बनेपा/अरनिको राजमार्गको साँगा देखि धुलिखेल खावासम्मको सडक फराकिलो सँगै सुन्दरता बनाउने अभियान शुरु भएको छ । सडक विभाग, बनेपा र धुलिखेल नगरपालिकाले सडक फराकिलो बनाउन भएका अतिक्रमण हटाउँदै सुन्दर बनाउन शुरु गरेका छन् ।
बनेपा नगरपालिकामा पटक पटक भएको छलफलबाट सडक फराकिलो बनाउने अभियान शुरु भएको थियो । साँगाको गेट र सडक सिमाना भित्रका घरहरु भत्काउन शुरु भएपछि स्थानीयहरुको सहयोगमा सडक सफा गर्ने काम शुरु भएको छ । जिल्ला बन कार्यालय र सडक विभागको समन्वयमा साँगा देखि धुलिखेल सम्मको २५ वटा रुख काट्ने तयारी भएको छ । सुर्यविनायक देखि धुलिखेलसम्म ४५ वटा रुख काट्ने बन विभागले सडक विभागलाई अनुमति दिएको छ । साँगा देखि धुलिखेलसम्म सरकारी रुखहरु २ हजार १ सय ४८ क्युफिट हटाउने तयारी भएको जिल्ला बन कार्यालय काभ्रेका प्रमुख बद्री कार्कीले जानकारी दिए । सडक विभागले आफ्नै खर्चमा कटान मुछान तथा ढुवानी गरी उत्पादन भएका बन पैदावारहरु जिल्ला बन कार्यालयलाई बुझाउनु पर्नेछ । उक्त क्षेत्रका घरहरुहरु हटाएसँगै रुख, विजुली र टेलिकमका पोलहरु, खानेपानीका पाईपहरु हटाउने कार्य शुरु भएको छ ।
सर्वपक्षिय भेलाले सडकको सुन्दरता बढाउने निर्णय गरेको थियो । नगर प्रमुख लक्ष्मीनरसिं बादेले बनेपा क्षेत्रको फुटपाथ ब्यवस्थापन र सडक सिमा भित्रका सबै अतिक्रमण हटाउँदै ब्यवस्थित र सुन्दरता बनाउन शुरु गरिएको बताए । प्रजिअ कृष्णबहादुर राउत, सडक विभाग भत्तपुरका प्रमुख, एसपी रविराज खड्का, उपप्रमुख रेखा सापकोटा, वडाअध्यक्षहरु लगायतको उपस्थितीमा २६ गते देखि उक्त कार्य शुरु भएको हो । बनेपा सकिए लगत्तै उक्त कार्य धुलिखेल हुँदै खावासम्म शुरु हुनेछ ।
डम्पिङ्ग साईटलाई समिति
बनेपा नगरपालिकामा संकलन हुने फोहोरको ब्यवस्थापनका लागि दिगो रुपमा समाधान गर्ने गरी जग्गा ब्यवस्थापन गर्ने निर्णय भएको छ । प्रवक्ता श्याम सुन्दर श्रेष्ठका अनुसार जग्गा ब्यवस्थापनका लागि ६ सदस्यीय समिति गठन भएको छ । समितिमा संयोजक वडा अध्यक्ष गौरी राउत रहेका छन् । वडा नम्वर १४ का अध्यक्ष राउतको अध्यक्षतामा गठित समितिमा वडा नम्वर १२ का अध्यक्ष रामबहादुर कुँवर, वडा नम्वर १० का अध्इक्ष चन्द्रबहादुर खड्का, ११ का अध्यक्ष शिवकुमार थापा, इन्जिनियर सुरेश श्रेष्ठ, बरिष्ठ राजश्व अधिकृत ध्रुर्वराज नेपाल सदस्य रहेका छन् ।
त्यस्तै नगर कार्यपालिकाको बैठकले नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा नगर शिक्षा समिति गठन गरेको छ । समितिमा उपप्रमुख रेखा सापकोटा दाहाल उपाध्यक्ष, पदेन सदस्य प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमीरे, वडा अध्यक्ष रामबहादुर कुँवर, कार्यपालिका सदस्य प्रमिला पाण्डे, विद्यालयका प्रधानाध्यापक महेश लामिछाने, तुलप्रसाद दाहाल, शिक्षिका शुशिला बादे, शिक्षासेवी यादव थापा, कमला कायश्थ, विकास रम्तेल, शिक्षक महासंघ अध्यक्ष, चन्द्रबहादुर खड्का रहेका छन् । सदस्य सचिव शिक्षा शाखाका शिवराज त्रिपाठी रहेका छन् । संस्थागत विद्यालयबाट रत्नकुश रञ्जित, सामुदायिक विद्यालयका अध्यक्षहरुबाट २ जना पछि मनोनित गरिने नगरपालिकाले जनाएको छ ।





