2026 May 14/ 08:22: 58pm

मोतीराम तिमल्सिना
धुलिखेल

    सरकारले ल्याएको गुठी सम्बन्धी विधेयकको विरोधमा आन्दोलन चर्किए पछि रोकिएको गुठी जग्गा सम्बन्धी समस्या समाधान भन्दा बल्झिन थालेको छ । केहि क्षेत्रका ब्यक्तिहरुले सरकारको उद्देश्यलाई गलत रुपले ब्याख्या गरी गुठी जग्गा सम्बन्धी भएका समस्यालाई झनै संकटतर्फ उन्मुख गराएका छन् । सरोकारवालाहरुसँग छलफल गरी सरकारले पुनः अर्काे विधेयकको तयारी गरेको छ । देशभर भएको समस्या जिल्लामा पनि टड्कारो बनेको छ । 
    जिल्लामा ८१ वटा गुठी कायम छन् । ८१ वटा गुठीमा १० हजार १ सय ६५ कित्ता जमिन छ । झण्डै ५ हजार भन्दा धेरै गुठी जग्गाका मोहि छन् । स्थानीय सरकार र गुठी संस्थान बीच समन्वय अभाव हुँदा गुठीमा रहेका जग्गाहरु अतिक्रमण भईरहेका छन् । झण्डै २ हजार ७ सय रोपनी जमिन गुठी जग्गामा रहेको छ । गुठीमा रहेको जग्गाबाट बार्षिक गुठी संस्थान काभ्रेले १ करोड ९७ लाख ४८ हजार ३ सय ५२ रुपैयाँ संकलन गर्दै आएको छ । गत वर्ष लकडाउनका कारण लामो समय कार्यालय बन्द रहेका कारण ५३ लाख रुपैया राजश्व संकलन गरेको छ । गुठीका मोहिहरु बर्षाै जग्गाको कुत बुझाउन आउने गरेका छैनन । जग्गा किनबेच हुने अवस्था, बैकमा धितो राख्नु परेको अवस्था तथा कुनै प्रयोजनका लागि राजश्व बुझाएको रसिद आवश्यक भए पछि मात्रै गुठीको जग्गा हुनेहरु राजश्व बुझाउन आउने गरेका छन् । जिल्लामा तैनाथी गुठीको जग्गा अतिक्रमणमा परेको छ । 
    राजगुठी र निजी गुठी दुई प्रकारका छन् । राजगुठी अन्र्तगत अमानत गुठी र छुट गुठी छन् । जिल्लाको धेरै समस्या रहेका अधिकांश गुठीहरु मध्ये बनेपाको चण्डेश्वरी गुठी, पलाञ्चोक गुठी लगायत छन् । चण्डेश्वरी गुठीका गुठीयाहरुले जग्गामा घर निर्माण गरि बसिसकेकाले आफ्नै नाममा हुनुपर्ने माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । तर विद्यमान कानुनले उनिहरुले निर्माण गरेको घर ब्यक्तिको हुने ब्यवस्था छैन । विद्यमान कानुनले घर बनाएर बसेका ब्यक्तिहरुले चर्चेको ८ आना जग्गा ब्यक्तिलाई दिन सकिने ब्यवस्था छ । मठ मन्दिरका नाममा रहेको जमिन भने कसैको नाममा दर्ता गर्न मिल्दैन । मठ मन्दिरमा रहेका गुठीयार, खान्किदार र रकमीहरुलाई काम गरेसम्म खान पाउने गरी जग्गा ब्यवस्थापन गरिएको थियो । त्यहि जग्गा भाडामा लगाएर ब्यवसाय गरिहेको अवस्था छ । स्थानीयहरुले त्यसको पनि विरोध गर्दै आएका छन् । 
    काभ्रेमा सबै भन्दा धेरै जग्गा भएको गुठी हिटिचोक सदावर्त हो । जसका नाममा ६ सय १० रोपनी १३ आना २ पैसा ३ दाम जमिन छ । दोश्रो रामभक्तेश्वर हो । रामभक्तेश्वरका नाममा ३ सय ४९ रोपनी ८ आना ३ पैसा जमिन छ । तेश्रो तीन धारा पाकशाला ब्राम्हण भोजन गुठी हो । जसका नाममा २ सय ४९ रोपनी १० आना २ पैसा जमिन छ । पलाञ्चोक दमयन्ता देवी श्राद्ध गुठीका नाममा १ सय १८ रोपनी ३ आना ३ पैसा ३ दाम जमिन रहेको छ । पलाञ्चोक भगवतीकै नाममा १ सय ६८ रोपनी ११ आना १ पैसा जमिन रहेको छ । चण्डेश्वरी माई गुठी बनेपाका नाममा ३८ रोपनी ४ आना ३ पैसा १ दाम रहेको छ । जिल्लामा रहेका विशेष स्थानहरु अधिकांशका नाममा जमिन रहेको छ । बनेपाको चण्डेश्वरीमा बाजा बजाउनेहरुका लागि अलग्गै गुठीको जग्गा राखिएको छ । २१ रोपनी १४ आना ३ पैसा ३ दाम जमिन चण्डेश्वरीमा बाजा बजाउनेहरुका लागि राखिएको छ । पलाञ्चोक भगवतीमा नगर्ची खान्गी गुठीका नाममा ९ रोपनी ३ आना जमिन राखिएको छ । नाला भगवतीमा बाजा बजाउनेहरुका लागि कुश्ले खान्गीका नाममा ३६ रोपनी १३ आना जग्गा राखिएको छ । चण्डेश्वरी माई सेवा गुठीका नाममा २ रोपनी, चण्डेश्वरी माई सुसारे खान्गीका नाममा ६ रोपनी, चण्डेश्वरी महादेवका नाममा ७५ रोपनी र चण्डेश्वरी माई पुङ्गा खान्गी गुठीका नाममा १० रोपनी १२ आना जमिन रहेको छ । समग्र चण्डेश्वरी क्षेत्रमा मात्रै ८० रोपनी जमिन छ । उक्त जमिनका बारेमा सर्वसाधारणलाई चासो र जानकारी पनि छैन । हरेक वर्ष चण्डेश्वरी मन्दिरको संरक्षण, ब्यवस्थापन र पुर्ननिर्माणका लागि रकम विनियोजन हुँदै आएको छ भने भने जात्रा ब्यवस्थापनका लागि गुठी संस्थानका अलावा बनेपा नगरपालिकाले समेत रकम विनियोजन गर्दै आएको छ । स्थानीयहरुले गुठीका नाममा भएको जग्गा संरक्षण गर्नु पर्ने आवाज उठाउँदै आएका छन् । 
    त्यस्तै धुलिखेलमा सरस्वती ५ देवता गुठी, भगवती नगुरा गुठी, धुलिखेल भगवती, गौखुरेश्वर महादेव, धुलिखेल ब्रम्हायणी, नवदुर्गा गुठी, शेष नारायण, धारा पाटी गुठी रविगाउँ, शंखेश्वर महादेव गुठी, आकाश भैरव नौ बाजा गुठी, हरिसिद्धी गुठी, भिमसेन गुठी, श्वेत गणेश गुठी चौकोट, गौखुरेश्वर स्वयम्भु महादेव गुठी लगायत रहेका छन् । बनेपामा चण्डेश्वरी, धनेश्वर, जलेश्वर, नाला उग्रचण्डी, नासिका साँगा, तीनधारा, भिमसेन गुठी भैसेपाटी, नारायणस्थान भजन गुठी लगायत छन् । पनौतीमा इन्द्रेश्वर महादेव भजन गुठी, इन्द्रेश्वर महादेव गुठी, पुर्णेश्वर महादेव खोपासी लगायत छन् । पाँचखालमा पलाञ्चोक लगायतका गुठीहरु छन् । नमोबुद्धमा कोट तिमाल कालिका, भगवती माई फुलबारी छन् । हरेक स्थानीय तहमा रहेका गुठी जग्गाहरुको अवस्था, गुठीमा बनेका संरचना र जग्गाका मोहिहरुको अवस्था, मठ, मन्दिर तथा धार्मिक, सांस्कृतिक अवस्थाका बारेमा समेत स्थानीय सरकारहरुले चासो राख्न सकेका छैनन । 

परम्परा धान्दै, संस्कृति जोगाउँदै
    गुठी संस्थान मार्फत जिल्लाका केहि महत्वपूर्ण जात्राहरुको ब्यवस्थापनका लागि रकम उपलब्ध हुने गरेको छ । हालको चलनचल्तिको मुल्य भन्दा संस्थानले उपलब्ध गराउने रकम थोरै हुन जान्छ । तर पनि खर्चको मितब्ययिता अपनाउने र संस्कृतिलाई निरन्तरता दिने अभियानमा स्थानीयहरु सक्रिय हुँदै आएका छन् । बैशाख १ गते हुने विस्केट जात्राका लागि बनेपाको साँगा, धुलिखेल, श्रीखण्डपृुुर, चौकोट लगायतका स्थानमा संस्थानको सहयोग छ । पलाञ्चोक भगवती, धुलिखेल भगवती, इन्द्रेश्वरमा रथ जुधाउने जात्रा, नाला भगवतीको जात्रामा संस्थानको सहयोग छ । संस्थान आफैले मण्डनमा रहेको महाकालेश्वर गुठी र दक्षुटोल गुठीको जग्गा भाडामा लगाउने र त्यसबाट प्राप्त आम्दानी यस्तै कार्यमा खर्च गर्दै आएको छ । आम्दानी भन्दा धेरै खर्च हुने संस्थानले पनि गुठीको जग्गा संरक्षण गर्न सकेको छैन ।     
    गुठी संस्थानले गुठी रैतान नम्बरी जग्गाको जग्गावाला र गुठी जग्गाका मोहीका सम्बन्धमा हदबन्दी सम्बन्धी कानुन अनसार गुठी जग्गा र सरकारी रैकर जग्गा दुबैको हिसाब गरी हदबन्दी कायम गर्दै आएको छ । गुठी तैनाथी हुने जग्गा राजगुठी र संस्थानको हित विपरित कुनै व्यक्तिले कुनै किसिमले बन्दोबस्तीमा लिएको भए गुठी संस्थान ऐन, २०२१ लागू भएपछि बन्दोबस्ती पाएको त्यस्तो हक अधिकार स्वतः समाप्त भई त्यस्तोमा संस्थान र राजगुठीको हक र स्वामित्व पुनः कायम हुनेछ । गुठी संस्थान ऐन, २०२१ लाई प्रतिस्थापन गर्दै गुठी संस्थान ऐन, २०३३ जारी भएपछि  सार्वजनिक हित र प्रयोजनको लागि स्थापना गरिएका गुठीहरूको राज गुठी, छुट गुठी र निजी गुठी भनी वर्गीकरण ग¥यो । ती गुठीहरूको छुट्टै प्रशासन, व्यवस्थापन र गुठीका सम्पत्तिहरूको लगत राख्न र सम्पूर्ण चल अचल सम्पत्तिको संरक्षण गर्नको लागि स्वायत्त संस्था गुठी संस्थानको स्थापना गरेको हो । 
    विभिन्न देवी देवताका नाममा जात्रा पर्व, पूजा परम्परा सञ्चालन गर्ने हेतुले वा सार्वजनिक हित प्रर्वद्धनका लागि कुनै सन्त महन्त, दानी व्यक्ति वा राजा महाराजाहरूले सनद सवाल जारी गरेर अथवा दानपत्र, बकस पत्र खडा गरी राखिएका विभिन्न राजगुठीहरुको सञ्चालन, व्यवस्थापन गर्ने र गुठीयारहरुले राखेका पारिवारिक र निजी गुठीहरूको लगत राख्ने प्रमुख दायित्व, जिम्मेवारी र अधिकार समेत गुठी संस्थानलाई दिएको छ । गुठी जग्गाको कुत बुझ्ने जिम्मेवारी समेत गुठी संस्थानमा नै छ । राज गुठीहरूको सञ्चालन, व्यवस्थापन, गुठीको चल, अचल सम्पत्तिको संरक्षण र निजी गुठीहरूको लगत राखी निरन्तर नियमन समेत गर्ने मुख्य दायित्व भएको गुठी संस्थान राजश्व संकलन गरी परिचालन गर्न समेत असफल हुँदै आएको छ । 
    नेपाल सरकारको नाममा दर्ता भइसकेको जग्गा समेत कुनै अमुक गुठीको नाममा दर्ता गरी व्यक्ति विशेषको नाममा गुठीको मोही कायम गर्ने, गुठीको स्वामित्वमा रहेका जग्गाहरूको गुठी रैतानी नम्बरी कायम गर्ने निर्णय गरी गुठीको अस्तित्व नै समाप्त पार्ने, विभिन्न ऐेतिहासिक गुठीको लगत भित्रका जग्गाहरू (फिल्डबुकमा गुठीको नाम कायम भएका समेत) खोजी सम्बन्धित गुठीको नाममा दर्ता गर्न अग्रसर नहुने, गुठी संस्थानको एकलौटी स्वामित्व हुने गुठी तैनाथी जग्गामा समेत अमुक व्यक्तिहरूलाई नयाँ मोही खडा गरी (गराई द्वैध स्वामित्व कायम गराउने, गुठीको नाममा रहेका घर जग्गा, बर बगैँचाको उचित व्यवस्थापन नगर्ने, विभिन्न गुठीका महन्तहरूद्वारा गुठीको सम्पत्तिको दोहन, दुरुपयोग र गैरकानुनी बिक्री वितरण गरेको पुष्टि हुँदा समेत गुठीका महन्त पुजारीहरूलाई कानुन बमोजिमको कारबाही गर्न अग्रसर नहुने, निजी गुठीहरूको लगत राख्ने र नियमन गर्ने कानुनी दायित्वबारे बेखबर रही निजी गुठी मस्यौट भएको अनदेखा गर्ने जस्ता समस्या देखिएका छन् ।