५० वटा मोटरसाईकल र बस नियन्त्रणमा
मोतीराम तिमल्सिना
काभ्रे
कोरोना भाईरस (कोभिड १९) लाई नियन्त्रण गर्न चैत्र ११ गते देखि आब्हान गरेको लकडाउन अटेर गर्ने विभिन्न ब्यक्ति तथा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही शुरु गरेको छ ।
सरकारले अत्यावश्यक बाहेक अन्य सवारी साधन तथा ब्यक्तिहरुलाई घर भित्रै बस्न आब्हान गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । राजमार्ग तथा अन्य भित्री सडकहरुमा लकडाउन उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधन बढ्दै गए पछि प्रहरीले लकडाउनको दोश्रो दिन चैत्र १२ गते बुधबार विहान ९ बजेसम्ममा जिल्लाका विभिन्न स्थानबाट ५० वटा मोटरसाईकल, एउटा बस र एक जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले जिल्लामा लकडाउन उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको बताउनु भयो ।
कारवाही शुरु गरे लगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रे र मातहतका कार्यालयहरुबाट लकडाउनको अटेर गर्ने मोटरसाईकल, बस तथा ब्यक्तिहरुलाई सामान्य सोधपुक्ष गरी लकडाउन कार्यान्वयन र अटेर गरे हुने कानुनी कारवाहीका बारेमा जानकारी गराईएको छ । राजधानी तथा अन्य क्षेत्रबाट विभिन्न स्थानमा जाने ब्यक्तिहरु पहिलो दिन भन्दा दोश्रो दिन बढ्दै गएका थिए । पहिलो दिन विपी राजमार्गबाट मात्रै ३ सय सवारी साधन सिन्धुली पुगेका थिए । प्रहरीले दोश्रो दिन कडाई गरेको एसपी पौड्यालले जानकारी दिनु भयो लकडाउन भनेको घर भित्रै बस्नका लागि भएकाले सडकमा रमिता हेर्न निस्एिका ब्यक्तिहरुलाई पक्राउ गर्न शुरु गरिएको हो ।
अत्यावश्यक क्षेत्रका सवारी साधन तथा पसलहरु निर्वाध संचालन भईरहेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रेले त्यस्ता सवारी साधनलाई पास उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार लकडाउन कार्यान्वयन र सरकारको निर्णय पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको बताउनु भयो ।
विदेशबाट आउनेहरुका कारण त्रास
बैदेशिक रोजगार तथा अन्य क्षेत्रबाट पछिल्लो फागुन तथा चैत्र महिनामा नेपाल आउनेहरुका कारण स्थानीयहरु त्रसित हुन थालेका छन् । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी युवतीमा कोरोना भाईरसको संक्रमण देखिएकाले सोहि विमान हुँदै आउने तथा त्यसको आसपास जिल्ला आउने ब्यक्तिहरुका कारण सर्वसाधारण त्रसित हुन थालेका छन । प्रशासन तथा स्थानीय सरकारले हालसम्म त्यस्ता ब्यक्तिहरुलाई कुनै लक्षण नभए घरमै क्वारेन्टाईनमा बस्न अनुरोध गरेको छ । तर स्थानीयहरु त्यस्ता ब्यक्तिहरुलाई जुनसुकै बेला संक्रमण देखिन सक्ने भन्दै त्रासमा रहेका हुन् । मंगलबार मात्रै दुई जना त्यस्ता ब्यक्तिहरुलाई प्रशासनले होम क्वारेन्टाईनका लागि अनुरोध गरेको थियो ।





