2019 June 27/ 04:36: 21pm

सुरेश मानन्धर
विद्यार्थी, काभ्रे क्याम्पस
बनेपा, काभ्रे

१) आजभोलिको दैनिकी कसरी बित्दैछ ?
सामान्य नै भनौं बिहान ज्ञानकुञ्ज कलेजमा ब्यस्त रहन्छु । दिउँसो धुलिखेलमा ट्रेनिङ्ग चलाउने गरेको छु । साँझतिर साथीभाइ घर परिवार र आफ्नो नियमित पढाईलाई समय दिँदा समय बित्ने गर्दछ ।
२) तपाई डिप्लोमा इन इलेक्ट्रीकल इन्जिनियरिङ गरेको मान्छे किन बिबिएस पढ्नु भो ?
मैले पढेको इन्जिनियरिङ यो ब्यवहारिक शिक्षा हो । यसैमा ब्याचलर मास्टर गर्न पनि सकिन्छ । तर नेपालमै केहि गर्नका लागी डिप्लोमा काफी छ र पनि ब्याचलर त गर्नु पर्यो र नेपालमा ब्यवस्थापन संकायको महत्व ज्यादा छ भन्ने बुझेर नै मैले बिबिएस अध्ययन शुरु गरेको हो ।
३) तपाईले यि दुई विषय मध्ये कुनको भविष्य कस्तो देख्नुभएको छ ?
अवसरका हिसाबले त इलेक्ट्रिकल इन्जिनियरिङ नै राम्रो हो । हामी जलश्रोतको जलश्रोतको धनी देशमा छौं र उर्जा शक्ति अत्यधिक मात्रामा पानीबाटै निकालिन्छ त्यसका लागी हामी जस्ता प्राबिधिककै खाँचो पर्छ । तर ब्यवस्थापन संकायको पनि महत्व उत्तिकै छ र अवसर पनि ।
४) जीवनमा के गर्छु भन्ने लक्ष्य लिनु भएको छ ?
एक सफल कुलमान घिसिङ बन्ने मेरो लक्ष्य हो । हुन त म उहाँ जत्तिको नहुँला तर पनि उहाँबाट हामी जस्ता धेरैलाई प्रेरणा मिलेको छ । र हाम्रो देशलाई माथी लैजाने हो भने उर्जामा लगानी गर्ने र उत्पादनलाई ब्यवस्थित गरेर बेच्न जरुरी छ ।
५) नेपालमा रोजगारी नै छैन भनेर बिरक्तिने र बिदेशिने युवा प्रशस्तै छन् । के साँच्चै नेपालमा अवसर र रोजगारी छैन ?
अवसर नै छैन भन्न चाँही मिल्दैन हामी कहाँ ३ प्रकारका मानिस छन् । दक्ष, अर्ध दक्ष र अदक्ष । दक्षका लागी उचित काम र पारिश्रमिक छैन र सामान्य मानिसको संख्या धेरै छ उनिहरुले कुनै बाटो देख्दैनन् त्यसैले गर्दा अवसर नभए जस्तो हुनु र बिरक्तिनु सामान्य कुरा हो ।
६) यो देश आजसम्म नबन्नुको कारण के जस्तो लाग्छ ? हाम्रै पालामा देश बन्नेमा बिश्वस्त हुनुहुन्छ ?
राजनैतिक अस्थिरता भिजन नभएका नेता र भ्रष्ट कर्मचारीका कारण देशले सोचे अनुसार प्रगति गर्न नसकेको हो जस्तो लाग्छ । भएका दक्ष जनशक्ति, राम्रो शैक्षिक क्षमता भएका विद्यार्थी र सम्भावना भएका युवा बिदेश छन् अनि हामी हाम्रो देश विकासको कल्पना गर्छौ । र पनि अझै सम्म सबै बिग्री सकेको छैन चाहे देश अझै पनि बन्न र बनाउन सकिन्छ ।
७) तपाईलाई बिचारमा कसो गरेमा देशको चाँडो विकास होला जस्तो लाग्छ ?
नाताबाद कृपावाद अन्त्य हुनुपर्छ । क्षमता अनुरुपको जिम्मेवारी दिइनुपर्दछ । साथै देशका स्रोतको सहि सदुपयोग गर्नुपर्छ । देशमा ठुला कलकारखानाहरु खुल्ने वातावरण गराउन पर्छ । यसो गरे देश विकास तिव्र रुपले गति लिन्छ ।
८) राजनीतिमा रुचि राख्नुहुन्छ ? किन ?
राजनीति गरौं भन्ने रुची छैन तर राजनीतिलाइ बुझ्न मन पराउँछु । विकासका लागी राजनीतिले नै सपोर्ट गर्ने हो त्यसैले राजनीति नराम्रो हैन स्वच्छ हुँदा हामीहरु पनि समर्थक बन्नु र राजनीतिमा लाग्नु अचम्मको बिषय हैन ।
९) मायामा फसिन्छ कि फसाइन्छ ? मायामा धोका किन हुन्छ ?
माया अनायासै हुन्छ भन्ने अलिक पुरानो कुरा हो । आजभोलि त तयारी सहित माया गरिन्छ त्यसैले कोहि फस्लान कसैले फसाउलान् जस्तो लाग्छ । आजभोलिको माया प्रेम अलिक स्वार्थी नै हुन्छ लामो रिलेशन खासै देखिन्नँ त्यसैले मायामा धोका भएको पाइन्छ ।
१०) अन्त्यमा.....................
अन्त्यमा सिप सिकौ रोजगार बनौं । सकेसम्म देशमै बसेर केहि गरौं । साथै मेरो बिचार राख्ने अवसर दिनु भएकोमा चेष्टा साप्ताहिक परिवारलाई हार्दिक धन्यवाद ।