भकुण्डेबेशी/नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रम प्रदेश सांसद् चन्द्र लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी लामाले समाजमा देखिएका भन्दा नदेखिएका हिंसा बढी रहेको बताउँदै हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । महिला सशक्तिकरणका लागि आफ्नो तर्फबाट विगतमा पनि पहलकदमी भएको र आगामी दिनमा पनि सक्रियतापूर्वक लागिपर्ने लामाले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले महिला सशक्तिकरणका कुरामा नमोबुद्ध नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनु भयो । गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उनले उद्यमशिलतालाई जोड दिनुपर्ने बताउनु भयो । महिलामैत्री, वातावरणमैत्री नगर बनाउन नीति तथा कार्यक्रममार्फत कार्ययोजना तयार पारेर कार्यान्वयनमा गएको तिमल्सिनाले बताउनु भयो । त्यसैगरी उपप्रमुख एवं नगरपालिकाको न्यायिक समिति संयोजक रामदेवी तामाङले हिंसामा परेका महिलालाई संरक्षणका लागि नगरपालिका क्रियाशिल भएको बताउनु भयो । रुने होइन संघर्ष गर्दै अघि बढ्ने समय आएको भन्दै उनले आफूले एकल महिला, हिंसापीडित महिलाका लागि विशेष अभियानसहित अघि बढेको बताउनुभएको थियो । लैंगिक हिंसामुक्त नगर बनाउने अभियान थालिएको जानकारी पनि नगर प्रमुख तामाङले दिनुभयो ।
तामाङले हिंसापीडित महिलाका लागि सेफ हाउस संचालन गरिएको, महिलाहरुका लागि विभिन्न तालिमसहित आय–आर्जनका कार्यमा सहयोग पु¥याउन अग्रसरता लिइएको उनले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अधिकारमा आधारित विकासको अवधारणाअनुसार काम गर्नुपर्ने समय आएको र नगरपालिकामा हिंसाविरुद्धको सशक्त अभियान सुरु भएको पनि बताउनु भयो ।
कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेमा लैंगिक हिंसाको अवस्था, हिंसापीडित महिलाका लागि कानुनी उपचारको व्यवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष रामशरण हुमागाईं, वडा नम्बर ४ का अध्यक्ष एवं न्यायिक समिति सदस्य उद्धवप्रसाद काफ्ले, नगरपालिकाका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख एवं नगरस्तरीय सामाजिक विकास समितिका सदस्य सचिव जनार्दन रिजाल, खनालथोक महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवकी खनाल, नगरस्तरीय महिला सहकारी सञ्जालका अध्यक्ष राधिका तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरु सञ्जीव ढकाल, रामकृष्ण उपाध्याय लगायतको उपस्थिति थियो । कार्यक्रम नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनुवारले सञ्चालन गर्नुभएको थियो ।
लैंगिक हिंसाविरुद्धको अवसरमा बालकालिकाहरुसँग अन्तक्रिया
बनेपा/बनेपा नगरपालिकाको आयोजनामा लैगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बालक्लबका सदस्यहरु विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख अतिथ्यतामा भएको थियो । प्रमुख अतिथी दाहालले नगरपालिकाको चौतर्फी विकासका लागि र हिंसा न्यूनीकरणका लागि महिलाहरु अझै अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाले सबै वर्ग, क्षेत्र लाई समेट्दै अगाडी बढाउदै लागिएको दाहालले बताउनु भयो । महिलाहरुका लागी सिप सिकाई, बालबालिकाहरुलाई उनिहरुको क्षमता अनुसारको कार्यक्रम, छात्रहरुको लागी निःशुल्क प्याड वितरण, बाल क्लब गठन गरिएको बताउनु भयो ।
कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतिले हिंसा भन्ने वित्तिकै महिलालाई मात्र भन्ने बुझाई रहेको हुदाँ सबै त्यो सब त्याग्नुपर्ने बताउनु भयो । बालबालिका आफ्नै आफन्तबाट असुरक्षित भएका छन् त्यसतर्फ सबै सचेत भई हिंसा रोक्न लाग्नुपर्ने बताउनु भयो । नगरपालिकाले जनप्रतिनीहरु सँग समन्वय गरी हिंसा अन्त्यका लागी चेतनामूलक कार्य गर्दै आएको उप्रेतिले बताउनु भयो ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा अधिकृत विजया सुवेदी, निरीक्षक निर्मला कार्की, कार्यपालिका सदस्य लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा बालबालिकाहरुले कोभिड–१९ ले पारेको असरका बारेमा सोधेका थिए । त्यसैगरी लैगिंक हिंसा सम्बन्धि गरिएको बक्तृत्वकला कार्यक्रममा उत्कृष्ट बालबालिकाहरुलाई पुरस्कार वितरण गरिएको थियो ।





