2026 April 30/ 09:23: 46pm

१९ महिना ५ सय ९ ‘सम्बन्ध’ विच्छेद
मोतीराम तिमल्सिना
धुलिखेल

    प्रविधि, विकास, चाहना र बहाना परिपूरक बन्न नसक्दा पारिवारीक सम्बन्धहरु धुमिल हुन थालेका छन् । ब्यक्तिगत जीवन भताभुङ्ग मात्रै भएको छैन परिवार र सामाजिक सम्बन्धहरु पनि भताभुङ्ग हुन थालेका छन् । ‘बैदेशिक रोजगार, शहरीकरण, माग र आपूर्तिको खाडल लगायतका थुप्रै कारणबाट सम्बन्धहरु विग्रन थालेका छन्’– मनोविर्मशकर्ता शरण तिमिलाले भन्नुभयो–‘ब्यक्तिगत चाहना पूरा हुन नसक्दा सम्बन्धहरु भत्कन थालेका छन् ।’ 
    २०७५ साल मंसिर ४ गते फर्साङ्ग तामाङले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा सम्बन्ध विच्छेद सम्बन्धी मुद्दा दर्ता गर्नु भयो । अदालतले २०७६ साल असार ५ गते मुद्दाको फैसला गरि दियो । फर्साङ्गको उर्मिला शर्मासँग केहि वर्ष अघि विवाह भएको थियो । २०७५ साल मंसिर २४ गते सरस्वती श्रेष्ठले रामचन्द्र दनुवारसँग सम्बन्ध विच्छेदका लागि दर्ता गरेको मुद्दा २०७५ मंसिर २५ गते मिलापत्रको माध्यमबाट टुङ्गियो । जातीय आधारमा जोडिएका सम्बन्धहरु पनि भत्कँदै गएका उदाहरण अदालतमा भएका मुद्दा र फैसलाका आधारमा हेर्न सकिन्छ । २०७५ पुष २७ गते शर्मिला श्रेष्ठले दर्ता गरेको सम्बन्ध विच्छेदको मुद्दा २०७५ चैत्र २८ गते फैसला भयो । उनको विनायक बस्नेतसँग विवाह भएको थियो । दर्ता भएका अधिकांश मुद्दाहरु कच्चा उमेरमा परेको प्रेम र सम्बन्ध विवाहमा परिणत भए पछि ब्यक्तिगत, पारिवारीक तथा सामाजिक परिस्थितिले भताभुङ्ग हुन थालेका छन् । तथ्याङ्कले अन्र्तजातीय प्रेम तथा विवाह सम्बन्ध विच्छेदका लागि प्राथमिकतामा परेका छन् । 
    अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नेहरुमा ऋतु खड्का र रजमेन्ट तामाङ, एन्जिला श्रेष्ठ र सन्तोष राई, नानीमाया तामाङ र लिलाबहादुर खड्का, सुभाष कार्की र प्रतिशा श्रेष्ठ, दिपक खत्री र मञ्जु श्रेष्ठ, निराजन शाक्य र हिरामाया तामाङ, मिस्टु लामा र राजकुमार गौतम, दिपा बोहरा र महेश शाक्य, एन्चु राई र विनय श्रेष्ठ, चमेली ढकाल र प्रेमराज सार्की लगायत छन् । उनिहरु मध्ये अधिकांशको अन्र्तजातीय प्रेम विवाह हो । ब्यक्तिगत असहमति मात्र नभई पारिवारीक दवाब र सामाजिक दवाब प्रमुख कारण रहेको छ । २०७६ साउन १७ गते सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्नु भएकी सम्झना परियार र सोतेलाल राय यादवको २०७६ मंसिर १६ सम्बन्ध विच्छेद भएको छ । उनिहरु बीच केहि वर्ष चलेको सम्बन्ध अन्ततः विच्छेद हुन पुग्यो । सम्बन्ध विच्छेद गर्नेहरु मध्ये अधिकांशले सम्पत्ति माग गरेका छन् । केहिले सम्पत्ति माग गरेको भए पनि टुङ्गिन सकेको छैन । 
    चालु वर्षको फागुन १५ गतेसम्म सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा २ सय २१ मुद्दा दर्ता भएका छन् । जस मध्ये १ सय ५६ वटा फैसला भएका छन् भने ६५ वटा मुद्दा फैसला हुन बाँकी छ । सम्बन्ध विच्छेदका लागि दर्ता भएका मध्ये १ सय ५६ वटा महिलाले विभिन्न कारण श्रीमान् र घरपरिवारसँग सँगै बस्न नसकेको कारण देखाउँदै केहिले अंश सहित र केहिले सम्बन्ध विच्छेदका लागि मात्रै मुद्दा दर्ता गराएका थिए । ६५ जना पुरुषहरुले लामो समय श्रीमतीबाट पीडाबोध भएकाले सँगै बस्न नसक्ने जानकारी गराउँदै संहिता कानुन अनुसार श्रीमान्ले सिधै अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गर्न सकिने अधिकार प्राप्त भएकाले मुद्दा दर्ता गरेका छन् । दर्ता भएका पुरुषका मुद्दाहरु मध्ये ३९ वटा फैसला हुन बाँकी छ । महिलाले दर्ता गरेको २६ वटा बाँकी छन् । पुरुषहरुको हकमा एक वर्ष भित्र प्रमाणहरु बुझ्दै जाने र एक वर्ष पछि मात्रै फैसला गर्न सक्ने कानुनी आधार भएकाले ढिलाई भएको हो । महिलाहरुको हकमा मुद्दा दर्ता गरेकै भोलिपल्ट सम्बन्ध विच्छेद भएका छन् ।