धुलिखेल/हिन्दुहरुको महान चाड दशंै नजिकिदै गएको छ । दशैंका लागि विभिन्न कुराको जोहो गरिन्छ । महोत्सव, मेला, भेला, नयाँ नयाँ कार्यको शुरुवात दशैलाई केन्द्रित गरेर आयोजना हुने गर्छन् । राजनीतिक संक्रमणको अन्त्य भएर नयाँ संविधान जारी भई मुलुक विकास र समृद्धीमा अघि बढिरहेको अवस्थामा राजनीतिक नारा देखाउँदै अपराधिक कृयाकलापमा समेत संलग्न भएको राजनीतिक गतिविधिमा प्रतिवन्ध लगाएको नेकपा विप्लव समुहले दशंैलाई केन्द्रित गरेर चन्दा अभियानलाई तिब्र बनाएको छ । विप्लव समुहका नेता कार्यकर्ताहरुले जिल्लाका होटल, यातायात क्षेत्र, विद्यालय तथा उद्योगी ब्यवसायीहरुलाई घर घर पत्र पु¥याउँदै अनिवार्य चन्दा माग गरेका छन् ।
पार्टीका महासचिव विप्लवद्वारा हस्ताक्षर गरिएको आर्थिक सहयोग सम्वन्धी पत्र लिएर नेकपा विप्लव समुहका नेता कार्यकर्ता घर घर पुगेका छन् । साउन, भदौ र असोज महिनालाई आर्थिक सहयोग संकलन महिना बनाउने उद्देश्यले जिल्लामा रकम संकलनका लागि पत्र पठाईएको विप्लव समुहका नेताहरुले जानकारी दिएका छन् । पत्र बुझाउन जाने र रकम लिन जानेहरुले परिचय खुलाउने गरेका छैनन् । मुखमा माक्स लगाउँदै मोटरसाईकलमा गएका युवाहरुले हरेक संस्थामा पत्र छाडेर फर्किएका छन् । पत्र हेरेर चन्दा कति दिने वा नदिने ? निर्णय गर्न उनिहरुले अनुरोध गरेका छन् । मोबाईल फोनबाट सम्पर्क गरिरहँदा प्रहरीले पक्राउ गर्न सहज हुने भएकाले अपरिचत ब्यक्ति पत्र बोकेर संघ संस्थाहरुमा पुगेका हुन् ।
‘ब्यापक संघर्ष संचालन गर्न, पार्टी र सेना सञ्चालन गर्न तपाईहरुसँग सहकार्य गर्नु बाहेक हामीसँग कुनै बिकल्प छैन’–आर्थिक सहयोग माग गर्ने पत्रमा भनिएको छ–‘आर्थिक सहयोग गर्दा तपाईको केहि रकम घट्छ तर यो इतिहासले माग गरेको परिवर्तनकारी आन्दोलनका लागि क्षति होईन, योगदान नै हो ।’ पार्टीले संचालन गरेको विशेष आर्थिक अभियानलाई अप्ठ्यारो नमानी सम्भव सहयोग उपलब्ध गराई दिन अनुरोध गर्दर्छाै । दशैंको मुखमा आएका पत्रहरुले ब्यवसायी आतंकित र त्रसित भएका छन् । ब्यापार ब्यवसायको अवस्था, शान्तिपूर्ण अवस्थामा स्वेच्छिक अर्थात जर्बजस्ति चन्दाले ब्यवसायीहरुलाई मानसिक रुपमा दबाब परेको छ । विद्यालयहरुबाट चन्दा संकलन गरी लगिसकेको विप्लव समुहले स्वेच्छिक भनेर जर्बजस्ति चन्दा संकलन गरिरहेको ब्यवसायीहरुले आरोप लगाएका छन् ।





