2026 November 27/ 08:01: 54pm

    चौरीदेउराली गाउँपालिकाको एउटा गाउँ । बिहान हुन्छ । घाम लाग्छ । गाउँका घरहरू खुल्छन् । कतै चुलो बल्छ, कतै आँगनमा घाम ताप्ने क्रम सुरु हुन्छ । तर गाउँका धेरै घरमा पहिलेको जस्तो चहलपहल छैन । बालबालिकाको आवाज सुनिँदैन । युवाहरूको जमघट देखिँदैन । खेतबारीमा काम गर्ने हातहरू घटेका छन् । गाउँको बाटोमा मानिसको आवतजावत पातलिएको छ । गाउँको एउटा घरमा ८० वर्ष पुगेका वृद्ध दम्पत्ति बस्छन् । उमेरले शरीर थकित बनाइसकेको छ । हातखुट्टाले पहिलेझैँ काम गर्दैनन् । आँखा कमजोर हुँदै गएका छन् । तर जीवनको जिम्मेवारी अझै आफ्नै काँधमा छ ।
    उनीहरूका पाँच सन्तान छन् । तीन जना खाडी मुलुकमा छन् । बाँकी सन्तान पनि रोजगारी र अवसरको खोजीमा घरबाहिर छन् । घरमा छन् त केवल वृद्ध बाबुआमा । पाँच सन्तान जन्माए, हुर्काए, पढाए र आफ्नो क्षमताले भ्याएसम्म उनीहरूको भविष्य बनाउन संघर्ष गरे । कुनैबेला यही घरमा छोराछोरीको हाँसो गुञ्जिन्थ्यो । घरमा कामको चाप हुन्थ्यो । चाडपर्व आउँदा रमाइलो हुन्थ्यो । परिवारका सदस्यहरू एकै ठाउँमा बसेर सुखदुःख साट्थे । आज त्यही घरमा बुढेसकालका दुई जना मात्र छन् । सन्तानले घर छाड्नु उनीहरूको रहर थिएन । गाउँमा पर्याप्त रोजगारी छैन । अवसर सीमित छन् । छोराछोरीलाई राम्रो र व्यवस्थित विद्यालयमा पढाउनुपर्छ । बिरामी पर्दा नजिकै राम्रो अस्पताल हुनुपर्छ । परिवारलाई सुरक्षित र सहज जीवन दिनुपर्छ । यी आवश्यकताले नयाँ पुस्तालाई गाउँबाट शहर र विदेशतिर धकेलेको छ । 
    आमाबाबुले पनि सन्तानको भविष्यका लागि उनीहरूलाई घरबाहिर जान रोकेनन् । बरु आफ्नो दुःख लुकाएर उनीहरूको बाटो सहज बनाइदिए । तर सन्तानको भविष्य बनाउने क्रममा आफ्नै बुढेसकाल कति एक्लो बन्छ भन्ने कुरा सायद त्यतिबेला सोचिएको थिएन । अहिले दैनिक खाना बनाउने, पानीको व्यवस्था गर्ने, सरसफाइ गर्ने र घरको सामान्य काम गर्ने जिम्मेवारी बृद्ध दम्पतिकै छ । उमेरले साथ नदिए पनि काम रोकिँदैन । सकिनसकी आफैँ गर्छन् । कहिलेकाहीँ छिमेकी र आफन्तले सहयोग गरिदिन्छन् । तर छिमेकी र आफन्तले पनि सधैँ समय दिन सक्ने अवस्था हुँदैन । सबैभन्दा ठूलो समस्या बिरामी पर्दा हुन्छ । ८० वर्षको उमेरमा सामान्य बिरामी पनि ठूलो चुनौती बन्न सक्छ । अस्पताल जानुपर्छ, जाँच गराउनुपर्छ, औषधि ल्याउनुपर्छ । तर अस्पतालसम्म पु¥याउने मान्छे नै सहजै उपलब्ध हुँदैन । सधैँ कसले लैजाओस् ? कहिलेकाहीँ गाउँलेले सहयोग गर्छन् । कहिलेकाहीँ सन्तान आइपुग्छन् । तर बिरामीले सन्तान आउने समय कुरेर बस्न सक्दैन ।
    अझ अर्को समस्या छ, प्रविधिसँग अपरिचित बुढेसकाल । आजको संसार मोबाइल फोनमा अटाएको छ । विदेशमा रहेका सन्तानसँग कुरा गर्न मोबाइल चाहिन्छ । तर उनीहरूलाई फोन चलाउनसमेत सहज छैन । फोनको बटन थिचेर सम्पर्क गर्न जान्दैनन् । प्रविधिको विकासले संसार नजिक बनाएको छ, तर उनीहरूका लागि त्यो दूरी घटाउन पनि सजिलो छैन । सन्तानले चाहेर पनि सधैँ सँगै बस्न सक्दैनन् । विदेशमा रोजगारी, आफ्नै परिवार र छोराछोरीको जिम्मेवारी छ । उनीहरू पनि बाध्यतामा छन् । तर गाउँमा रहेका बाबुआमाको जीवनको अर्को पाटो छ, जुन मोबाइलको पर्दाबाट देखिँदैन । बुढेसकालमा मानिसलाई धेरै कुरा चाहिँदैन । बिहानबेलुका खान पाए पुग्छ । बिरामी पर्दा अस्पताल पु¥याउने मान्छे भए पुग्छ । औषधि खान सम्झाइदिने कोही भए पुग्छ । कहिलेकाहीँ छेउमा बसेर कुरा गरिदिने मान्छे भए पुग्छ । तर यी सामान्य आवश्यकता पनि पूरा गर्न कठिन भइरहेको छ । यो एउटा घरको कथा मात्र होइन । चौरीदेउरालीका विभिन्न बस्तीमा देखिन थालेको बदलिँदो सामाजिक अवस्थाको एउटा प्रतिनिधि चित्र हो ।
    संघीयता कार्यान्वयनसँगै स्थानीय सरकार नागरिकको नजिक पुगेको भनियो । गाउँगाउँमा सडक पुग्यो । विद्यालयका भवन बने । स्वास्थ्य संस्थाका संरचना निर्माण भए । वडा कार्यालय र गाउँपालिकाका भवन बने । विकासका संरचना देखिन थाले । स्थानीय सरकारको उपस्थितिले गाउँमा परिवर्तन ल्याएको छ । तर विकासका संरचना बनेसँगै नागरिकका सबै समस्या समाधान भएका छन् त ? चौरीदेउरालीका ८० वर्षीय वृद्ध दम्पत्तिको जीवनले यो प्रश्न उठाउँछ ।
    उनीहरूका लागि सडक बनेको छ कि छैन भन्नेभन्दा पनि बिरामी पर्दा अस्पताल पु¥याउने मान्छे छ कि छैन भन्ने कुरा महत्वपूर्ण छ । स्वास्थ्य चौकी छ कि छैन भन्नेभन्दा पनि आवश्यक औषधि घरसम्म आइपुग्छ कि पुग्दैन भन्ने कुरा महत्वपूर्ण छ । सरकारले सामाजिक सुरक्षा भत्ता दिन्छ कि दिँदैन भन्नेभन्दा पनि दैनिक जीवनमा चाहिने सहयोग कसरी प्राप्त हुन्छ भन्ने कुरा महत्वपूर्ण छ । यी वृद्ध दम्पतीले सामाजिक सुरक्षा भत्ता पाउँछन् । गाउँमा स्वास्थ्य शिविर सञ्चालन हुँदा सहभागी हुन बोलाइन्छ । तर उमेरले थलिएका उनीहरूका लागि शिविरसम्म पुग्नु नै सहज छैन । जान सक्ने भए जान्छन्, नसके छुट्छन् । त्यसपछि के हुन्छ भन्ने प्रश्न अनुत्तरित रहन्छ । यहीँनेर सरकारी सेवा र नागरिकको वास्तविक आवश्यकताबीचको दूरी देखिन्छ । स्वास्थ्य शिविर आयोजना गर्नु सकारात्मक काम हो। तर ८० वर्ष पुगेका, एक्लै बस्ने र हिँडडुल गर्न कठिनाइ हुने नागरिकका लागि शिविरसम्म बोलाउनु मात्रै पर्याप्त हुँदैन । सेवा उनीहरूको घरसम्म पुग्नुपर्छ ।
    डाक्टरले औषधि लेखिदिन्छन् । औषधि खानुपर्छ भन्ने थाहा हुन्छ । तर कुन औषधि बिहान खाने, कुन बेलुका खाने, खाना खानुअघि कि पछि खाने भन्ने कुरा सम्झन पनि कठिन हुन्छ । औषधि खान बिर्सिने समस्या हुन्छ । कहिलेकाहीँ एउटै औषधि खाइसकेको पनि याद नहुन सक्छ । यस्तो अवस्थामा औषधि व्यवस्थापनमा सहयोग गर्ने व्यक्ति चाहिन्छ । नियमित स्वास्थ्य परीक्षण चाहिन्छ । आवश्यक परे घरमै पुगेर स्वास्थ्य अवस्था बुझ्ने व्यवस्था चाहिन्छ । तर सबै कुरा व्यक्तिको आफ्नै भरमा छोडिएको जस्तो अवस्था देखिन्छ । स्थानीय सरकारका पनि आफ्नै सीमा छन् । बजेट सीमित छ । जनशक्ति पर्याप्त नहुन सक्छ । भौगोलिक कठिनाइ छन् । धेरै प्रकारका जिम्मेवारी छन्। सबै काम एकैपटक गर्न सम्भव नहुन सक्छ । तर योजनाको प्राथमिकता निर्धारण गर्दा सबैभन्दा कमजोर र असहाय नागरिकलाई केन्द्रमा राख्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्न महत्वपूर्ण छ ।
    विकासको अर्थ सडकको लम्बाइ बढ्नु मात्र होइन । विद्यालयको भवन थपिनु मात्र होइन । सरकारी कार्यालयको संरचना बन्नु मात्र होइन । विकास भनेको नागरिकको जीवन सहज हुनु हो । एक्लै बस्ने ज्येष्ठ नागरिकका लागि विकास भनेको घरमा पानी उपलब्ध हुनु हो । औषधि समयमै पाउनु हो । बिरामी पर्दा अस्पतालसम्म पुग्ने व्यवस्था हुनु हो । नियमित रूपमा कसैले आएर स्वास्थ्य र अवस्थाबारे सोध्नु हो । एउटा भवन बनाउन बजेट छुट्याइन्छ । सडक निर्माणका लागि योजना बनाइन्छ । तर गाउँमा कति जना ज्येष्ठ नागरिक एक्लै बस्छन् ? कति जनालाई दैनिक सहयोग चाहिन्छ ? कति जनालाई औषधि खान सम्झाउने मान्छे छैन ? कति जनालाई अस्पताल पु¥याउने व्यक्ति छैन ? यस्ता प्रश्नलाई पनि स्थानीय योजनाको हिस्सा बनाउनुपर्ने देखिन्छ । स्थानीय सरकारले प्रत्येक वडामा एक्लै बस्ने ज्येष्ठ नागरिकको विवरण तयार गर्न सक्छ । स्वास्थ्यकर्मीलाई नियमित घरदैलो सेवामा परिचालन गर्न सक्छ । महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, युवा समूह र स्थानीय सामाजिक संस्थासँग समन्वय गर्न सक्छ । 
    आपत्कालीन अवस्थामा अस्पताल पु¥याउने सम्पर्क व्यक्ति र यातायातको व्यवस्था गर्न सक्छ । औषधि सेवनमा सहयोग गर्ने प्रणाली बनाउन सक्छ । यी कामका लागि ठूला भवनभन्दा प्रभावकारी व्यवस्थापन, जिम्मेवार जनशक्ति र निरन्तरता आवश्यक छ । राजनीतिक प्रतिबद्धता व्यक्त गर्नु एउटा कुरा हो । त्यसलाई नागरिकले दैनिक जीवनमा अनुभूति गर्न सक्ने सेवामा रूपान्तरण गर्नु अर्को कुरा हो । आज प्रश्न सडक बनेन भन्ने मात्र होइन । प्रश्न सडक बनेपछि त्यसको उपयोग गरेर बिरामी वृद्धलाई अस्पतालसम्म कसले पु¥याउँछ भन्ने हो । स्वास्थ्य संस्था बनेन भन्ने मात्र होइन। प्रश्न स्वास्थ्य संस्था बनेपछि घरमै थलिएका वृद्धको स्वास्थ्य कसले बुझ्छ भन्ने हो । गाउँमा स्थानीय सरकार छ । तर एक्लिएका नागरिकको घरमा सरकारको उपस्थिति कति अनुभूति भएको छ ? यो प्रश्न चौरीदेउरालीको एउटा वृद्ध दम्पतीको जीवनले स्थानीय सरकारसमक्ष राखिरहेको छ ।
    गाउँ रित्तिँदै छ, समाज कता जाँदै छ ? सन्तान फर्किने वातावरण बनाउने कि वृद्धवृद्धालाई एक्लै बाँच्न बाध्य बनाउने ? गाउँमा घर छन्, तर घरभित्र मान्छे छैनन् । खेतबारी छन्, तर खेती गर्ने हात घटेका छन् । विद्यालयका भवन छन्, तर विद्यार्थी संख्या घट्दै गएको छ । गाउँका बाटाहरू छन्, तर हिँड्ने मान्छे पातलिएका छन् । कुनै समय गाउँको बिहान चराचुरुङ्गीको आवाजसँगै मानिसहरूको चहलपहलले सुरु हुन्थ्यो । घरघरमा चुलो बल्थ्यो । मेलापात हुन्थ्यो । चौतारीमा भेटघाट हुन्थ्यो । छिमेकीबीच आत्मीयता थियो । कसैको घरमा दुःख पर्दा गाउँ नै जुट्थ्यो । अहिले गाउँको सामाजिक जीवन बदलिएको छ । युवा रोजगारीका लागि बाहिर छन् । बालबालिका शहरका विद्यालयमा छन् । कतिपय परिवार विदेशमै स्थायी बसोबासको तयारीमा छन् । गाउँमा बाँकी छन् त अधिकांशतः उमेरले थकित भएका वृद्धवृद्धा । यो परिवर्तनलाई केवल सन्तानले बाबुआमा छाडे भनेर बुझ्नु उचित हुँदैन । उनीहरू किन गाउँ छाड्न बाध्य भए भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । 
    गाउँमा रोजगारी छैन । गुणस्तरीय शिक्षा सहज छैन । स्वास्थ्य सेवामा सीमितता छ । यातायात र अन्य आधारभूत सुविधाको अभाव छ । आफ्ना छोराछोरीलाई राम्रो शिक्षा र सुरक्षित भविष्य दिन चाहने अभिभावकले अन्ततः गाउँ छाड्नुपर्ने अवस्था आउँछ । यसरी एउटा पुस्ता अवसरको खोजीमा बाहिरिन्छ र अर्को पुस्ता गाउँमै एक्लिन्छ । चौरीदेउरालीका ८० वर्षीय दम्पत्तिको अपेक्षा पनि ठूलो छैन । उनीहरूका पाँच सन्तान छन् । उनीहरूको चाहना सन्तानले आफ्नो अवस्था हेरून्, समय मिलाएर साथ दिऊन् र गाउँमा बस्न सक्ने वातावरण बनोस् भन्ने छ । यो अपेक्षा केवल एउटा परिवारको होइन । गाउँमा एक्लिएका धेरै बाबुआमाको साझा चाहना हो । उनीहरू सन्तानलाई विदेश नजानू भन्न सक्दैनन् । किनकी सन्तानको पनि आफ्नै बाध्यता छ । तर जीवनको उत्तरार्धमा आफूहरूलाई पूर्ण रूपमा एक्लो नबनाइदिऊन् भन्ने अपेक्षा अवश्य हुन्छ । सन्तानले पैसा पठाउनु मात्रै पर्याप्त हुँदैन । समय पनि दिनुपर्छ । स्वास्थ्य अवस्थाबारे बुझ्नुपर्छ । सम्भव भएसम्म नियमित भेटघाट गर्नुपर्छ । आवश्यक परेको बेला घर फर्किन सक्ने व्यवस्था मिलाउनुपर्छ । अर्कोतर्फ राज्यले पनि नागरिकलाई गाउँमै बस्न सक्ने वातावरण निर्माण गर्नुपर्छ । गाउँमा रोजगारी सिर्जना हुनुपर्छ । कृषि र स्थानीय उत्पादनको बजार सुनिश्चित हुनुपर्छ । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर बढ्नुपर्छ । युवालाई गाउँमै भविष्य देख्न सक्ने अवसर दिनुपर्छ । गाउँमै आम्दानी र अवसर भए परिवारका सदस्यहरू अनिवार्य रूपमा टाढिनुपर्ने बाध्यता कम हुन सक्छ । अर्को महत्वपूर्ण विषय सामाजिक सुरक्षा र ज्येष्ठ नागरिकको हेरचाह हो ।
    सरकारले वृद्धभत्ता वितरण गरेर आफ्नो जिम्मेवारी पूरा भएको ठान्नु हुँदैन । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकको अधिकार हो । तर त्यससँगै उनीहरूको स्वास्थ्य, सुरक्षा, पोषण र सामाजिक सहभागिताको व्यवस्था पनि आवश्यक छ । एक्लै बस्ने ज्येष्ठ नागरिकको घरघरमा पुग्ने नियमित सेवा आवश्यक छ । घरमै स्वास्थ्य परीक्षण, औषधि सेवनमा सहयोग, आपत्कालीन यातायात र नियमित भेटघाटको व्यवस्था हुनुपर्छ । टोल र समुदायमा ज्येष्ठ नागरिकको हेरचाह गर्ने सामाजिक संयन्त्र विकास गर्नुपर्छ । स्थानीय युवा, महिला समूह र सामाजिक संस्थालाई यसमा सहभागी गराउन सकिन्छ । गाउँ रित्तिँदै जानु केवल जनसंख्याको समस्या होइन । यो सामाजिक सम्बन्ध, पारिवारिक संरचना र सामुदायिक सुरक्षासँग जोडिएको विषय हो । अर्कोतिर शहरमा पनि मानिसको भीड बढेको छ । तर शहरमा पनि सबैले सुरक्षित र आत्मीय जीवन पाएका छैनन् । महँगी, बेरोजगारी, असुरक्षा, चोरी र लुटपाटका घटनाले नागरिकमा चिन्ता थपेका छन् । कतिपय ठाउँमा बाहिरबाट हेर्दा शान्त देखिने समाजभित्र डर, अविश्वास र एक्लोपन बढ्दै गएको अनुभूति हुन्छ ।
    गाउँको सुनसान र शहरको भीडबीच मानिसले खोजेको सुरक्षित र सम्मानित जीवन कहाँ छ ? हामीले विकासको चर्चा गर्दा भौतिक संरचनालाई प्राथमिकता दियौँ । सडक, भवन, विद्यालय र अन्य पूर्वाधार बने । तर ती संरचनासँगै मानवीय सम्बन्ध, सामाजिक सुरक्षा र नागरिकको दैनिक जीवनलाई पनि उत्तिकै महत्व दिन सक्यौँ कि सकेनौँ ? आज चौरीदेउरालीका ८० वर्षीय ती दम्पतीको जीवनले हामीलाई यही सोच्न बाध्य बनाउँछ । उनीहरूले जीवनभर परिवार बनाए । सन्तान हुर्काए । समाज निर्माणमा योगदान दिए । आज उनीहरूलाई कसैको सहारा चाहिएको छ । उनीहरूको जीवनको उत्तरार्धमा राज्यले आफ्नो उपस्थिति देखाउनुपर्छ । स्थानीय सरकारले उनीहरूलाई तथ्यांकको एउटा संख्या मात्र होइन, हेरचाह आवश्यक भएको नागरिकका रूपमा हेर्नुपर्छ । सन्तानले पनि आफ्नो व्यस्त जीवनबीच बाबुआमाका लागि समय र जिम्मेवारी छुट्याउनुपर्छ । किनकी वृद्धावस्था कुनै एक परिवारको समस्या मात्र होइन । आजका वृद्धवृद्धा हिजोका युवा हुन् । आजका युवा भोलिका वृद्धवृद्धा हुन् । हामीले आज ज्येष्ठ नागरिकलाई कस्तो व्यवहार गर्छौँ, भोलि हाम्रो समाजले हामीलाई पनि त्यस्तै व्यवहार गर्नेछ ।
    अन्ततः प्रश्न एउटा छ–गाउँमा घरहरू छन्, सडक छन्, विद्यालय छन्, सरकारी भवन छन् । तर त्यहाँ बस्ने मान्छे छैनन् भने त्यो विकास कसका लागि ? ८० वर्षको उमेरमा आफ्नै घरमा एक्लै जीवन गुजारिरहेका बाबुआमाको हात समात्न कोही छैन भने हाम्रो विकासको मानवीय अर्थ के रहन्छ ? गाउँलाई सडकले मात्र बचाउँदैन । गाउँलाई मानिस चाहिन्छ । गाउँमा बस्ने वातावरण चाहिन्छ । एकअर्काको दुःख बुझ्ने समाज चाहिन्छ । र बुढेसकालमा कसैलाई पनि आफू एक्लो छैन भन्ने भरोसा चाहिन्छ । चौरीदेउरालीका ती वृद्ध दम्पत्ति एउटा घरको कथा हो । तर यो कथा पढेपछि प्रत्येक सन्तानले आफ्ना बाबुआमा सम्झियोस्, प्रत्येक स्थानीय सरकारले आफ्नो गाउँका एक्लिएका ज्येष्ठ नागरिक सम्झियोस् र राज्यले आफ्नो जिम्मेवारी सम्झियोस् । त्यसैले आजको प्रश्न फेरि पनि उही हो–गाउँमा घर छन्, मान्छे छैनन् । घरमा बाबुआमा छन्, सन्तान छैनन् । उनीहरूको बुढेसकाल कसले सम्हाल्ने ? 

राजु चौलागाई
चौरीदेउराली, काभ्रे