2026 July 06/ 02:43: 45pm

धुलिखेल/कोरोना संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारले तेश्रो पटक थप गरेको लकडाउन अवधिमा जिल्लाबासीहरुका लागि खाद्यान्न र अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति ब्यवस्थापनमा सहजीकरण गर्न विभिन्न निर्णयहरु भएका छन् । 
    सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाको अध्यक्षतामा बसेको बैठकमा बनेपा, धुलिखेल, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुखहरु, विष्णुदल गण, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, धुलिखेल उद्योग बाणिज्य संघ, काभ्रे उद्योग बाणिज्य संघ, घरेलु कार्यालय लगायतको सहभागिता रहेको बैठकले दैनिक उपभोग्य बस्तुहरु खाद्यान्न, तरकारी, फलपूmल, दुधजन्य पदार्थ तथा ग्याँसको नियमित आपूर्तिको ब्यवस्था गर्न उद्योग बाणिज्य संघहरुले पहल गर्ने, उपभोग्य बस्तुहरुको भण्डार अद्यावधिक राख्ने र भण्डारणमा कमी हुन नदिने, अत्यावश्यक बस्तुको विक्री वितरण गर्दा जोखिम कम हुने गरी सामाजिक दुरी कायम गर्ने, कृतिम अभाव सिर्जना गरी कालोबजारी हुन नदिन अनुगमनलाई तिब्र बनाउने, एलपिजी ग्याँस र पेट्रोलियम पदार्थको दैनिक स्टकको रेकर्ड राख्ने र दैनिक उपभोग्य एवं अत्यावश्यक सामाग्रीहरु नियमित आयात तथा ढुवानीमा समस्या भए प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित संकट ब्यवस्थापन केन्द्रमा सहजीकरण गर्ने निर्णय गरेको छ । 

क्वारेन्टाईनका सबै घर फिर्ता
    पनौती नगरपालिका वडा नम्वर १२ रोशी घर भएकी ५० बर्षीया मधु तामाङको चैत्र २२ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनका आफन्त र छोरी सुकुमाया तामाङ लगायत बहराईनबाट चैत्र ६ गते नेपाल आएका थिए । कोरोनाकै संक्रमणले निधन भएको हुन सक्ने आशंकामा मधुको निधन पछि १० जनालाई धुलिखेल नगरपालिकाको क्वारेन्टाईनमा राखिएको थियो । कोरोना नभएको पुष्टी भए सँगै क्वारेन्टाईनमा राखिएका १० जनालाई नै घर पठाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । त्यस्तै धुलिखेल अस्पतालमा कोरोना आशंकामा एक जना ब्यक्ति आईसोलेसनमा राखिएको छ । उनि चैत्र ८ गते भारतबाट घर फर्किएका थिए । सिन्धुली घर भएका २२ बर्षिया युवकको स्वाब परिक्षण बुधबार गरिनेछ । 
    धुलिखेल अस्पतालमा शुरु भएको कोरोना संक्रमणको परिक्षणको क्रममा पहिलो दिन आईतबार १७ जनाको परिक्षण गरिएकोमा सबै जनामा संक्रमण नभएको पुष्टि भएको छ । मण्डनदेउपुर नगरपालिकामा १ जना क्वारेन्टाईनमा राखिएको छ । फागुन ३० पछि विदेशबाट फर्कनेहरुको संख्या २ सय ५१ जना छ । जिल्लाका १३ वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाईनहरुको संख्या २ सय बेडको छ भने अन्य निर्माण भईरहेको छ । लकडाउनको पूर्ण कार्यान्वयनका लागि घर बाहिर नआउन प्रशासनले आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।