धुलिखेल/धुलिखेल अस्पतालमा आईतबारबाट कोरोना संक्रमण सम्वन्धी परिक्षण शुरु भएको छ । पहिलो चरणमा साताको दुई दिन मात्रै कोरोना संक्रमणको परिक्षण हुनेछ । एक दिनमा ९० जनाको परिक्षण हुने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झाले बताउनु भयो ।
पिपिई, परिक्षण किट लगायतका सामाग्रीहरुको ब्यवस्थापनका लागि पहिलो चरणमा साताको दुई पटक मात्रै परिक्षणको ब्यवस्था मिलाईएको हो । संक्रमणको अवस्था हेरेर परिक्षणको अवधि बढाईने छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार बागमती प्रदेश सरकारले उक्त रोगको परिक्षण र उपचारका लागि धुलिखेल अस्पताललाई नगरपालिका मार्फत २० लाख उपलब्ध गराई सकिएको छ । सामाजिक विकास मन्त्रालयले नगरपालिकाको खातामा उक्त रकम पठाई सकेको झाले बताउनु भयो । अस्पतालका संस्थापक एवं काठमाडौं विश्वविद्यालय स्कुल अफ साईन्सका डिन डा. राजेन्द्र कोंजुले अस्पतालमा आईतबारबाट उक्त परिक्षण शुरु गरिएको बताउनु भयो । यसअघि राजधानी र आसपासका क्षेत्रबाट समेत राजधानीको टेकुमा मात्रै परिक्षण गरिदै आएको थियो । धुलिखेल अस्पतालमा परिक्षण शुरु भएपछि सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, दोलखा, काभ्रे र भक्तपुरका केहि क्षेत्रका नागरिकहरुको परिक्षणमा सहज हुनेछ ।
विदेशबाट फर्किएका र केहि शंकास्पद ब्यक्तिहरुको स्वाब परिक्षण गरिएको धुलिखेल अस्पतालका डा. निरन्जन भुसालले जानकारी दिनुभयो । अस्पतालले थोरै सामाग्रीका बाबजुत परिक्षण शुरु गरेको संस्थापक डा.राजेन्द्र कोंजुले जानकारी दिनुभयो । अस्पतालमा परिक्षणका लागि आवश्यक ब्यवस्थापन सहित आईसोलेसन वार्ड तयारी गरी विरामीहरुको उपचार भईरहेको डा.कोँजुले बताउनु भयो । ‘टेकु र धुलिखेल अस्पतालमा रियलटाईम पिसिआर परिक्षणहुनेछ’–डा.भुषालले भन्नुभयो–‘परिक्षणको चार घण्टामा रिपोर्ट सार्वजनिक गर्न सकिन्छ ।’ यो उच्चस्तरको जाँच हो । अस्पतालले सिमीत साधन र श्रोतका बाबजुत पहिलो दिन ११ जनाको परिक्षण पछि बुधबार मात्रै परिक्षण गरिएको हो । विहान १२ बजे अगावै आईसकेका ब्यक्तिहरुको मात्रै परिक्षण गरिने डा.भुषालले जानकारी दिनुभयो । यसअघि अस्पतालले ७ जना शंकास्पद ब्यक्तिहरुको स्वाब टेकु पठाएको थियो । सबै स्वाबको रिपोर्ट नेगेटिभ आएको थियो ।
‘संकट ब्यवस्थापन केन्द्र’ गठन
कोरोना भाईरसको संक्रमणको रोकथाम, ब्यवस्थापन र नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको संयोजकत्वमा संकट ब्यवस्थापन केन्द्र गठन भएको छ ।
कमिटीले संक्रमणको आशंका गरिएका ब्यक्तिहरुको उद्धार गरी सम्बन्धित स्थानमा पठाउन सहयोग गर्नेछ । कमिटीमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी र नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु सल्लाहकार रहनु भएको छ । यसअघि गठित कमाण्ड पोष्टका सदस्यहरु सुरक्षा निकायका प्रमुखहरु कमिटीमा सदस्य रहनु भएको छ । नेपाली सेना विष्णु दल गणका प्रमुख सेनानी सुबास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्याल, सशस्त्रका एसपी पुरुषोत्तम थापा, राष्ट्रिय अनुसन्धानका सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, धुलिखेल अस्पतालका डा. सुमन ताम्राकार रहेका छन् ।









