बनेपा/काभ्रेमा रहेको प्राइम एफएम १०४ दशमलव ५ मेगाहर्जले रेडियो कक्षा सञ्चालन गरेको छ । कोरोना भाइरसका कारण विद्यालय सञ्चालन हुन नसकेको विषम परिस्थितिमा शिक्षा विकास निर्देशनालय बागमती प्रदेश र युनेस्को काठमाण्डौंसँगको सहकार्यमा प्राईम एफएम बनेपाले हरेक दिन विहान १० बजेदेखी १२ बजेसम्म कार्यक्रम “रेडियो पाठशाला” सुरु गरेको हो ।
रेडियो कक्षामा ७ देखी १० कक्षासम्मको सामाजिक अध्ययन, अंग्रेजी, नेपाली र विज्ञान विषय गरी चारवटा विषय अध्यापन हुने गरेको छ । बिहान १०ः०० बजेदेखी १०ः३० सम्म कक्षा ७, १०ः३० देखी ११ः०० बजेसम्म कक्षा ८, ११ः०० बजेदेखी ११ः३० सम्म कक्षा ९ र ११ः३० बजेदेखी १२ बजेसम्म कक्षा १० को कक्षा सञ्चालन हुने गरेको छ । देशका ४० भन्दा बढी जिल्लामा पहुँच रहेको प्रदेशस्तरीय रेडियो मार्फत सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुने एफएमले विश्वास लिएको छ । अडियो, भिडियो मार्फत सञ्चालित कार्यक्रम चाहेको बेलामा जुनसुकै ठाउँमा रहेर पनि हेर्न तथा सुन्न सकिनेछ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड– १९ को संक्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेको छ । चैत ११ गतेदेखी सुरु भएको लकडाउन अर्थात् बन्दाबन्दी लम्बिँदै जाँदा अब कहिले खुल्छ भन्ने निश्चित नभएपछि रेडियो कक्षा सुरु गरिएको हो । लकडाउनका कारण ७० लाख बालवालिका विद्यालय खुल्ने प्रतिक्षामा छन् भने ४ लाख ८२ हजार ७ सय ७ जना एसईईको पर्खाइमा छन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चैत ६ गतेबाट सुरु हुने एसईई परीक्षा सरकारले कारण चैत ५ गते बेलुकी स्थगित गर्ने निर्णय गरिएको थियो ।
लकडाउन नभएको भए यो समयमा भर्ना अभियान लगभग सकिएर विद्यार्थी नियमित रुपमा विद्यालय शिक्षा लिइरहेका हुने थिए । तर अहिले सबै शैक्षिक संस्था बन्द छन् । यो क्रम कहिलेसम्म रहन्छ भन्ने टुंगो छैन । कतिपय विद्यालयले अनलाइन कक्षा पनि सञ्चालन गरेका छन् । तर सबै ठाउँमा इन्टरनेटको पहुँच नपुगेको, शिक्षक, अभिभावक र विद्यार्थी नयाँ प्रविधिमा पोख्त नभएको लगायतका कारण अनलाइन कक्षा सोचेजती प्रभावकारी बन्न सकेको छैन । तर सबैको सहज पहुँच पुग्ने रेडियो कक्षा भने आम विद्यार्थीको लागि सबैभन्दा उपयोगी हुने विश्वास गरिएको छ । शिक्षा विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक चन्द्रप्रसाद लुइँटेलले लकडाउनका कारण आम विद्यार्थी, अभिभावकमा परेको मनोवैज्ञानिक असर कम गर्नका लागि वैकल्पिक माध्यमको रुपमा रेडियो, टेलिभिजन, अनलाइन मार्फत कक्षाहरु सञ्चालनमा ल्याईएको जानकारी दिए । विद्यालयहरु लामो समयदेखी बन्द रहेको र अब कहिले खुल्छ भन्ने समेत टुंगो नहुँदा वैकल्पिम माध्यमहरु अघि नसार्ने हो भने विद्यार्थीहरुमा अबको भविष्य के हुने, कसरी सिकाई गर्ने, कस्तो तयारी गर्ने भन्ने विषयले मनोवैज्ञानिक असर पर्नसक्ने उनले बताए । लकडाउन सकिने वित्तिकै पनि अन्य बेला जस्तो विद्यालयहरु नियमित सहज रुपमा सञ्चालन हुने सम्भावना कम रहेकाले प्रभावकारी वैकल्पिक माध्यमहरुको आवश्यक रहेकोमा उनको जोड छ । त्यसका लागि शिक्षासँग सम्बन्धित विभिन्न सरकारी, गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरिरहेको निर्देशक लुइँटेलको भनाई छ । टेलिभिजन, इन्टरनेट लगायतको पहुँच नपुगेका दुरदराजका सबै ठाउँका बालबालिकासम्म शिक्षा पुर्याउन रेडियो मार्फत कार्यक्रम सुरु गरिएको निर्देशक लुइँटेलले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष तथा चण्डेश्वरी मावि बनेपाका शिक्षक श्यामप्रसाद पाण्डेय लकडाउनको बिचमा पनि शिक्षक र विद्यार्थीसँग भर्चुअल माध्यमबाट छलफल रहिरहेको बताउँछन् । जिल्लामा अधिकांश विद्यालयहरुले फोन, सामाजिक सञ्जाल लगायतका माध्यम मार्फत नतिजा प्रकाशन गरिसकेको उनले बताए । बाँकी विद्यालयको नतिजा यो हप्ताभित्र प्रकाशन गरिसक्ने उनले जानकारी दिए । फोन, अनलाइन, रेडियो, टेलिभिजन लगायतका माध्यमबाट शिक्षा प्रदान गर्ने विषयमा छलफल भइरहेको बताउँदै रेडियो कक्षा सबै ठाउँको लागि उपयुक्त हुनसक्ने अध्यक्ष पाण्डेयले बताएका छन् । विषयगत शिक्षकहरुले हरेक दिन कक्षा लिईरहेका छन् ।









