मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा २०८३ साल भदौ १५ गतेको मतदाता अद्यावधिक विवरणअनुसार १३ स्थानीय तहका १३५ वडामा ३ लाख २८ हजार ४० मतदाता रहेका छन् । निर्वाचनको मिति घोषणा नहुँदै विगतका समेत तथ्यांकहरुका आधारमा मतदाताहरुको जोड घटाउ शुरु भएको छ ।
मतदानस्थलअनुसारको विवरणमा बनेपा र पनौती नगरपालिका मतदाताको संख्याका आधारमा जिल्लाका सबैभन्दा ठूला स्थानीय तह देखिएका छन् । यी दुई नगरपालिकामा मात्रै जिल्लाका कुल मतदाताको झन्डै एक चौथाई मतदाता रहेका छन् । यद्यपि यो संख्यामा केहि घटबढ हुन सक्छ । अघिल्लो तथ्यांकमा मृत्यु भएकाहरुको नामावली हटाएको तग्थ्यांक सार्वजनिक भएको छ । जसमा ३ लाख २४ हजार मतदाता छन् । मतदाता अद्यावधिक कार्यक्रम, २०८३ अन्तर्गत तयार गरिएको मतदानस्थल अनुसारको तथ्याङ्कमा जिल्लाका ६ नगरपालिका र ७ गाउँपालिकाका मतदाता समेटिएका छन् । विवरणमा २०८३ भदौ १५ गतेसम्म सङ्कलित र सोही मितिमा १८ वर्ष पूरा गरेका मतदातालाई समावेश गरिएको उल्लेख छ । असोज मसान्तसम्मको तथ्यांकमा जिल्लाका केहि मतदाताको नामावली हटाईएको छ ।
बनेपा र पनौतीमा सबैभन्दा बढी मतदाता
पालिका तहमा बनेपा नगरपालिकामा सबैभन्दा बढी ४० हजार ९१५ मतदाता छन् । पनौती नगरपालिकामा ४० हजार ६७९ मतदाता रहेका छन् । बनेपा र पनौतीको मतदाता संख्या बीचको अन्तर २३६ मात्रै छ । जिल्लाको कुल मतदाता संख्यामा बनेपाको हिस्सा १२.४७ प्रतिशत र पनौतीको हिस्सा १२.४० प्रतिशत छ । दुवै नगरपालिका जोड्दा ८१ हजार ५९४ मतदाता पुग्छन्, जुन जिल्लाको कुल मतदाताको २४.८७ प्रतिशत हो । मतदाताको सख्ंयाका आधारमा पाँचखाल नगरपालिका ३२ हजार ५५२ सहित तेस्रो स्थानमा छ । मण्डनदेउपुर नगरपालिकामा ३० हजार ६३७, धुलिखेल नगरपालिकामा २८ हजार ९६ र नमोबुद्ध नगरपालिकामा २७ हजार ६७५ मतदाता छन् ।
गाउँपालिकातर्फ रोशीमा २४ हजार ५७३, तेमालमा २३ हजार १११ र चौरीदेउरालीमा २२ हजार ६४७ मतदाता छन् । भुम्लु गाउँपालिकामा १७ हजार ९७०, बेथानचोकमा १५ हजार ५५५, महाभारतमा १२ हजार ९०० र खानीखोलामा १० हजार ७३० मतदाता रहेका छन् । पालिका तहको मतदाता संख्या हेर्दा बनेपा र पनौती सबैभन्दा ठूलो मतदाता आधार भएका क्षेत्र हुन् भने खानीखोला सबैभन्दा कम मतदाता भएको स्थानीय तह देखिन्छ ।
पनौतीको वडा नम्वर एक जिल्लाकै पहिलो
वडागत विवरणमा पनौती नगरपालिका वडा नम्बर १ मा सबैभन्दा बढी ४ हजार ४५७ मतदाता छन् । जिल्लाका १३५ वडामध्ये यो सबैभन्दा ठूलो मतदाता सख्या हो । पनौतीकै वडा नम्बर ४ मा ४ हजार ११४ र वडा नम्बर ७ मा ४ हजार ८ मतदाता छन् । बनेपा नगरपालिका वडा नम्बर ८ मा ३ हजार ९२९, चौरीदेउराली वडा नम्बर ५ मा ३ हजार ९१४ र पाँचखाल वडा नम्बर १२ मा ३ हजार ८२५ मतदाता छन् । त्यस्तै, पनौती वडा नम्बर १० मा ३ हजार ८२३, बनेपा वडा नम्बर ५ मा ३ हजार ७८० र पनौती वडा नम्बर ५ मा ३ हजार ७६२ मतदाता छन् । नमोबुद्ध वडा नम्बर ५ मा ३ हजार ७२५ मतदाता रहेका छन् । मतदाताको संख्या पालिकाभित्र पनि समान रूपमा फैलिएको छैन । एउटै पालिकाका विभिन्न वडाबीच मतदाता संख्यामा उल्लेख्य अन्तर छ । महानगरपालिका बनाउने वा भएको वडा फुटाउने विषयमा बहस भए पनि टुङ्गोमा पुग्न सकेको छैन ।
सबैभन्दा कम मतदाता भएका वडा
वडागत आधारमा खानीखोला गाउँपालिका वडा नम्बर ४ मा सबैभन्दा कम १ हजार १३२ मतदाता छन् । भुम्लु गाउँपालिका वडा नम्बर ३ मा १ हजार १७५, खानीखोला वडा नम्बर ३ मा १ हजार १९६ र तेमाल वडा नम्बर ३ मा १ हजार २२१ मतदाता छन् । महाभारत गाउँपालिका वडा नम्बर ४ मा १ हजार २६६ र खानीखोला वडा नम्बर २ मा १ हजार २६५ मतदाता छन् । यी वडाको मतदाता संख्या जिल्लाका बढी मतदाता भएका वडाको तुलनामा निकै कम छ ।
जिल्लाका सबै १३५ वडामा मतदाताको औसत संख्या करिब २ हजार ४३० हुन्छ । तर यो औसतले वडागत भिन्नता लुकाउन सक्छ । पनौती वडा नम्बर १ मा मतदाता संख्या औसतभन्दा झण्डै दोब्बर छ भने खानीखोला वडा नम्बर ४ मा औसतको आधाभन्दा पनि कम मतदाता छन् ।
स्थानीय तहबीचको अन्तर
पालिका तहमा सबैभन्दा बढी मतदाता भएको बनेपा र सबैभन्दा कम मतदाता भएको खानीखोलाबीच ३० हजार १८५ मतदाताको अन्तर छ । बनेपामा खानीखोलाको तुलनामा करिब ३.८ गुणा बढी मतदाता छन् । नगरपालिकाहरूमा बनेपा र पनौतीको मतदाता संख्या लगभग बराबर छ । तर गाउँपालिकाहरूमा रोशी, तेमाल र चौरीदेउरालीको मतदाता सख्या खानीखोला र महाभारतको तुलनामा बढी देखिन्छ । वडागत विवरणले जिल्लाको मतदाता आधार केही ठूला नगरपालिका र तिनका बढी मतदाता भएका वडामा केन्द्रित रहेको देखाउँछ । तर निर्वाचनका बेला मतदाताको संख्या मात्रै निर्णायक हुँदैन । मतदाताको सहभागिता, मतदान प्रतिशत, उम्मेदवारको प्रभाव र स्थानीय राजनीतिक अवस्थाले पनि परिणाममा भूमिका खेल्छन् ।









