बनेपा/होटल संचालन गरी होटलमा आएका ग्राहकहरुलाई अनुचित लाभ दिने गरी ब्यवसाय गरेको अभियोगमा बनेपाका दुई होटल संचालक पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेकाहरुलाई सार्वजनिक मुद्दा दर्ता गरेको छ । नक्कली डलर र लागु औषधका कारोवारीलाई पनि प्रहरीले च्याप्प बनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक योगेन्द्र तिमल्सिनाका अनुसार बनेपाका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा ब्यवसायका अलावा महिला तथा बालिकाहरु बोलाएर अन्य धन्दामा लगाउने गरेको अभियोगमा बनेपाका दुई होटल संचालकलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न ७ घर भई हाल बनेपा नगरपालिका वडा न ८ मा होटल त्रिशुली खाजा घर सञ्चालक २४ बर्षीय नरेश तिमल्सिना र बनेपा नगरपालिका वडा न ८ घर भई हाल वडा न ७ गोदामचोकमा रहेको होटल सगरमाथा एण्ड गेष्ट हाउसका सञ्चालक ३२ बर्षीय राजू भनिने राजिव मानन्धरलाई पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको छ । बनेपा नगरपालिका वडा न १२ बस्ने ३५ बर्षीय चाँदनी भनिने मनमाया तामाङको समेत संलग्नता रहेको प्रहरीले बताएको छ । प्रहरीले यसअघि बनेपाको पुल बजारमा रहेको सेभेन डे खाजा घरका सञ्चालक रामकृष्ण श्रेष्ठलाई पक्राउ गरेको थियो ।
त्यस्तै प्रहरीले अमेरिकी डलर सतही गर्ने वहानामा ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । सिन्धुपलाञ्चोक जिल्ला बाह्रविसे नगरपालिका वडा न ३ का रामबहादुर तामाङलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ । तामाङले २०७६ कात्तिक २७ गते बनेपा नगरपालिका वडा न ७ की विमला गुरुङलाई डलर साट्ने वहानामा दुई लाख ५२ हजार ठगी गरेका थिए । तामाङले आफूसँग पाँच हजार अमेरिकी डलर रहेकाले पाँच लाख रुपियाँ मागेको उजुरीमा बताएकी थिईन् । गुरुङ्गले आफूसँग दुई लाख ५० हजार मात्र रहेको जानकारी गराएपछि त्यही भएपनि हुन्छ भन्दै रामबहादुरले रकम लगेका थिए । पछि दुई हजार गाडी भाडा समेत लिएर गएका थिए । पीडित गुरुङको उजूरीका आधारमा तामाङलाई बनेपा नगरपालिका वडा नम्बर ८ बाट पक्राउ गरेको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिनुभयो । तामाङलाई ठगी मुद्दामा अनुसन्धान शुरु गरिएको छ । सोही क्रममा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा न ११ नवराज शिवाकोटीलाई समेत तामाङ र जिल्ला उदयपुर गाईघाट बस्ने वर्ष ३५ कि शर्मिला दमाई सहितले अमेरिकी डलर साट्ने प्रलोभनमा पाँच लाख रुपियाँ ठगी गरेको उजूरी परेको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बनेपाले लागू औषध सहित एक महिलालाई पनौतीबाट पक्राउ गरेको छ । पनौती नगरपालिका वडा न ६ स्थित घर भाडामा लिएर बस्ने ३२ बर्षीय सुभद्रा तिमल्सिनालाई ‘नाइट्राभेट १०’ अवैध लागू औषध सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । उक्त महिलाको कोठामा २ सय ७९ ट्याब्लेट फेला परेको तिमिल्सिनाले जानकारी दिनुभयो । ‘नाइट्राभेट १०’ को एक पत्तामा ३० टयाब्लेट हुन्छ । महिलाले एक पत्ताबाट १५ वटा टयाब्लेट निकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । महिलाई लागू औषध सम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।





