धुलिखेल/संयुक्त राष्ट्र संघले नेपाललाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै उच्च जोखिममा राखे लगत्तै नेपाल सरकारले त्यसबाट बच्न उच्च सतर्कता अपनाएको छ । स्वास्थ्य र शिक्षा मन्त्रालयले मातहतका कार्यालयहरु मार्फत जोखिम हुन नदिन र जोखिमबाट बच्न अपनाउनु पर्ने आवश्यक तयारी गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण फैलन नदिन जिल्लामा उच्च सतर्कता अपाउने निर्णय भएको छ । जिल्ला विपत् व्यवस्थापन समिति काभ्रेले मानिसको जमघट हुने सभा, सम्मेलन नगर्न अनुरोध गरेको छ । समितिको मंगलबार बसेको आकस्मिक बैठकले सभा, सम्मेलन, महोत्सव जस्ता जमघट हुने कार्यक्रमहरु तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । ‘विवाह, व्रतबन्ध, सुर्यदर्शन जस्ता धार्मिक, साँस्कृतिक, कृयापकलाप समेत कम भन्दा कम सहभागितामा गर्न अनुरोध गरेको छ’–प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भन्नुभयो–‘होली पर्व होलीका बेलाा समुह बनाई लोला तथा रंग मिसिएको पानी प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।’ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले जनसंख्या मन्त्रालयको अनुरोध अनुसार कोभिड १९ अर्थात कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै उक्त रोग सर्न नदिन र रोगबाट बच्न हाललाई भिडभाड हुने सभा सम्मेलन, महोत्सवका साथै बनेपा नगरपालिकामा आयोजना हुन लागेको घरेलु महोत्सवलाई स्थगन गर्ने निर्णय गरेको बताउनु भयो । साथै अर्काे निर्णय नहुँदासम्म जिल्लामा कुनै पनि मेला महोत्सव जस्ता भिडभाड हुने कार्यक्रम नगर्न÷नगराउन सबै स्थानीय तह र प्रशासनलाई अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले जिल्लाका स्थानीय तह र अस्पताललाई तयारीको लागि अनुरोध पनि गरेको छ । स्वास्थ्य कार्यलय काभ्रेका बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाका अनुसार, पूर्व तयारी स्वरुप धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा ५÷५ शैयाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ । संक्रमण देखिनसकिएको भए पनि पूर्व तयारी थालिएको झाले जानकारी दिनुभयो । संक्रमणको जोखिम हुने भन्दै नेपाली सेनाले शनिबार आयोजना गरेको एकीकरण पदयात्रा पनि स्थगित गरेको छ । धेरै जनाको जमघट हु“दा संक्रमणको उच्च जोखिम हुन सक्ने भन्दै समितिले विद्यालय, कलेजका बार्षिकोत्सव लगायतका ठूला जमघट हुने कार्यक्रम कार्यक्रम नगर्न पनि अनुरोध गरेको छ ।





