2026 June 25/ 04:29: 11pm

    धुलिखेल/धुलिखेल अस्पतालले विष सेवन, विषादीको प्रयोगबाट हुने आत्महत्या तथा विषादीका कारण मानव स्वास्थ्यमा पर्ने असर र सम्भावित जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला निकायहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । 
    कार्यक्रममा स्वास्थ्यकर्मी, कृषि क्षेत्रका प्रतिनिधि, अनुसन्धानकर्ता, विषादी व्यवसायी, किसान तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै स्त्रीरोग विशेषज्ञ प्रा. डा. सुमनराज ताम्राकारले कृषि क्षेत्रमा प्रयोग भइरहेका विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको बताए । उनका अनुसार विषादीको अत्यधिक प्रयोगका कारण गर्भवती महिलाहरूमा गर्भ खेर जाने, महिलाहरूमा विभिन्न प्रकारका क्यान्सर देखिने तथा अन्य स्वास्थ्य समस्या बढ्दै गएका छन् । तरकारी तथा खाद्यान्न उत्पादनमा प्रयोग गरिने विषादीको प्रत्यक्ष प्रभाव मानव जीवनमा देखिन थालेकाले यसको नियन्त्रण र न्यूनीकरणका लागि सबै पक्षको ध्यान केन्द्रित हुनुपर्ने उनले जोड दिए ।
    फरेन्सिक विशेषज्ञ डा. पंकजकुमार सिंहले विषादी प्रयोग गरेर आत्महत्या गर्ने घटनामा केही कमी आएको देखिए पनि आवश्यक स्तरको जनचेतना अझै अभाव रहेको बताए । उनले धुलिखेल अस्पतालमा २०७७ सालदेखि सुरु भएको पोस्टमार्टम सेवापछि गरिएको अनुसन्धानले आत्महत्यासम्बन्धी केही गम्भीर तथ्य उजागर गरेको जानकारी दिए । अनुसन्धानका क्रममा एउटै परिवारमा पटक–पटक आत्महत्याका घटना दोहोरिने तथा एउटै व्यक्तिले पनि एकभन्दा बढी पटक आत्महत्याको प्रयास गर्ने गरेको पाइएको उनले बताए । डा. सिंहका अनुसार पोस्टमार्टमपछि आवश्यक परीक्षणका लागि पठाइएका केही नमुनाको प्रतिवेदन भने हालसम्म फरेन्सिक साइन्स ल्याबबाट प्राप्त हुन सकेको छैन । यसले अनुसन्धान तथा तथ्याङ्क विश्लेषणमा चुनौती थपिएको उनको भनाइ थियो ।
    धुलिखेल अस्पतालको आकस्मिक सेवा विभागका डा. सानुकृष्ण श्रेष्ठले व्यक्तिगत रूपमा प्रयोग हुने विष तथा विषादीबारे चर्चा हुने गरे पनि सामूहिक रूपमा प्रयोग हुन सक्ने विषादी र त्यसबाट उत्पन्न हुन सक्ने आकस्मिक अवस्थाको पूर्वतयारीतर्फ पर्याप्त ध्यान नपुगेको बताए । यस्ता घटनाको व्यवस्थापन र उपचारका लागि स्वास्थ्य संस्थाहरूलाई थप सक्षम बनाइनुपर्ने उनको सुझाव थियो । सोही विभागका डा.राजकुमार दंगालले विषादी सेवनबाट मृत्यु हुनेको संख्या क्रमशः घट्दो अवस्थामा रहेको उल्लेख गर्दै समुदायस्तरमा अझै पर्याप्त चेतना अभिवृद्धि हुन नसकेको बताए । उनले विषादीको सुरक्षित प्रयोग, भण्डारण तथा जोखिमबारे जनतालाई जानकारी गराउन स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक श्यामसुन्दर यादवले चालु आर्थिक वर्षमा काभ्रेपलाञ्चोक जिल्लामा मात्रै १७ जनाले विष सेवन गरी आत्महत्या गरेको तथ्याङ्क प्रस्तुत गरे । उनले आत्महत्या रोकथामका लागि समुदाय, परिवार र सम्बन्धित निकायबीच समन्वयात्मक कार्य आवश्यक रहेको बताए । जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपतिले जिल्लामा भइरहेको विषादीको प्रयोग, त्यसबाट उत्पन्न स्वास्थ्य तथा वातावरणीय समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी दिँदै सबै क्षेत्रको सकारात्मक सहभागिता अपरिहार्य रहेको बताइन् । उनले विषादी व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारी निकाय, किसान, व्यवसायी तथा स्वास्थ्य क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् । बनेपास्थित शिर मेमोरियल अस्पतालका प्रतिनिधिले जेठ महिनामा मात्रै १४ जना विष सेवन गरेका बिरामी उपचारका लागि भर्ना भएको जानकारी दिएका थिए । उक्त तथ्याङ्कले विषादी तथा अन्य विषालु पदार्थको प्रयोगसँग सम्बन्धित समस्या अझै गम्भीर रहेको संकेत गरेको सहभागीहरूको भनाइ थियो ।
    अन्तरक्रियामा सहभागीहरूले आत्महत्याको दर घटाउन, विषादीको सुरक्षित प्रयोग सुनिश्चित गर्न तथा त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि सबै पक्षको सक्रियता बढाउनुपर्ने सुझाव दिएका थिए । उनीहरूले विद्यालय, समुदाय र कृषि क्षेत्रमा लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै विषादीको सुरक्षित व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । कार्यक्रमले विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य, वातावरण तथा सामाजिक जीवनमा पारिरहेको प्रभावबारे गम्भीर बहस सिर्जना गर्नुका साथै आत्महत्या रोकथाम र जोखिम न्यूनीकरणका लागि सामूहिक प्रयासको आवश्यकता पुनः उजागर गरेको सहभागीहरूको निष्कर्ष थियो ।