छ । शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयको जिम्मेवारीमा रहेका फटिकबहादुर केसी, डिकबहादुर राई र लेखा प्रमुख नानीबाबु केसीले खर्च गर्न पाउने कुल बजेट १५ करोड १४ लाख १३ हजार ६ सय ३७ रुपैयाँ थियो । उक्त बजेट मध्ये २५ विद्यालयको ४ कोठे भवन, ३७ वटा विद्यालयको २ कोठे भवन, ८१ वटा विद्यालयको मर्मत, ६० वटा विद्यालयको शौचालय मर्मत गरेको ६ करोड १५ लाख ७५ हजार निकासा गरेको मध्ये पहिलो र तेश्रो किस्ताको बेरुजु देखिएको छ । ५ करोड १८ लाख ७५ हजार बेरुजु रहेको उक्त शिर्षकमा कुन विद्यालयको काम भयो कि भएन ? के आधारमा भुक्तानी गरियो ? कागजात कुनै छैन । श्रोत ब्यक्ति मार्फत ४४ हजार कार्यक्रम संचालनका नाममा ८० हजार ६ सय जस्ता थुप्रै शिर्षकमा बेरुजु उल्लेख गरिएको छ । 
    त्यस्तै महालेखा परीक्षकको कार्यालयबाट खटिएको लेखापरिक्षण गर्ने टोलीले जिल्लाका सबै कार्यालयहरुको लेखा परिक्षण सम्पन्न गरिसकेको छ । लेखापरिक्षणमा देखिएका कैफियतहरु सच्याउन ३५ दिनको समय सहितको प्रतिबेदन बुझाएर टोली राजधानी फर्किएको छ । स्थानीय तहमा विगतका गाउँ विकास समितिहरु रहँदैको समयका हिसाव किताहरु बेरुजु देखाईएको छ भने जनप्रतिनिधिहरुले कानुन निर्माण नगरी लिएको बैठक भत्ताहरुको रकम पनि बेरुजु देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेको २० लाख २८ हजार बेरुजु देखिएको छ । कार्यक्रमको नाम नै परिवर्तन गरेर रकम खर्च गरेको, खर्च गर्दा विधि र प्रकृया नपु¥याईएको जस्ता टिप्पणी प्रतिवेदनमा उल्लेख गरिएको छ । स्थानीय तह मध्ये चौरी देउराली गाउँपालिकामा जनप्रतिनिधिले भत्ता लिएको ३ लाख १ हजार बेरुजु देखाईएको छ भने सामाजिक सुरक्षा भत्तामा २० जनाले दोहोरोे सुविधा लिएको भन्दै बेरुजु देखाईएको छ । चौरी देउराली गाउँपालिकाले ६० नम्वर प्राप्त गरी उत्तम गाउँपालिकाका रुपमा नम्वर प्राप्त गरेको छ । धुलिखेल नगरपालिकाले ६५ नम्वर प्राप्त गरेको छ ।