बेथान्चोक, गैह्भिन्ज्याङ/लक्ष्मी नारायण मन्दिर ब्यवस्थापन समितिको आयोजनामा मसिंर २३ देखि २९ गतेसम्म हुने भागवत सप्ताहका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको छ । पहिलो दिन मन्दिर क्षेत्रबाट क्षेत्रपाल महाँकाल हँुदै गेल्डुङ्ग बजारमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर, मुक्तेश्वर महादेव हुँदै बाह्रविसेबाट सोहि स्थानमा आएर समापन गरी सप्ताहको उद्घाटन गर्ने तयारी गरिएको छ ।
सप्ताहमा प्रमुख बाचक १००८ स्वामी चक्रपाणी आचार्य रहनेछन् । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पूर्णप्रसाद अधिकारीले २०७३ सालदेखि शुरु भएको नियमित भजन किर्तनका कारण सोहि क्षेत्रमा धार्मिक अनुष्ठानहरु संचालन भईरहेको बताए । ‘नियमित भजन किर्तनका कारण धार्मिक अनुष्ठानका विविध कार्यक्रम बर्षभरी नै गरिएको छ’–अध्यक्ष अधिकारीले भने–‘जसका कारण लक्ष्मी नारायण मन्दिर, गुरुकुल निर्माणका साथै धार्मिक बाटिका निर्माणको कार्य अघि बढेको छ ।’ सप्ताह आयोजना गरी मन्दिर निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद, गुरुकुल निर्माण र धार्मिक अनुष्ठान निर्माणमा थप सहयोग पुग्ने उनले बताए ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथान्चोक गाउँपालिकाको गौरवको आयोजना रहेको धार्मिक बाटिका नेपालकै नमुना पार्कको रुपमा विकास हुने बताए । ‘पछिल्लो समय नागरिकहरुमा धार्मिक सचेतना, अनुशासन तथा सामाजिक संस्कार र संस्कृति प्रतिको विश्वासलाई बढावा दिन धार्मिक बाटिका सहितको गुरुकुल निर्माण महत्वपूर्ण हुनेछ’–गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने–‘हाईड्रोलिक पोल रहेको मन्दिर सहितको बाटिका निर्माणले स्थानीय स्तरमा आयआर्जनको कार्य गराउनेछ ।’ धार्मिक पर्यटनका हिसावले समेत बेथान्चोक गाउँपालिकालाई अगाडी बढाउने उदेश्यले उक्त कार्यक्रम समपुरक कार्यक्रम अन्र्तगत समावेश गरिएको अध्यक्ष अधिकारीले बताए ।
सप्ताह ज्ञान महायज्ञको मुख्य संरक्षक गाउँपालिका अध्यक्ष भगवान अधिकारीलाई राखिएको छ । पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले बेथान्चोकका विभिन्न वडाहरुमा विकास निर्माणका फरक मोडल र प्राथमिकता गर्ने क्रममा वडा नम्वर ३ को गैह्भिन्ज्याङ्ग क्षेत्र धार्मिक पर्यटनका हिसावले अगाडी बढाउन बजेटमा प्राथमिकता राखिएको बताईन् । सडक, मन्दिर, गुरुकुल शिक्षा र धार्मिक बाटिका पार्कले सोहि क्षेत्रमा थप सहजता र आर्थिक रुपले पनि चलायमान गराउने उनले बताईन् ।
वडा अध्यक्ष कुवेर ढकालले १ सय १७ घर धुरी समेटिएर निरन्तर दशकौ देखि धार्मिक अनुष्ठानका कार्यक्रमहरु संचालन गरेर गाउँपालिकामा फरक पहिचान बनाउन सफल भएकोमा समितिलाई धन्यवाद दिए । पालिकाकै गौरवको आयोजनालाई वडाले समेत निरन्तर सहजिकरण गरेर उक्त क्षेत्रको विकासलाई प्रथामिकतामा राखिएको उनले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपानले सनातन धर्मको संरक्षण र गुरुकुल निर्माणमा समितिले गरेको सक्रियता सकारात्मक रहेको बताए । नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतिराम तिमल्सिनाले धार्मिक रुपले जिल्लाकै उच्च स्थानमा रहेको पालिका त्यहि हिसावले अघि बढ्नु पर्ने बताए । कार्यक्रममा जिल्लाका संचारकर्मीहरु, वडा नम्वर ४ का अध्यक्ष कृष्ण पाख्रिन, वडा नम्वर ३ का पुर्व अध्यक्ष दिलबहादुर श्रेष्ठ, समाजसेवी मछिन्द्र लामा, वडा सदस्यहरु, कृष्ण गोपाल माविका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिना, बैष्णव परिषद्का पदाधिकारीहरुको सहभागिता रहेको थियो । सप्ताह ज्ञान महायज्ञ आयोजक समितिका सचिव बेदप्रसाद तिमल्सिनाले सप्ताह अवधिभर हुने कार्यक्रम, धार्मिक बाटिका, गुरुकुल निर्माण र लक्ष्मी नारायण मन्दिरका विषयमा धारणा राखेका थिए । कार्यक्रम महायज्ञ आयोजक समितिका उपाध्यक्ष कुमार घिमिरेको अध्यक्षमा सम्पन्न भएको थियो । सप्ताह भब्य रुपमा सम्पन्न गर्न विभिन्न समिति, उप समिति र तयारीका लागि समितिहरु गठन गरि कृयाशील रहेको सोहि अवसरमा जानकारी गराईएको थियो ।
सप्ताह ज्ञान महायज्ञ मुल समारोह समितिको संरक्षक गाउँपालिका रहने गरी भागवत सप्ताह मुल आयोजक समिति गठन गरिएको थियो । समितिमा उपाध्यक्ष कुमार घिमिरे, सचिव बेदप्रसाद तिमल्सिना, कोषाध्यक्ष रघुनाथ दाहाल । मुल समारोह समितिमा आजिवन सदस्य सहित २ सय १ सदस्य रहेका छन् । विभिन्न उप समिति गठन गरिएको छ । स्व.भिमप्रसाद सापकोटाले परिकल्पनामा लक्ष्मी नारायणको मन्दिर निर्माण प्रारम्भ भएको थियो । क्रमशः अन्य पुर्वाधार निर्माणका लागि निरन्तर समुदाय सक्रिय छ । स्थानीय सरकार, प्रदेश र संघ सरकारको समेत प्रतिनिधित्वका लागि समुदायले हरेक एकादशीमा अखण्ड भजन किर्तन गरिरहेका छन् । २०७४ भाद्र १४ गते देखि शुरु भएको अखण्ड किर्तन जारी छ । आजिवन सदस्य बृद्धी गर्ने, भवन सहितको जग्गा र पुर्वाधार निर्माणमा लाग्ने, धार्मिक प्रशिक्षण संचालन गर्ने लगायतका योजना रहेको अध्यक्ष पूर्णप्रसाद अधिकारीले बताए । पूर्णप्रसाद अधिकारी, बैकुण्ठ अधिकारी र मुक्तिनाथ अधिकारीले हरेक एकादशीमा कथा बाचन गर्दै आएका छन् ।









