बनेपा/लकडाउन अवधिमा समेत निर्माण क्षेत्रको कार्य सूचारु गर्ने गरी निर्माण सामाग्री ओसार पसारका लागि ढुवानी सहज बनाउने निर्णय सँगै जिल्लामा पूर्वाधार निर्माणले गति लिएको छ ।
जिल्ला संकट ब्यवस्थापन केन्द्रको आयोजनामा सम्पन्न बैठकले निर्माण कार्य अगाडी बढाउन स्थानीय सरकारले समन्वय गरी सहजीकरण गर्ने निर्णय गरिएको थियो । बैठकको अध्यक्षता गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संघ र प्रदेश सरकारले सामाजिक दुरी र सुरक्षा अपनाउँदै आयोजना तथा योजनाहरुको कार्य सुचारु गर्ने ब्यवस्था मिलाउन निर्देशन दिए लगत्तै जिल्ला स्थित स्थानीय सरकारका प्रमुखहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु, निर्माण क्षेत्रका ब्यवसायीहरु सम्मिलित बैठक आयोजना गरी निर्माण कार्य सूचारु गर्ने विषयमा छलफल गरी निर्णय गरेको बताउनु भयो । ‘जिल्ला भित्र र बाहिर पनि ढुवानीलाई सहज बनाउने गरी निर्णय भएको छ’–प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले भन्नुभयो–‘जिल्ला भित्रका लागि स्थानीय सरकारको अनुमतिका आधारमा र जिल्ला बाहिरका लागि जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने छ ।’ उक्त अनुमति प्राप्त ढुवानीका सवारी साधनहरु जिल्ला भित्र विहान ११ बजे देखि १ बजेसम्म र बेलुका ७ बजेदेखि १० बजेसम्म र जिल्ला बाहिर जानका लागि बेलुका ७ बजे देखि राति ११ बजेसम्म संचालन गर्ने गरी ब्यवस्था मिलाईएको छ । सोहि ब्यवस्था अनुसार रोकिएका विकास निर्माण सँगै ब्यक्तिले निर्माण गरिरहेका संरचनाहरु निर्माण हुन थालेका छन् ।
बैठकले क्रसर उद्योगमा काम गर्ने कामदारहरुको स्वास्थ्य परिक्षण सम्वन्धित पालिकाको स्वास्थ्य शाखाले अनिवार्य रुपमा गर्ने, विकास आयोजनाका निर्माण सामाग्री विशेष गरी ढुङ्गा, गिट्टी, बालुवा ढुवानी र उत्पादन गर्दा स्थानीय रुपमा सम्वन्धित पालिका प्रमुख तथा सम्वन्धीत वडाका अध्यक्षले सहजीकरणको ब्यवस्था मिलाउने, निर्माणजन्य सामाग्री ढुवानीका लागि सुरक्षा ब्यवस्था र सामाजिक दुरी कायम गरी नदीजन्य र खानीजन्य सामाग्रीको आपूर्तिका क्रसर ब्यवसायी संघ काभ्रेले सहजीकरण गर्ने, जिल्लामा सञ्चालित महत्वपूर्ण सरकारी आयोजनाहरु, स्थानीय तहका आयोजनाहरु र अन्य आयोजनाहरुको निर्माण कार्यलाई निरन्तरता दिने निर्णय गरिएको छ ।
बैठकमा प्रदेश सभा सदस्यहरु रत्न ढकाल, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु लगायत स्थानीय सरकारका प्रमुखहरु, सरोकारवाला निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । जिल्लाका महत्वपूर्ण आयोजनाहरु काभ्रे एकिकृत खानेपानी, लाकुरी भञ्ज्याङ्ग पनौती नमोबुद्ध सडक, तिनपिप्ले बोहोरेदोभान सडक, दोलालघाट चौरी गुरासँे सडक, हिगुवापाटी नगरकोट सडक, काभ्रे भन्ज्याङ्ग दाप्चा सडक लगायतका महत्वपूर्ण योजनाहरु छन् भने स्थानीय सरकारका थुप्रै महत्वपूर्ण आयोजनाहरु छन् । निर्माण ब्यवसायी संघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ्गले जिल्लामा झण्डै एक करोड भन्दा माथीका ९ सय योजनाहरु अलपत्र परेको बताउनु भयो । समस्या नै समस्याका बाबजुत तत्काल २५ प्रतिशत योजनाहरु निर्माण कार्य सूचारु गर्न सकिने उहाँले बताउनु भयो । बागमती टिपर ब्यवसायी संघका अध्यक्ष प्रेम लामाले टिपर चलाउन स्थानीयहरुले अवरोध गरिरहे पनि समन्वय गरेर सूचारु गर्ने प्रयास भएको बताउनु भयो । मजदुरहरु घर फर्किएका र तत्कालै फिर्ता गर्न सम्भव नभएकाले पहिलाकै गतिमा विकास हुन नसक्ने घिसिङ्गले बताउनु भयो । समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले सबै आयोजनाहरुको अधुरा कार्यलाई पूरा गर्ने गरी समन्वय भईरहेको बताउनु भयो ।









