कुन तहको कस्तो छ तयारी ?
हरेक पालिकाहरुले कोभिड १९ का बारेमा सुचना सामाग्री बनाई प्रचार प्रसार गरेका छन् । बिद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, अनलाईन, पत्रपत्रिका, रेडियो एफ.एम तथा सामाजिक सञ्जालबाट प्रचार प्रसार, एम्बुलेन्स तयारी अवस्थामा, बिपद् व्यवस्थापन समितिको बैठक, सबै स्थानियतहहरुमा सिआरआरटी गठन, बिदेश बाट फर्किएका मानिसहरुलाई स्वास्थ्य निगरानी, स्वास्थ्यकर्मीहरुलाई किरिया बिदा र प्रसुति बिदा बाहेक अरु बिदामा बस्न स्वीकृती नदिएको, हरेकपालिकामा औषधीहरु तयारी अवस्थामा राखेको, पालिकाहरुले हातधुने साबुन र स्यानिटाइजर उपलब्ध गराएको, कुनै पालिकाले हेल्थ डेक्समा खटिने कर्मचारीहरुलाई ७५% सम्म प्रोत्साहन भत्ता र महिला स्वास्थ्य स्वंवसेविकाहरुलाई एक हजार प्रतिदिनको दरले दिने निर्णय गरेका छन् ।
धुलिखेलमा हटलाईन र क्वारेन्टाईन
विश्वभर फैलिरहेको कोभिड १९ (कोरोना भाईरस) नियन्त्रण तथा रोकथाम गर्न स्थानीय सरकारहरु सक्रिय भएका छन् । स्थानीय सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरी पूर्व तयारीमा जुटेका छन् । नागरिकका लागि हर्टलाईन, विपद कोषमा आर्थिक ब्यवस्थापन, आईसोलेसन, क्वारेन्टाईन र उपचारसम्मको तयारीमा जुटेका हुन् ।
धुलिखेल नगरपालिकामा नगरपालिका भित्र र नगरपालिका बाहिरबाट नगरपालिका भित्रने क्रममा हुन सक्ने सम्भावित क्षेत्रहरुमा सुरक्षा अपनाउँदै स्वास्थ्य सुरक्षाप्रति संवेदनशिल हुने वातावरण बनाउन सतर्क रहने विषयमा विभिन्न निर्णयहरु गरी कार्यान्वयनमा जुटेको प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । ‘आम नागरिकलाई सचेत सुरक्षित र संयमित रहन, संघीय तथा प्रदेश सरकारका निर्णयहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न, अत्याबश्यक बाहेकका पसल तथा बजार बन्द गर्न, यातायात क्षेत्रमा भिडभाड नियन्त्रणका लागि अनुरोध गर्दछांै’– नगर प्रमुख ब्याञ्जुले बताउनु भयो –‘क्वारेन्टाइन सेवाका लागि समुदाय तथा होटल, बिद्यालयका भवनहरु तथा अन्य उपयुक्त स्थानहरु प्रयोग गर्ने, चोक चोकमा मानिस जम्मा हुन नदिन जनप्रतिनिधि, प्रहरी तथा सरोकारवाला निकायबाट अनुगमन तथा सन्देश प्रवाह गर्ने, अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह नगर्ने, सवै स्थानिय तहले अत्याबश्यक अबस्था बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन सुचना प्रवाहका लागि अनुरोध गर्दर्छाै ।’
भिडभाड हुने सेवाप्रवाह गर्ने संस्था तथा निकायहरुमा भिड नियन्त्रण गर्न अनुरोध गर्ने, अत्यावश्यक सामानको आपूर्ति ब्यबस्था सहज गराउन समन्वय गर्न नगरपालिकाले अनुरोध गरेको छ । नागरिकलाई कुनै प्रकारको संकट आईलागेमा नगरपालिकाले प्रयोग गरेको हटलाईन १६६०११४९३२९ मा खबर गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
बनेपामा जिम्मेवारी बाँडफाँड
बनेपा नगरपालिकाले कोरोना भाईरसबाट बच्न नगरबासीहरुलाई सचेत गराउन विभिन्न प्रचार प्रसारका कार्यक्रमहरु गर्ने, घनाबस्ति क्षेत्रमा थुप्रिएका फोहोरहरु उठाउने हटाउने, फोहोरका सवारी साधनहरु आएको समयमा मात्रै फोहोर घरबाट निकाल्न नगरबासीहरुलाई अनुरोध गर्न निर्णय गरेको छ ।
ब्यापारीक फर्म तथा संघसंस्थाहरुले आफ्ना ब्यापारीक, निर्माण तथा अन्य प्रकारका बस्तुहरु सार्वजनिक आवागमनमा असर नपर्ने गरी सुरक्षित राख्न, बनेपा नगरपालिका क्षेत्र भित्र धेरै मानिसहरुको जमघट हुने समारोह नगर्न अनुरोध गर्ने निर्णय गरेको छ । नगर प्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा बसेको बैठकले सबै होटल, पसल र यातायातका साधनहरु नचलाउन अनुरोध गर्ने, नागरिकहरुलाई घर भित्रै बसेर सेवा लिन र दिन अनुरोध गर्ने, बनेपा भित्र रहेका पार्टी प्यालेस, स्कुल तथा सामाजिक संघ संस्थाहरुको भवनहरुलाई प्रयोगमा ल्याउन तयारीमा अवस्थामा राख्ने निर्णय गरेको छ । विपद् आएको अवस्थामा उद्धारमा जुट्न, उपचारमा कृयाशिल हुन र नागरिकलाई हत्तोत्साही नहुन आब्हान गर्ने निर्णय गरेको छ ।
त्यसअघि उपप्रमुख रेखा सापकोटा दाहालको अध्यक्षतामा बसेको बैठकमा नगर भित्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बैठकले बनेपाको शिर मेमोरियल अस्पताल भित्र आईसोलेसन वार्डको स्थापना गर्न, अस्थायी शिविर बनाउनु पर्ने अवस्था आए पोलिटेक्निक स्कुलको फुटबल ग्राउण्डलाई तयारी अवस्थामा राख्न र अत्यावश्यक औषधीको अभाव हुन नदिने निर्णय गरेको छ । विपदमा सबै समुदाय, संघ संस्थाहरु परिचालन हुन र त्यसको तयारीमा लाग्न बैठकले आब्हान गरेको छ ।
पाँचखालमा प्रविधिबाटै पूर्ण तयारी
पाँचखाल नगरपालिकाले कोरोना भाईरस विरुद्ध माईकिङ र गस्ती गरेर जनतालाई सुसुचित गर्दै बाहिर ननिस्की घरमा बस्न अनुरोध गरेको छ । भिडभाड नियन्त्रण गर्ने, पलाञ्चोक भगवती मन्दिर लगायतका धार्मिक स्थलमा नित्य पूजा बाहेक भीडभाड रोक्न अन्य पुजाआजाका कार्यक्रम बन्द गर्ने, कार्यपालिका बैठक र अन्य बैठकहरू भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल वा अन्य माध्यमबाट संचालन गर्ने, क्विक रेपिड रेस्पोन्स टोली गठन गर्ने, सो कार्यसँग सम्बन्धित खरिद कार्य गर्ने जिम्मेवारी नगरपालिकाको सार्वजनिक खरिद ईकाईलाई जिम्मेवारी दिने निर्णय गरेको प्रमुख महेश खरेलले जानकारी दिनु भयो । पाँचखाल ५ शैयाको आइसोलोसन वार्ड तत्काल व्यवस्था गर्ने र समाजकल्याण प्राथमिक विद्यालयमा क्वारेन्टाईन वार्ड बनाउने गरी तयारी गरेको छ । बैठकले अन्य तयारी गरी नागरिकलाई घर बाहिर नआउन अनुरोध गरेको छ ।
नगर स्तरीय र प्रत्येक वडामा गठन भएको वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई कृयाशील गर्ने, वडा समिति र वडा स्तरीय कोरोना प्रतिकार्य समितिलाई विपद् व्यवस्थापन कोषबाट पछि खर्च सम्बन्धी आवश्यक कागजात पूरा गरी भुक्तानी दिने गरी हाललाई कोरोना जोखिम रोकथाम र न्यूनीकरण कार्य गर्न प्रति वडा रु पचास हजार मात्र खर्च गर्ने अख्तियारी दिने, नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कार्यरत कुनैपनि कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नछोड्ने, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, वडा कार्यालय एवं मानिसहरुको बढी भिडभाड तथा आवतजावत हुने महत्वपूर्ण धार्मिक एवं सार्वजनिक स्थलमा हात धुने व्यवस्था गर्न सम्बन्धित वडा कार्यालयलाई जिम्मेवारी दिने, भिडभाड हुने चिया पसल, धेरै कामदार भएका उद्योग, व्यवसाय, सहकारी संस्था बन्द गर्न अनुरोध गर्ने, सम्भव भएसम्म घरबाट नै काम गरौँ भन्ने अभ्यासलाई जोड दिने, बिपद् व्यवस्थापन कोषमा उपयुक्त शीर्षकबाट रकमान्तर गरि ७ लाख थप गर्ने, बिदेश वा नगर बाहिरबाट कोही पाँचखाल नगरपालिका भित्र आएको भए स्वास्थ्य जाँचका लागि आउन अनुरोध गर्ने, कोही नयाँ ब्यक्तिको बारेमा निगरानी राख्न वडा स्तरीय कोरोना प्रतिकार्य समितिलाई जिम्मेवारी दिने, चैत्र २१ गतेसम्म पाँचखाल नगरपालिका क्षेत्रमा घर भित्रै बसी स्वःघोषित कर्फ्युमा जान सम्पूर्ण नगरवासीमा अनुरोध गर्ने, कोरोनासँग सम्बन्धित विपद् व्यवस्थापनमा आईपर्ने निर्णय लिने कार्यपालिकीय अधिकार प्रमुख प्रशासकीय अधिकृतमा प्रत्यायोजन गर्ने, कोरोनासँग सम्बन्धित विपद् व्यवस्थापनमा आईपर्ने कार्य गर्न खटिने नगरपालिका, स्वास्थ्य संस्था, सुरक्षा निकाय र निजी क्षेत्रको फोहोर व्यवस्थापनका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता, सुरक्षाका सामाग्री, मास्क, स्यानिटाईजर, ग्लोब्स लगायतका सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ । अरनिको राजमार्ग एवं अन्य फिडर रोड बाहेकका सडकमा तत्कालका लागि मास ट्रान्सपोर्टेसनका सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरेको छ ।
पनौतीमा विपद्का लागि ३५ लाख
विश्वभर फैलिएको कोरोना भाइरसलाई फैलन नदिन पनौती नगरपालिकाले उच्च सर्तकता अपनाएको छ । त्यसका लागि नगरले बजेट देखी स्वास्थ्यकर्मी परिचालन, ज्वरो नाप्ने क्लिनिक, नागरिकलाई सचेतना, प्रोत्साहन लगायतका कार्यक्रम घोषणा गरेको छ । पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले कोरोना भाइरस जस्ता महामारी र विपद्को लागि विपद्–व्यवस्थापन कोष मार्फत ३५ लाख रुपियाँ बजेट व्यवस्थापन गरेको छ ।
नगरपालिकाले मानेश्वरी बसपार्कमा ज्वरो नाप्ने तथा उपचारका लागि हेल्थ डेक्स स्थापना गरेको छ । नगरले कोरोना भाइरसको संक्रमित व्यक्ती फेला परेमा त्यस्तालाई उपचारमा सहयोग पु¥याउनेलाई आवश्यक प्रोत्साहन घोषणा गरेको छ । नगरको सिमावर्ती मुख्य मुख्य नाकाहरुमा स्थानीय सम्बन्धित वडाको समन्वयमा स्वास्थ्य संस्थाले कोरोना बारे सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले वडा न ७ मा रहेको निर्माणाधीन क्षेत्रीय रंगशाला, वडा न ५ को छालाकारखानामा रहेको खुला ठाउँ, वडा न ५ कै शिखर प्लाईउड संचालन रहेको भवन, नगरभित्र रहेका इन्द्रेश्वर, तेजगंगा र कुशादेवी क्याम्पसमा क्वारेन्टाइन क्षेत्र निर्धारण गरेको छ । नगर क्षेत्र भित्रका भीडभाड गर्न सचेत गराउने, घरघरमा साबुन पानीले हात धुने बारेमा सचेतना फैलाउने निर्णय गरेको छ ।
महाभारतमा उद्धार र ब्यवस्थापकिय तयारी
महाभारत गाउँपालिकाले गाउँपालिका भित्रने नागरिहरुको स्वास्थ्य परिक्षण गरेको छ । महाभारतको बुढाखानी, बुढाखानीको कोलोन, बनखुको राङचा, गोकुलेको रजिडाँडामा हेल्प डेस्क राखी स्वास्थ्य परिक्षण र साबुन पानीले हात धोएर मात्रै गाउँ प्रवेश गराएको छ । उपाध्यक्ष चेतकुमारी माझीको संयोजकत्वमा उद्धार तथा ब्यवस्थापन समिति, प्रवक्ता एवं वडा अध्यक्ष रविन मोक्तानको संयोजकत्वमा प्रचार प्रसार, वडा अध्यक्ष रमेश लुङ्गेलीको संयोजत्कवमा ब्यवस्थापन तथा जनशक्ति ब्यवस्थापन, वडा अध्यक्ष ज्ञानबहादुर मोक्तानको संयोजत्कवमा क्वारेन्टाईन ब्यवस्थापन समिति गठन गरेको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो ।
त्यस्तै क्वारेन्टाईनका लागि विद्यालय तथा अन्य क्षेत्रहरुको पनि ब्यवस्थापन गरेको अध्यक्ष जिम्बाले बताउनु भयो । महाभारतमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाईएको छ ।
नमोबुद्ध नगरपालिकामा अत्यावश्यक सबै तयारी
नागरिकहरुलाई संक्रमण फैलन दिन सचेत रहन अनुरोध गर्ने र त्यसको प्रचार प्रसार गर्ने निर्णय गरेको छ । मेथिन्कोट अस्पतालमा हेल्प डेक्स स्थापना गर्ने र त्यहिबाट नागरिकहरुलाई सेवा दिने तयारी गरेको छ । क्वारेन्टाईन, आईसोलेसन वार्डको तयारी तथा नागरिकहरुको अत्यावश्यक सेवामा सहयोग पु¥याउने निर्णय गरेको छ । संघ, प्रदेश र जिल्लाबाट प्राप्त निर्देशन र निर्णयलाई कार्यान्वयन गर्ने, नगरपालिकाबाट प्रदान हुने नियमित सेवा तत्काल बन्द गर्ने निर्णय गरेको छ । सबै खालका कार्यक्रमरु बन्द गर्न, मन्दिर तथा धार्मिक कार्यक्रमहरु स्थगन गर्न, सवारी साधनहरुमा भिडभाड नगर्न, भिडभाड हुने क्षेत्र तत्कालका लागि बन्द गर्न अनुरोध गरेको छ । सबै वडाहरुलाई तयारी अवस्थामा रहन र नगर क्षेत्र रहेका सबै संघ संस्थाहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ ।
मण्डन देउपुरमा निःशुल्क एम्बुलेन्स
कोरोना संक्रमण रोक्न मण्डन देउपुर नगरपालिकाले विभिन्न तयारी गरेको छ । तयारी स्वरुप नागरिकहरुको स्वास्थ्य परिक्षणका लागि कात्तिके भन्ज्याङ्ग वडा नम्वर १, वडा नम्वर २ को नगरकोट, वडा नम्वर ६ को सिपाघाट बजार, वडा नम्वर ७ को कुन्ता चोक र नगरकार्यपालिकाको कार्यालय, नगरपालिका क्षेत्र प्रवेश विन्दु जिरो किलो, ज्याम्दी स्वास्थ्य चौकी भिमटार वडा नम्वर १२ र देउरालीमा हेल्प डेस्क संचालन गरेको छ । नागरिकहरुलाई अस्पताल जान आउनु परेको अवस्थामा निःशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ । क्वारेन्टाईन, आईसोलेसन वार्ड र अन्य तयारी गरिएको नगरपालिका उपप्रमुख निर्मला शाहिले जानकारी दिनु भएको छ । अन्य तहको जस्तै मण्डन देउपुर नगरपालिकाको पनि उस्तै रहेको नगरपालिकाले जानकारी दिएको छ ।
चौरी देउरालीमा घर घरै माक्स
चौरीदेउराली गाउँपालिकाले सबै वडामा घर घरमा माक्स सहितको जनचेतना कार्यक्रम संचालन गरेको छ । हरेक वडाहरुमा आवश्यक घर धुरी र ब्यक्तिहरुलाई माक्स पु¥याउने गरी कार्यपालिकाले निर्णय गरेको अध्यक्ष दिनानाथ गौतमले जानकारी दिनु भयो । चौरी देउराली गाउँ पालिकाले शहरबाट गाउँ फर्कने सम्पुर्णको स्वास्थ्यको ख्याल गर्दै दोलालघाट, खहरेघाट र धुसेनी शिवालयमा प्राथमिक अस्पताल सहित हेल्थ डेस्क राखेको छ । गाउँ पालिकाका ९ वटै वडामा कोरना सचेतनाको कार्यक्रम संचालन गरेको छ । आवश्यक पर्ने अन्य पूर्वाधार र तयारीमा ध्यान दिने गरी स्थानीयहरुलाई सचेत र सुरक्षित रहन आब्हान गरेको छ ।
स्थानीय तहरु रोशी, तेमाल, बेथान्चोक, भुम्लु, खानीखोला गाउँपालिकाले विपद ब्यवस्थापनका लागि पूर्व तयारी गरेका छन् । अन्य स्थानीय तहमा जस्तै हेल्प डेक्स, क्वारेन्टाईन लगायतका कार्यहरु गरेको जानकारी दिएका छन् ।





