2026 April 30/ 07:57: 52pm

खोपासीमा बन्ने भयो नयाँ स्टेशन
    बनेपा/नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रले चोरी गर्ने र बक्यौता बाँकी रहेका ग्राहकहरुको लाईन धमाधम काट्न थालेको छ । दैनिक १० भन्दा धेरै ब्यक्तिहरुको लाईन काट्न थालेपछि ग्राहकहरुले बक्यौता तिर्न थालेका छन् भने चोरी गर्ने ग्राहकहरुले मिटर मार्फत विजुलीको उपभोग गरेका छन् । 
पाँचखाल वितरण केन्द्रले दुई महिनाको अवधिमा झण्डै २ सय ५० वटा मिटर ठोक्ने कार्य सम्पन्न भएको छ भने १ सय ५० भन्दा धेरैको लाईन काटिएको छ । बाँकी बक्यौता तिर्नेहरुको भिड लाग्न थालेको उहाँले बताउनु भयो । १ सय भन्दा धेरैलाई विद्युत चोरी अभियोगमा कारवाही गरिएको छ । पाँचखाल वितरण केन्द्र अन्र्तगत ५ करोड बक्यौता असुल गर्न बाँकी छ । काटिएका लाईन जोड्ने ७० जनाबाट १५ लाख राजश्व संकलन भएको छ । चुहावट कार्वाहिमा १ सय ग्राहकबाट ६ लाख ५० हजार संकलन भएको छ । दैनिक बक्यौता उठ्ने र मिटर जडान माग गर्ने तीन गुणा बढेको छ । अहिलेको घाटा २४ प्रतिशतबाट १५ प्रतिशत बनाउन आक्रामक रुपमा चोरी नियन्त्रण शुरु भएको छ । नयाँ मिटर २ सय ५० वटा नचलेका कारण बदली गरिएको छ । ४ सय ५० वटा नयाँ मिटर थप गरिएको छ । 
स्थानीयको साथ र सहयोग भए सँगै प्राधिकरणको पाँचखाल वितरण केन्द्रले स्थानीयहरुको आवश्यकता अनुसार मिटर जडान कार्य शुरु गरेको छ । मिटर लगेर जडान नगरी राखेका २ सय ५० भन्दा धेरै ग्राहकहरुको मिटर जडान गरिएको छ । मिटर जडान भएका तर सिल नलगाई चुहावट गरिएका मिटरहरुमा रि–सिल गरिएको छ । मिटर जडान, मिटर रिडिङ्ग तथा महशुल विद्युत्त चोरी नियन्त्रण, मिटरमा सिल लगाउने, वितरण लाईन विस्तार, वितरण लाईन सुधार, संरचना बनाउने मापदण्ड र लाईनको रुट परिवर्तन, अति विपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुमा निशुल्क मिटर जडान, विद्युत्तीय जोखिम तथा सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राखेको वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले जानकारी दिनुभयो । पाँचखाल, हिगुवापाटी, दोलालघाट, पलाञ्चोक नो लाईट, लाईन विस्तार तथा मर्मत, नयाँ मिटर जडान, सिल चुहावट बक्यौता, मिटर रिडिङ्ग तथा महशुलका लागि अलग अलग ब्यक्तिलाई जिम्मेवारी दिई प्रभावकारी सेवा शुरु गरिएको छ । पाँचखाल र मण्डनदेउपुर नगरपालिका, भुम्लु, तेमाल र चौरीदेउराली गाउँपालिकाका सामुदायिक विद्युत्तिकरण सेवा लिने समेत गरी २७ हजार ग्राहकलाई सेवा दिन थालेको छ । १० हजार सामुदायिक विद्युतिकरण अन्र्तगतका ग्राहकहरु छन् । 
    हाई भोल्टेज लाईन भएका पोलहरुलाई सुधार गरिएको छ । अरनिको हाईवेका सधै पोलहरुको सुधार भएको वितरण केन्द्र प्रमुख मेघनाथ ढकालले बताउनु भयो । ‘अरनिको हाईवे सुधार अन्र्तगत हाईभोल्टेजमा रहेका सबै पोलहरुको सुधार भएको छ’–ढकालले भन्नु भयो–‘शाखा लाईनमा रहेका विद्युतका पोलहरुमा छोएका रुखहरु, रुखका हाँगाहरु हटाई काठका कुहिन लागेका र मक्किएका पोलहरु हटाउन शुरु गरेका छौ । चालु वर्ष भित्रै हामी काठका पोल मुक्त क्षेत्र बनाउने गरी १ हजार शाखा लाईनमा स्टिलका पोलहरु गाड्दै छौं ।’ ७ हजार ५ सय वटा पोल फेर्नु पर्ने आवश्यक छ । २ महिनामा शाखा लाईनका ३ सय काठका पोल परिवर्तन गरिएको छ भने एक हजार वटा पोल ३ महिना भित्र फेरिनेछ । कार्तिक १ गतेबाट  पाँचखालमा औपचारिक रुपमा वितरण केन्द्रका रुपमा कार्य शुरु गरेको थियो । भुम्लु गाउँपालिकाका वडा नम्वर ६ का अध्यक्ष भरतबहादुर शिवभक्तिले विद्युत महशुल बुझाउन बाँकी स्थानीयहरुलाई पत्र काटेरै महशुल तिर्न र नतिरे सेवा सुविधा रोक्का राख्ने चेतावनी दिनु भएको छ । वितरण केन्द्रले आफ्नै चार रोपनी जमिनमा भवन निर्माणको कार्य शुरु गरेको छ । दुई वर्षका लागि भाडामा बसिरहेको भवनबाट आफ्नै भवनमा सर्ने गरी तयारी गरिएको छ । आक्रामक शैलीमा कार्य गर्न पर्याप्त श्रोत र साधनको अभाव भएको वितरण केन्द्र प्रमुख ढकालले बताउनु भयो । कार्यालयमा भएको सवारी साधन जिर्ण भएकाले सेवाग्राहिहरुलाई निजी मोटरसाइकलबाट सेवा उपलब्ध गराईएको छ । 

खोपासीमा सब स्टेशन 
    काभ्रेको पनौती नगरपालिका खोपासीमा रहेको नेपालकै दोश्रो जलविद्युतबाट उत्पादन हुने बिजुली जिल्लामै खपत हुने गरी पूर्वाधार निर्माण कार्य शुरु भएको छ । खोपासीमा बन्ने सब स्टेशन पछि त्यहाँ उत्पादन भएको बिजुली जिल्लामै खपत गरिनेछ । काभ्रेको २८ किलोमा रहेको सब स्टेशनले जिल्लाका विभिन्न स्थानमा विद्युत्त सप्लाई हुँदै आएको थियो । जिल्लामा ६६ केभीको सप्लाई हुँदा कतै तार चुड्दा १८ घण्टासम्म विजुली बत्ति प्रयोगमा आउन सकेको थिएन । जिल्लाबासीहरुलाई अँध्यारोबाट मुक्त गर्न त्यसको बैकल्पिक ब्यवस्थापका लागि विद्युत प्राधिकरण काभ्रे शाखाले पनौतीको खोपासीमा सब स्टेशन राख्ने प्रस्ताव गरेको थियो । सोहि प्रस्ताव अनुसार विद्युत्त प्राधिकरणले उक्त क्षेत्रमा सब स्टेशन निर्माण गर्ने गरी बजेट विनियोजन गरेको विद्युत प्राधिकरण काभ्रे शाखाका प्रमुख रञ्जनराज गुरुङ्गले बताउनु भयो । पनौतीको खोपासीमा बन्ने उक्त सब स्टेशनमा ३ एम भि एको ३३÷११ केभीको सप्लाईका लागि आवश्यक पुर्वाधार निर्माण हुनेछ । 
    नेपाल विद्युत प्राधिकरण काभ्रे शाखाले आक्रामक शैलीमा विद्युत चुहावट नियन्त्रण, मर्मत सम्भारको कार्य गरिरहेको छ । कार्यालय प्रमुख रञ्जनराज गुरुङ्गले बक्यौता असुल, चोरी नियन्त्रण, मक्किएका पोलहरुको मर्मत लगायतका कार्यहरु निरन्तर गरिरहेको बताउनु भयो । चुहावट नियन्त्रण टोलीले बेथानचोक लगायत विभिन्न स्थानहरुमा छड्के चेकजाँच गर्ने क्रममा दुग्ध तथा तरकारी सहकारी संस्था, घर आदिबाट चुहावट गरेका बिभिन्न ग्राहकहरुबाट चोरीमा प्रयोग गरिएका सामानहरु बरामद गरेको छ । त्यस्तै धुलिखेल २ रविओपी लगायत विभिन्न स्थानहरुमा नियमित छड्के चेकजाँच गर्दा बिजुली अनाधिकृतरुपमा चोरी गरेको गरिरहेको विद्युतीय सामाग्रीहरु जफत भएको छ । त्यसैगरी अन्य ग्राहकहरुलाई चेतावनी दिने र घरमा जडान हुकिङ तारहरु हटाईएको छ ।