कोभिड–१९ को संक्रमणबाट बच्न जिल्लामा पूर्व तयारी गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिले जिल्ला तथा स्थानीय तहहरुमा संक्रमण हुन नदिन र संक्रमण देखिएको अवस्थामा विरामीलाई क्वारेन्टाईनमा राख्न सम्भावित स्थानहरुसँगै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ ।
नेपाली सेनाको विष्णु दल गण धुलिखेलले लागि एक सय बेडको क्वारेन्टाईन तयार गरेको गणपति कर्णेल सुबास खड्काले जानकारी दिनुभयो । भुकम्पका बेला प्रयोग भएका टेण्टहरु तयार गरी बेडहरु निर्माण गरिएको हो । सेनाले बेडमा काभ्रे उद्योग बाणिज्य संघ लगायतको सहयोगमा आवश्यक पर्ने डस्ना, सिरक, तकिया, रुमाल लगायतका आवश्यक सामानहरुको ब्यवस्थापन गर्दैछ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले स्थानीय तहहरुलाई क्वारेन्टाईन तयारी गर्ने गरी भएको निर्णय कार्यान्वयनका लागि जानकारी गराईएको बताउनु भयो । स्थानीय तहहरु विशेषगरी धुलिखेल र बनेपामा अस्पताल छन् । दुई अस्पतालमा उपचारका लागि आउने विरामीहरुका लागि थप क्वारेन्टाईन आवश्यक पर्न सक्ने गरी पूर्व तयारी गरिएको छ । बनेपामा पोलिटेक्निक स्कुलको छात्राबास र स्कुल, ग्राउण्ड लगायत अन्य विद्यालय र पार्टी प्यालेसहरु क्वारेन्टाईनका लागि उपयुक्त हुनेछन् । धुलिखेल नगरपालिकाले पनि विभिन्न खाली स्थानहरुका अलावा विद्यालय र अन्य क्षेत्रमा क्वारेन्टाईनका लागि तयारी गरिएको छ ।
नेपाली सेनाले तयार गरेको क्वारेन्टाईनमा सेनाको मेडिकल टिम समेत परिचालन गर्नेछ । रोशी, तेमाल, चौरीचेउराली गाउँपालिकाले हेल्प डेस्क स्थापना गरेका छन् । उक्त गाउँपालिकामा प्रवेश गर्नु अघि ब्यक्तिको स्वास्थ्य जाँच गरिनेछ । सरकारले कोभिड–१९ को नमुना परीक्षणका लागि धुलिखेल अस्पताल, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई तत्काल परीक्षण सुरु गर्ने र यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सहजीकरण गर्न पनि निर्देशन दिएसँगै धुलिखेलमा त्यसको तयारी गरिएको छ । यसअघि धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पतालमा आईसोलेसन वार्ड राखि त्यसको पूर्व तयारी गरिएको थियो । अस्पतालहरुले कोभिड १९ भित्रन नदिन विरामीहरुलाई ध्यान दिदै विरामीका कुरुवालाई कडाईका साथ लागु गरेको छ । एकजना विरामीका लागि एकजना मात्रै कुरुवा राख्ने ब्यवस्था अस्पतालले शुरु गरेको छ । अस्पतालमा भिडभाड हुन नदिन र संक्रमण भएमा फैलन नदिन सतर्कता अपनाईएको अस्पतालले जानकारी दिएको छ । विरामी भेट्न जान अस्पतालका गेटहरुबाट भित्र प्रवेशमा कडाई गरिएको छ । अस्पतालहरुले सामान्य विरामीहरुलाई घरमै आराम र उपचार गर्ने गरी फर्काउन थालेका छन् । जटिल र तत्काल अप्रेसन र उपचार गर्नु पर्ने बाहेकका सबै विरामीहरुलाई फर्काईएको हो । अस्पतालहरुले कोभिड १९ बाट संक्रमित विरामीहरुका लागि थप शैयाको ब्यवस्थापन गरेका छन् ।
कोभिड १९ हुन नदिन सर्वसाधारणहरुलाई अत्यावश्यक सेवा बाहेक बाहिर ननिस्कन गरिएको अनुरोधका कारण बजार सुनसान भएको छ ।





