बनेपा/सार्वजनिक जग्गा भोगचलन गर्दै आएका बनेपा नगरपालिका वडा नम्वर २ साविक टुकुचा नाला गाविस वडा नम्वर ८ का कृष्णराज गिरी आफैले खिचलो गरेका छन् । अदालतका सर्भेक्षकको प्रतिवेदनले सरकारी जग्गा ब्यक्तिका नाममा दर्ता गर्ने गरी फैसलाको तयारी भएको छ ।
३ सय वर्ष पुरानो पुरातात्विक महत्वको राधाकृष्ण मन्दिर, चौतारो, पोखरी तथा कुवा समेत मासेर कृष्णराज गिरीले स्थानीय दलितहरुलाई समेत हेप्ने र अछुतको ब्यवहार गर्ने गरेको स्थानीयको आरोप छ । गिरी आफै जग्गा हडप्ने अनि स्थानीय विरुद्ध मुद्दा दर्ता गरे पछि स्थानीयले प्रति उत्तर दर्ता गरी कित्ता नम्वर ३२६ सार्वजनिक भएको प्रमाण पेश गरेका छन् । नापी कार्यालयका विजयकुमार मानन्धरले ३२६ कित्ता नम्वर सबै सार्वजनिक भएकोे प्रतिवेदन २०७५ जेष्ठ १६ गते बुझाएका थिए । बनेपा नगरपालिकाका अमिन विपिन दुलालले समेत उक्त जग्गा सार्वजनिक भएको निश्कर्ष सहितको प्रतिवेदन बुझाएका छन् । तर अदालतका सर्भेक्षक जीवन कार्कीले फिल्डमा उक्त कित्ता जग्गा सार्वजनिक भनेर गएको भए पनि प्रतिवेदन बुझाउँदा १७ आना जग्गा कृष्णराज गिरीको कित्तामा पर्छ भन्दै प्रतिवेदन बुझाए पछि न्यायाधीश दुर्गा खड्काले त्यसकै आधारमा फैसला गर्न खोजेकी थिईन् । स्थानीयहरुको तर्फबाट पुनः नाप नक्साका लागि आदेश हुनुपर्ने भन्दै अदालतका सर्भेक्षकको प्रतिवेदन झुटा भएको जिकिर गरेका छन् । स्थानीयहरुको चर्काे दबाब पछि यसअघि न्यायाधीश दीपकुमार कुमार खरेलले लुटपिट र जग्गा खिचलो मुद्दामा दर्ता श्रेस्ता र ब्लु नक्सा प्रिन्ट प्रमाणित प्रतिलिपि झिकाउन गरेको आदेशलाई नै पुनः खड्काले निरन्तरता दिएकी छिन् । नापी कार्यालय काभ्रेका नापि अधिकृत एवं सुचना अधिकारी सुरेश मानन्धरले कित्ता नम्वर ३२६ सार्वजनिक भएकाले कसैको हकभोग लाग्न नसक्ने बताए । कृष्णराज गिरी आफैले पटक पटक निजी खर्चमा अमिन लगेर जग्गा नाप जाँच गर्दा समेत एउटै प्रतिवेदन आएको थियो ।
कित्ता नम्वर ३२६ को ५ रोपनी ९ आना सार्वजनिक जग्गा हडप्न नदिन स्थानीयहरुले मुद्दामा प्रतिउत्तर लगाउँदै मालपोत कार्यालय काभ्रेमा अर्काे मुद्दा दर्ता गरेका छन् । अदालतबाट खटिएको अमिनले दिएको जग्गा नापको प्रतिवेदनले सरकारी जमिन ब्यक्तिका नाममा दर्ता गर्ने बाटो खुलेको भन्दै स्थानीयले खिचोला र लुटपिटको मुद्दा दर्ता गर्ने कृष्णराज गिरी विरुद्ध अदालत र मालपोत कार्यालयमा उजुरी दिएका छन् । कित्ता नम्वर ३२६ को साँध सिमानामा रहेका जग्गा धनी कृष्णराज गिरीले कित्ता नम्वर ३२८ र ३२९ सँगै ३२६ को जग्गा हडप्दै आएका थिए । २०५२ साल देखि २०७३ सालसम्म सार्वजनिक जग्गा हडप्दै आएका गिरीले २०७५ साल असार २६ गते बनेपा नगरपालिका वडा नम्वर २ घर भएका ४० बर्षिय निलबहादुर गौतम, ३२ बर्षिय सन्तोष भन्ने दिलप्रसाद गौतम, ५० बर्षिय बलबहादुर मिजार, ५० बर्षिय टंकप्रसाद गौतम, वर्ष ४९ का काजिमान मिजार र वर्ष २८ का जिवन मंग्राती विरुद्ध लुटपिट विरुद्ध जिल्ला अदालत काभ्रेपलाचोकमा मुद्दा दर्ता गराएका थिए । कित्ता नम्वर ३२६ मा रहेको सार्वजनिक जग्गामा क्रिया पुत्री आवास निर्माण तथा गहुँ चुट्ने खला ट्रस निर्माणका लागि बनेपा नगरपालिकाले २ लाख रकम विनियोजन गरेको थियो । २०७४ माघ १ गते स्थानीयको भेलाले निलबहादुर गौतमको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेको थियो । स्थानीयको सहभागिता समेत गरी २ लाख ४८ हजार ८ सय २६ रुपैयाँ उक्त ट्रस्ट निर्माणका लागि खर्च गरिएको छ । कृष्णराज गिरीले राधाकृष्ण मन्दिर निर्माण भएको स्थान र चौतारा लगायत सार्वजनिक जग्गामा भकारो सहितको फोहोरमैला थुपारेकाले सरसफाई गर्न र उक्त भकारो तत्काल हटाउन २०७५ भदा १० गते ब्यवस्थापन समितिका अध्यक्ष कविप्रसाद घिमिरेले वडा कार्यालयमा उजुरी दिनु भएको थियो । २०७५ साल जेष्ठ २६ गते स्थानीय ४१ जनाको हस्ताक्षरमा कित्ता नम्वर ३२६ को ५ रोपनी ९ आना जग्गा संरक्षण गर्न बनेपा नगरपालिकाको ध्यानाकर्षण गराईएको थियो । कित्ता नम्वर ३२८ मा ०–१२–३–१÷२ र कित्ता नम्वर ३२९ को ४–४–३–० समेत गरी ५ रोपनी १ आना २ दाम १÷२ जग्गा भित्रै कित्ता नम्वर ३२६ को सार्वजनिक जग्गा १७ आना समेत पर्ने प्रतिवेदन जिल्ला अदालत भक्तपुरका सर्भेक्षक जीवन कार्कीले बुझाएका छन् । कृष्णराज गिरीले आफ्नो ब्यक्तिगत नाममा भएको २ रोपनी जमिन स्थानीयहरुले अतिक्रमण गरी सार्वजनिक जग्गामा ट्रष्ट निर्माण गरेको भन्दै लुटपिटमा मुद्दा दर्ता गरेका हुन् । आफै सार्वजनिक जग्गा हडप्ने र आफै स्थानीय विरुद्ध मुद्दा राखी दुख दिएको भन्दै स्थानीयहरुले त्यस विरुद्ध प्रतिउत्तर लगाउँदै सार्वजनिक जमिन जोगाउन देउसी भैलो खेल्दै मुद्दाका लागि रकम संकलन गरेका छन् ।
सार्वजनिक जग्गा हडप्दै आएका कृष्णराज गिरीले आफ्नो नाममा भएकोे लालपुर्जा अनुसारको जग्गा पाउनु पर्ने बताउँदै कित्ता नम्वर ३२६ नम्वर आफुले प्रयोग नगरेको बताए । गिरीले सार्वजनिक जग्गा २०५२ साल देखि प्रयोग गरेको भए पनि त्यस्तो नभएका बताउँदै बरु स्थानीयहरुले आफ्नो जग्गामा डोजर चलाएर लुटपिट गरेको आरोप लगाए । स्थानीयहरुले नापिको प्रतिवेदन अनुसार वर्षाै देखि सार्वजनिक रहेको जग्गामा डोजर चलाएको बताएका छन् । सार्वजनिक जग्गा बचाउन स्थानीयहरु समिति गठन गरेरै मुद्दाको प्रतिउत्तरमा लागेका छन् ।





