2024 March 29/ 12:40: 28pm

मन्दीप रेग्मी
प्रोपाइटर 
ॐ शान्ति टेलरिड्ड सेन्टर, बनेपा

- आजभोलिको दैनिकी कसरी बित्दैछ ?
    आजभोलि दैनिकी व्यापार व्यवसायतिरै व्यस्त छु ।  
- ब्यवसायहरु कस्तो चलिरहेको छ नि ? 
    व्यवसाय आफूले सोचेभन्दा धेरै फरक पाएको छु , जे होस् ग्राहक महानुभावहरुले सोचेको जस्तो कपडा अनि सिलाई र सिलाईमा पनि नयाँ नयाँ डिजाईन अनुसार सिलाई तथा विक्री गरिरहेको छु । ग्राहकहरु ॐ शान्ति टेलरिङ खोजी खोजी आउनुहुन्छ ।
- नेपालमा व्यवसाय गर्न कत्तिको सहज छ ? 
    नेपालमा व्यवसाय गर्न सोचेजस्तो सहज छैन । व्यवसाय गर्नको लागि आवश्यक पूँजीको अभावले व्यवसाय गर्न सकिरहेको अवस्था छैन । तसर्थ जुझारु युवाहरु विदेशपलायन तर्फ अग्रसर देखिन्छन् । त्यस्तै नेपालमा व्यवसाय गर्छु भन्नेहरुका लागि उचित वातावरण तथा सरकारको पनि सहयोग देखिदैन । 
- तपाईको भावी योजना के छ ?
    मेरो भावी योजना भनेको मेरो व्यवसायबाट ग्राहकहरुलाई उच्चतम् सन्तुष्टि दिलाउनु रहेको छ । 
- राजनीतिमा कत्तिको रुची राख्नुहुन्छ ? युवा राजनीतिमा लाग्नु जरुरी छ ?
    राजनीतिमा आफूलाई रुची राख्छु । त्यसो त म लोकतान्त्रिक फोरमको जिल्ला सदस्य पनि भएको थिएँ । पात्लेखेत गाविसमा फोरमबाट संयन्त्र प्रतिनिधि भएर ४ वर्ष काम गरेको थिएँ । वर्तमान समयमा युवा राजनीतिमा लाग्नु आवश्यक छ । किनकी देशको पछिल्लो स्थिति हेर्दा देशमा युवाहरु उच्च तहमा पुग्नुपर्ने आवश्यकता खड्किएको छ । देश हाँक्न युवालाई पनि अवसर दिइनु पर्छ । होइन भने उर्जाशील शिक्षित युवाहरु खाडी गएर अरुको देश निर्माण गर्न बाध्य हुनुपर्ने हुन्छ । 
- देश विकासमा सरकारको कस्तो भूमिका हुनुपर्छ ? 
    देश विकास गर्न सर्वप्रथम सर्वसुलभ व्याजदरको प्रणाली ल्याउन आवश्यक छ, त्यस्तै युवा लक्षित, सीपमूलक स्वरोजगारको कार्यक्रम ल्याउन आवश्यक छ । युवाहरुले गर्न चाहेको व्यवसाय तथा रोजगारमूलक कार्यक्रमहरुमा सरकारको अनुदान तथा सहुलियत हुनु आवश्यक छ । यसो भएमा युवाहरु देशमै केही गर्न सक्छन् । सरकारले युवाहरुलाई पनि प्राथमिकतामा राख्नु आवश्यक देखिन्छ । 
- प्रेममा विश्वास गर्नुहुन्छ ? प्रेम विवाह कि मागी विवाह ?
    प्रेममा विश्वास आवश्यक भएको कारण विश्वास गर्छु । विश्वास विना प्रेम असम्भव छ । मैले पनि प्रेम विवाह गरेको हुनाले प्रेम विवाह उचित लाग्छ । किनभने एकअर्कालाई विवाह पूर्व एकअर्काको बानीव्यहोरा थाहा पाउने भएकोले यसले विवाह पछि खासै समस्या ल्याउँदैन । प्रेममा आत्मीयता हुन्छ ।
- रोजगारीको लागि नेपालमा कस्तो व्यवसाय ठिक हुन्छ ? 
    विशेषगरी नेपालमा छोटो समयमा प्रतिफल दिने पशुपालन, तरकारी खेती व्यवसाय ठीक हुन्छ जस्तो लाग्छ । 
- नेपालमै अवसर हुदा पनि विदेशिने युवाहरुलाई के भन्नुहुन्छ ?     
    नेपालमा अवसर त छ तर व्यवसाय गर्छु भन्ने वातावरण छैन । सबै क्षेत्रमा विचौलियाको हावी छ । तसर्थ कृषि क्षेत्रमा लागेका किसानहरु मर्कामा परेका छन् । व्यवसायमा पनि राज्यको सहयोग खासै छैन । तसर्थ युवाहरु विरक्तिएर विदेश पलायन हुन बाध्य हुनुपरेको छ । तर कोही युवाहरु भने देशमै सम्भावनाहरु खोजेर आफू र अरुलाई समेत रोजगार दिलाउन सफल भएका पनि छन् ।
- अन्तमा.......
    युवाहरु देश निर्माणमा लागि परौं । राजनीतिमा चासो देखाऔं । देशमै रोजगारका सम्भावनाहरु पत्ता लगाऔं । आफू मात्र रोजगार नभई अरुलाई समेत रोजगार दिलाउने अभियानमा जुटौं । वैदेशिक मोह त्यागेर देशमै आफ्नो परिश्रम बगाऔं भन्न चाहन्छु । अन्तमा चेष्टा परिवारलाई धेरै धेरै धन्यवाद ।