2026 April 30/ 07:57: 53pm

महाभारत, बुढाखानी/सडक नहुँदा विद्यालय निर्माणका लागि सर्भे गर्न आएको दुईवटा टोली विच बाटोबाटै फर्किए पछि कालो बादल भित्र मडारिएको सुरक्षित भवन भित्र बसेर अध्ययन गर्ने विद्यार्थीहरुको चाहना स्थानीय सरकारले पूरा गरिदिएको छ । 
‘सडक नभएका कारण दाताहरुले लगानी गर्ने भनिएको बुढाखानी स्थित ग्रामोन्नति मावि नआईपुग्दै दुई पटक सर्भे टोली फर्किन बाध्य भयो’–इन्जिनियर सोभित श्रेष्ठले भन्नुभयो–‘सडक नभएका कारण रोकिएको विद्यालय निर्माणको कार्य गाउँपालिकाले सडक निर्माण गरिदिए पछि शुरु भएको छ ।’ महाभारत क्षेत्रकै ठुलो र एडिबिको सहयोगमा निर्माण हुने दुर्गम क्षेत्रको पहिलो विद्यालय हो ग्रामोन्नती मावि । भ्याट बाहेक ८ करोड ६४ लाख ४८ हजार ७ सय २७ रुपैयाँ लागतमा निर्माण हुँदै छ । नेपाल सरकार, बैैदेशिक ऋण र बैदैशिक सहायता मार्फत उक्त विद्यालय निर्माण शुरु गरिएको हो । विपद् प्रतिरोधी विद्यालय पुनः निर्माण परियोजनाले विकट क्षेत्रको बुढाखानी चारकिल्लामा विद्यालय निर्माण गरेको हो । ‘हामी कुनै पनि हालतमा यो परियोजना फिर्ता जान दिदैन थियौं’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘विकटता र सडक अभावकै कारण सर्भे समेत गर्न नसकेर फर्किएको प्राविधिकहरुको टोलीलाई सडक निर्माण सँगै तेश्रो पटक विद्यालयमा ल्याउन सफल भयौं ।’ २०७५ पौष १६ मा सम्झौता गरी माघ २१ गतेबाट निर्माण शुरु गरिएको विद्यालय २०७७ श्रावणमा सम्पन्न गर्नु पर्ने भए पनि त्यस अगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी गरिएको छ । मन्त्री गोकुल बास्कोटाले भवन निर्माणको शिल्यान्यास गर्नु भएको थियो । २१ कोठे भवन निर्माण भएसँगै विद्यार्थीहरुलाई सहज हुने प्रधानाध्यापक रामबहादुर तामाङले बताउनु भयो । १२ कोठे, ९ कोठे र शौचालय सहितका भवनले विद्यालयको आवश्यकता पुरा गर्ने अध्यक्ष बलराम ठाढा मगरले बताउनु भयो । उक्त भवनमा २५ हजार लिटरको खानेपानी ट्यांङ्की, छात्रछात्राहरुका लागि शौचालय, शिक्षक÷कर्मचारी कोठा, कम्प्युटर ल्याव, साईन्स ल्याव लगायतको ब्यवस्था गरिएको छ । २०७२ को भुकम्प पछि विद्यालय भवन नहुँदा बालबालिकाहरु अझै अस्थायी  सिकाई केन्द्रमा अध्यययन गरिरहेका छन् । ५ सय ५० विद्यार्थी उक्त विद्यालयमा अध्ययन गरिरहेका छन् । 

विद्यार्थी छन्, शिक्षक छैनन्
    ५ सय ५० जना विद्यार्थीहरुका लागि दरवन्दी, राहत, निजी श्रोत र गाउँपालिकाले उपलब्ध गराउने शैक्षिक सुधार कार्यक्रम मार्फत समेत गरी १७ जना शिक्षक कर्मचारी कार्यरत छन् । दैनिक साँढे ३ घण्टा विद्यालय हिडेर आउनु पर्ने विद्यार्थीहरुका लागि छात्राबासको ब्यवस्था छैन । भएको छात्राबास समेत वडा कार्यालयले प्रयोग गरिरहेको छ । भवन निर्माण कार्य सम्पन्न भएसँगै पुराना भवनहरुलाई छात्राबासको रुपमा प्रयोग गर्ने तयारी रहेको अध्यक्ष बलराम ठाडा मगरले बताउनु भयो । गाउँपालिकाभरी ७ वटा मावी छन् । बुढाखानीमा त्यहि एउटा माध्यमिक विद्यालय हो । २०१८ सालमा स्थापना भएको उक्त विद्यालय २०५६ मा निमावि, २०६५ सालमा मावि र २०७५ सालबाट कक्षा १२ सम्मको अध्यापन गराउँदै आएको छ । 
    गाउँपालिकाले शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बार्षिक २ लाख रकम उपलब्ध गराउँदै आएको छ । सोहि कार्यक्रमबाट एकजना शिक्षक नियुक्ति गरिएको अध्यक्ष मगरले बताउनु भयो । विद्यार्थीहरुलाई भर्नाको समयमा कक्षा तह अनुसार शुल्क लिने गरिएको छ । कक्षा ११ र १२ लाई बार्षिक ९ हजारको दरले प्रति विद्यार्थी रकम लिईएको छ । उमावी कोटामा पनि शिक्षक प्राप्त नगरेको उक्त विद्यालयले गणित र विज्ञान विषयको एक जना शिक्षकलाई मात्रै मासिक २० हजार रुपैया उपलब्ध गराउने गरेको छ । अंग्रेजी र सामाजिक विषयको शिक्षकलाई १३ हजार ५ सय र अन्य बाँकी शिक्षकहरुका लागि मासिक ७ हजार रकम उपलब्ध गराईएको छ । ६ जना शिक्षक नीजि श्रोतबाट राखिएको छ । विद्यालयमा बुढाखानीको कालिमाटी, घुँडे, बेतिनीसँगै बनखुका केहि वडाका विद्यार्थीहरु समेत अध्ययन गरिरहेका छन् । अभिभावक शंकर सिं मोक्तानले सुविधा सम्पन्न विद्यालय निर्माण हुँदा खुशी लागेको बताउनु भयो । ‘सडक नहुँदा विद्यालय भवन बन्ने कुरामा शंका थियो’–उहाँले भन्नुभयो–‘गाउँपालिकाले सडक निर्माण गरिदिए पछि विद्यालय भवन मात्रै बनेन, स्थानीयहरुलाई समेत सहज भयो ।’ उहाँका सन्तान सोहि विद्यालयमा अध्ययन गरिरहेका छन् । कक्षा कोठामा बसेर अध्ययन गर्न नपाएका बालबालिकाहरु ब्यवस्थित र सुरक्षित भवनमा बसेर अध्ययन गर्न पाउने कुराले विद्यार्थी, अभिभावक र शिक्षक सबैमा खुशी छाएको प्रधानाध्यापक रामबहादुर तामाङले बताउनु भयो । 

विद्यालयको अनुगमन
    विद्यालय निर्माणको अनुगमन जिल्ला स्तरीय अनुगमन टोली र गाउँपालिकाले एकै साथ गरेको छ । आयोजनाका तर्फबाट प्रमुख द्धारिकाप्रसाद पोखरेल, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, इन्जिनियर सोभित बस्नेत, सव इन्जिनियर सविन कायश्थ, नेकपा नेता इन्द्रबहादुर तामाङ, गोकुले माविका प्रधानाध्यापक पदम तिमल्सिना, पत्रकारहरु लगायतले अनुमगन गरेका थिए । सम्झौता भन्दा अगावै निर्माण सम्पन्न गर्ने गरी कार्य भईरहेको स्वच्छन्द खानी जेभीले निर्माण गरिरहेको छ । विकट क्षेत्रमा समय अगावै कार्य सम्पन्न गर्नु खुशीको कुरा भएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनु भयो । ‘विकटताका कारण सडक नहुँदा निर्माण हुन नसकी फर्किएको विद्यालय भवन महाभारत क्षेत्रकै ठुलो रकमको समय अगावै निर्माण हुँदा खुशी छौं’–उहाँले भन्नु भयो । विद्यालयका अन्य समस्या विस्तारै समाधान गर्दै जाने उहाँले बताउनु भयो ।