2026 April 30/ 11:45: 50am

‘चेष्टा’ को गौरवपूर्ण रजत वर्ष

गोविन्द आचार्य
केन्द्रीय अध्यक्ष
नेपाल पत्रकार महासंघ

    चेष्टा साप्ताहिक प्रकाशन भएको २५ वर्ष पूरा भएको छ । यो हामी सबैको लागि खुशीको कुरा हो । कतिपय पत्र पत्रिकाहरु प्रकाशन हुन्छन् एक दुई वर्षमा बन्द हुन्छन् । तर चेष्टा साप्ताहिक मात्र यस्तो पत्रिका रह्यो जुन प्रकाशन भए पछि निरन्तर रुपमा बन्द नभई २५ वर्ष पार गर्न सफल भएको छ । यस अवसरमा पत्रिकामा आबद्ध सम्पूर्णमा हार्दिक आभार प्रकट गर्न चाहन्छु । शुभकामना दिन चाहन्छु । अझ प्रगतिको कामना गर्न चाहन्छु । 
    कुनै पनि पत्रिकाहरु निरन्तर रुपमा चल्नु पनि धेरै खुशीको कुरा हो । अहिले नेपालमा ९ सय ४० वटा पत्रपत्रिकाहरु दर्ता छन् । २ सय टेलिभिजन दर्ता भएका छन् । १ हजार ३ सय अनलाइन दर्ता छन् । ७ सय ५० वटा रेडियो छन् । नेपालजस्तो सानो देशमा यति धेरै मिडिया दर्ता भएर चल्न सक्छ कि सक्दैन भन्ने बहस एकातिर छ भने अर्काेतिर संचार माध्यमलाई कसरी टिकाउने भन्ने समस्या तपाई हाम्रो सामु छ । अर्काेतिर संचार माध्यममा काम गर्ने श्रमजीवीहरुले नियुक्ति पत्र पाएका छैनन्, तलब पाएका छैनन् । धेरै जसो संचारमाध्यममा श्रमजीवी पत्रकार ऐन लागू भएको छैन । तर चेष्टा साप्ताहिक साप्ताहिक भएर पनि यति ठूलो टिम हामीले देखेका छौं । सबैले हामीले पारिश्रमिक पाएका छौं भन्नु भएको छ । मलाई सम्झना छ चेष्टा साप्ताहिकले श्रमजीवी पत्रकार ऐन अनुसार न्युनतम पारिश्रमिक तोकेपछि हामी लागू गर्छाै भनेर घोषणा गरेको थियो । यसरी नियमित रुपमा चल्दा खुशी नहुने कुरा भएन । नियमित कमाएर भन्दा पनि लगानीका हिसावले चेष्टामा हाम्रो सामु अशोककुमार व्याञ्जु मेयर भन्दा पनि प्रकाशक सम्पादकको रुपमा अगाडि हुनुहुन्छ । उहाँले मिडियामा गरेको लगानी जनताको चेतना बढाउनको लागि काम लाग्छ । आर्थिक नाफा र घाटाको लागि होइन भन्ने धारणा उहाँले राख्नुभएको छ । अहिले संचार क्षेत्रको कुरा गर्ने हो भने हामी राजनैतिक रुपमा त सिंहदरबारको अधिकार गाउँमा ल्यायौं भन्छौं तर संचार क्षेत्रमा कुनै पनि परिवर्तन भएको छैन । संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था भयो भने संचार क्षेत्रको मुद्दा पनि सम्बोधन हुन्छन् संचार क्षेत्र स्वतन्त्र उपभोग गर्न पाउँछौं भनेर यो व्यवस्था स्थापना गर्न भूमिका खेलेका थियौं । अब फेरी पत्रकारहरु राजनीतिमा बाँडिनु त्यति जरुरी छैन । अब देशको आर्थिक समृद्धि र विकासको मुद्दामा सहयोग गर्नु छ भने विकासका समाचारहरु, समृद्धिका समाचारहरु, गाउँ जनताका आवाजहरु हामीले प्रवाह गर्नु पर्छ । अब पनि फेरी हामी राजनैतिक रुपमा यो पार्टी त्यो पार्टी भनेर हिँड्यौ भने जनताको अवस्था जस्ताको त्यस्तै हुन्छ । जनताको अधिकार र राष्ट्रको हित बाहेक पत्रकारिता बाहिर जान सक्दैन । पत्रकारिता गलत ढंगले गर्नु हुदैन । पत्रकारहरुले कसैलाई अनावश्यक दबाव दिएका छन्, बार्गेनिङ गरेका छन्, पत्रकारिताको नाममा कालो काम गरेका छन् भने पत्रकार महासंघले ठाउँको ठाउँ कारवाही गर्न म अनुरोध गर्दछु । 
    पत्रकारिता आचार संहिता अनुरुप पत्रकारिता गर्न हुन आम संचारकर्मीहरुलाई अनुरोध गर्दछु । पत्रकारिता भनेको समाजमा भएको गलत कृयाकलापलाई बाहिर ल्याउनु र समाज प्रति उत्तरदायित्व बहन गर्नु हो । पत्रकार र पत्रकार महासंघलाई अझै शशक्त र जनताकै पक्षमा उभ्याउन हामिले देशका विभिन्न भागमा जनताको नजरमा पत्रकारीता भन्ने अभियान लिएर हिडेका छौं । काभ्रेमा पनि हामी छिट्टै आउने छौ । पाथिभरा अनलाईनले प्रधानमन्त्रीका बारेमा प्रकाशन गरेको समाचार पछि पत्रकारितामा बढ्दो अपराध कर्म छर्लङ्ग भएको छ । त्यस्तालाई कारवाही हुन्छ । हामी संरक्षण गर्र्दैर्नाै । एउटा बोरामा एउटा आलु कुहिदैमा सबै आलु कुहिएको हुँदैन । सबै पत्रकार खराव छैनन । केहि पत्रकार खराव हुँदैमा सबै पत्रकार खराव छैनन र हुन सक्दैनन । त्यसो भनेर पत्रकारितालाई बद्नाम गर्ने र आफ्नो अपराध कर्मलाई फस्टाउन खोज्ने तत्वहरुको पनि समयमै खोजविन जरुरी छ । हामी समाजका ऐना हौं । समाजलाई सम्वृद्ध बनाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका छ । पत्रकार महासंघ यस्तो अवस्थामा शशक्त पत्रकारिताका लागि चेष्टा साप्ताहिकलाई शुभकामना दिन चाहन्छ । हामी खुशी छौं । चेष्टाले विगतका दिनमा जस्तै आगामी दिनमा पनि समाज प्रतिको उत्तरदायित्व बहन गरोस् । शुभकामना र बधाई दिन चाहन्छु । साथै चेष्टा साप्ताहिक टिम प्रति आभार ब्यक्त गर्दछु ।